शनिबार, वैशाख ८, २०८१

झिल्टुङे जालीझेली र विद्रोह

कोल्पुखोला जति धमिलो छ, त्यो भन्दा धमिलो मन भएका सामन्तहरूको शासन थियो गाउँमा

नारायण नेपाल २०७८ असार १२ गते १०:४६
झिल्टुङ गाँउको चौतारीमा गफिँदैं स्थानीयहरु

काठमाडौं । आजको बसाईंमा जात र भातको राजनीतिले दबाउन लागेको र समाजबाट विस्थापित गरेर एकलौटी हैकम चलाउन खोज्ने झेलीहरूको विरुद्ध उठेको प्रतिरोधी चेतनाको विद्रोही गाथाहरूमाथिको विमर्शको प्रयास गर्दैछु ।

जात र भातको राजनीतिले गाउँनिकाला गर्दै बसाईं सर्न विवस पारेर धेरैका घरबास उजाड पारेको कथा हो यो । दिनदैनिकीका बाध्यतालाई शिरोपर गर्दै राजा लागेको ठाउँमा बस्नु तर गाउँ लागेको गाउँमा नबस्नु भन्ने सामाजिक भनाई आत्मसाथ गरेर गाउँ छोडेर जानेहरूको कथा व्यथा लेखिएको त छैन । जात जाने र भात काटिने राजनीतिले डामिएर थलिएको निमुखा गाउँलेहरूले यो लोकतन्त्रको चौतारीमा सुस्ताउँदै गुन्गुनाएका केही कथा भने हामीले जान्ने–सुन्ने अवसर पाएका छौं ।

समाजका अगुवाहरू थिए सामन्तहरू । उनीहरूको यो जातभातको राजनीति एक यस्तो अब्बल अस्त्र थियो कि, धर्म र अन्धविश्वासको आडमा राजनीतिक सत्ता कब्जा गर्न सामाजिक सत्ताको सहारा लिन्थे । गाउँका जान्ने सुन्नेहरूका विरुद्ध कोही कसैले ठुलो स्वरले बोल्यो, विद्रोह ग¥यो भने ‘तेरो जात गयो । अब तेरो भात पानी चल्दैन’ भन्दै सामाजिक बहिष्कार गर्ने चलन थियो ऊबेला । त्यो सामाजिक दण्डको शिकार हरकोही विद्रोही चेत र परिर्वतनकामी चेतनाको सम्वाहकहरू बन्न पुग्थे ।

कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनका सदस्य भएका थिए केही अल्लारे केटाहरू र तिनको परिवारलाई भातपानी, मेलापर्म बहिष्कार गरेर सामन्तहरूले दिएको हैरानी र सास्तीका कथाहरू धेरै छन् । यो कोल्पुखोला जति धमिलो छ, त्यो भन्दा धमिलो मन भएका सामन्तहरूको शासन थियो गाउँमा । त्यो शासनबाट उत्पीडन र हैरानी पाउनेहरूका सास्तीका कथाहरू कति होलान् जनजनका मनमनमा ? कोल्पुटार यो सानो टुक्रा हिरामोति फल्ने माटो । उही बाउका छोराहरू, उही भाइका खलक, उही वंश एकै पिता पुर्खाका साझा अंश, गाई भए गोरस, भाइ भाई भए भरोषा भन्छन् । तर भाइ-भाइका सन्तानले विचार राजनीतिको आस्थामाथि त्यो हदसम्मको अचाक्ली हैरानी र सामाजिक बहिष्कारको सास्ती दिएका थिए कि त्यसको लेखाजोखा समयले गर्न सकेन ।

नारायण नेपाल

गाउँमा विद्यालय थिएन । छोराछोरी पढाउन चाहनेहरूका लागि वागेश्वरी माध्यमिक विद्यालय थियो, बैरेनिबजार धादिङमा । कम्युनिस्ट राजनीतिबाट प्रभावित थिए त्यहाँका कहलिएका शिक्षकहरू । विद्यार्थीहरू अखिल पाचौँ विद्यार्थी संगठनमा स्कुलका विभिन्न कमिटीमा रहेर क्रियाशील थिए । जब स्कुले जीवन पछि साथिभाई छुट्टिनुपर्ने अवस्था आयो अनी स्कुले राजनीतिको मीठो सम्झनाको लागि केटाहरूले आफ्नै गाउँ कोल्पुटारमा बनभोज कार्यक्रम राखेका थिए ।

धादिङ र नुवाकोटका विभिन्न नेता तथा शुभचिन्तक र समर्थकहरूको उपस्थिति थियो त्यो बनभोजमा । त्यहाँ नुवाकोटबाट भरत ढुंगाना, भरत पुडासैनी, बिन्दा पाण्डे र अन्य नेताहरू पुगेका थिए । धादिङबाट भने त्यतिखेरको जुझारु र भर्खरै मात्र राजेन्द्र पाण्डेसहित जेलजीवन व्यतित गरेका बोलक्कड र निडर विद्यार्थी नेता रामकृष्ण न्यौपानेले कार्यक्रम चलाएका थिए । गाउँलेको पनि राम्रो उपस्थिति थियो । झ्याला डि ९बगैँचा०मा २०४७ साल असार महिनामा यस्तो कम्युनिष्ट बनभोजको आयोजकहरू थिए, केशव नेपाल (बरु), अनन्तराम नेपाल हाल बेलकोटगढी नगरपालिका ५ का वडा अध्यक्ष नेकपा एमाले नुवाकोट सचिवालय सदस्य सुदर्शन नेपाल, दिवंगत एमाले जिल्ला सदस्य उद्धव नेपाल र माधव नेपाल । यो बनभतेरको रमझम र मेला पँधेरोमा चर्चा सकिन नपाउँदै सुरु भयो जातभातको राजनीति ।

आफ्नै गाउँमा भएको कार्यक्रममा अरुले छोएको खाए भनेर प्रहार होला भन्ने सामान्य आँकलन भने गरेका थिए आयोजकले । त्यो बेलाको सम्झना गर्दै केशव नेपाल भन्नुहुन्छ, ‘हामी ५ भाइले राती करिब ३ बजे उठेर कोल्पुखोलामा गएर आफैंले भात र तरकारी पकाएर राखेका थियौँ । बिहान आएका सबै आमन्त्रितलाई आफैंले खुवाएको हो । बेलुका कार्यक्रम सकिएपछि हामी भाँडा माझ्दै थियौं । त्यतिबेला अनन्तराम नेपालको ठुलो बुवा जो स्वयंपाक्य ९अविवाहित० हुनुहुन्थ्यो । उहाँलाई छिमेकी अर्जुन कुमार नेपाल (जो काँग्रेसी नेता थिए) ले, ‘ल तिम्रो भतिजोले डुम्रेचौरको सार्किले पकाएको भात खाए । अब तिम्रो जात र धर्म गयो भनेछन् । त्यसपछि उनी म बाँच्नु बेकार भन्दै रुँदै बौलाहाजस्तो बनेर मर्न भनेर घरबाट हिँडेछन् । त्यो थाहा पाएर तल डिलमा पुगेपछि बल्लतल्ल फिर्ता ल्याएका थियौं । उनी अझै घर जान्न भन्दै थिए । कुराको सुरु यहीँबाट भयो । त्यसपछि अर्जुनकुमार नेपालले यी जात गएका बाहुनकोमा काम गर्न आए सबैलाई भात काटिन्छ भनेर ‘ह्वीप’ चलाएका थिए ।’

उनको त्यो ह्वीपले गाउँमा पुरा विभाजन र भाँडभैलो भयो । गाउँघरमा चलेको यो विग्रहले आफन्त र नातागोतासम्म असर पार्न थाल्यो । स्थानीय राजनीतिमा जात र भातको मेलो थपिएको हो भन्ने निधो गरेका आफन्तहरू आए र जात जानेका घरमा खाए, गए । तर समाजमा जात फर्काउने वातावरण बनेन् । हुँदा हुँदा जात गएका माइत आएर खाने चेलीहरूको समेत घरबारमा खटपट आउन थाल्यो ।

केशवलाई सम्झना ताजै छ, ‘हाम्रो सानीमाको भान्जा नारायण रिमाल थिए, उनिहरू पनि राजनीतिक रुपमा काँग्रेस नै । मामाघरमा जात गएको माइतीले पकाएको भात खाएको भनेर भान्जा पनि तिथि श्राद्धमा नगएको हो कि जस्तो लाग्छ’ उहाँ भन्दै हुनुहुन्थ्यो । त्यतीमात्रै कहाँ हो र ? माइतीहरू आएर सबैको घरमा खाना खाए । जात गएका-नगएका सबैकोमा खाए र अब बराबरी भयो । गए सबैको गयो, जात आए सबैको आयो भने । तर त्यो साल पनि उनीहरूको जात आएन, भारोपर्म चलेन ।

झिल्टुङ गाँउ

गाउँमा चलेको यो भात र जातको महाभारतमा राजनैतिक मुद्धाको रूपमा नुवाकोट पार्टीबाट सहयोग माग्न र पाउन सकेनन् उनीहरूले । यो क्षेत्रमा प्रचार र प्रभावको हिसाबले धादिङतिर नै अलि बढी भयो । त्यतिखेर राजेन्द्रप्रसाद पाण्डेले सान्त्वना दिँदै भनेका थिए, ‘केन्द्रका काँग्रेससँग कुरा गर्दै थिएँ म । यसपाली काम चलेछ । फेरि समस्या आयो भने भन्नू, म माथि कुरा उठाउँछु ।

भात काटिएपछि, जात गएपछि त्यही माटो, त्यही आटो, बाटोमा उही लहरा र पहरामा पौठेजोरी खेल्न पर्ने । कि त मुग्लान भासिनु पर्ने अवस्था थियो तर उनीहरूले यही माटोमा उभिने साहस गरे । त्यो साहसमा मलजल, उत्साह आँट भरोषा दिने प्रत्यक्ष सहयोगी मनहरी नेपाल र शिवप्रसाद नेपाल थिए । सानो निहुँबाट सुरु भएको त्यो बहिष्कार त्यसपछि यति धेरै समय चल्यो कि हरेक साल खेतिपाती चलाउन गाउँबाट कोही “मगर मतुवाली” र अन्य आफन्त, छिमेकीको आवत–जावत पुर्णरूपमा बन्द गरेका थिए ।

केशव नेपाल (बरु)को घरमा हरेक साल महादेव फाँट, राई गाउँबाट काम गर्न आउने गरेका राईहरू पनि आउन छोडे । सामाजिक बहिष्कारका कारण सबैको परिवार उस्तै चिन्तित थिए । खेती गरिदिन बाहिरी काम गर्ने मान्छेको सहयोग नभए त्यो सालको खेती नचल्ने अवस्था सिर्जना भयो । तत्कालीन जनपक्षीय प्रधानपञ्चका उम्मेद्वार थिए धादिङ खाल्टे निवासी गोविन्द प्रसाद रिजाल । उनी कम्युनिस्ट विचारमा आस्था राख्छन् भन्ने केशवलाई थाहा थियो । केशवको मनमा अब आशाको त्यान्द्रो पलायो । उनले सम्झे उनै ठुलो भिनाजुलाई र हारगुहार गर्न पुगे दिदीको घर खाल्टेतिर ।

उनको कुरा सुनेपछि भोलिपल्टै भिनाजुले उनलाई धादिङकै खाल्टे गाविसको डाडागाउँतिर लगे र त्यहाँका तत्कालीन एमालेका सर्मथक कार्यकर्ताहरूसँग यो कथा सुनाएर सहयोग गर्ने वातावरणको सिर्जना गरिदिए । त्यस्को भोलिपल्ट त्यहाँबाट जनजाती, बाहुनलगायत सबै साथिहरूको नेतृत्व गर्दै उनै विद्यार्थी नेता रामकृष्ण न्यौपाने, बलराम ढुंगाना सहित करिब ३० जनाको समूह लाभालस्करसहित कोल्पुटारतिर लाग्यो । अनि बल्ल तोडियो भात पानी बहिष्कार गर्नेको दम्भ । केही कृषि औजारसमेत हातमा बोकेर आएका साथीहरूले असारे धान काट्ने काम गरे । कहिले दुई तीन भाग गरेर त कहिले एउटैकोमा । सबै साथिहरूबाट खेतालाको भूमिका निर्वाह भयो, खेती चल्यो ।

खेतालाहरूलाई खानको लागि त्यही असारे धान घाम लागेको दिन भए सुकाउने, नभए त्यतिकै दिनमा ४ जना जतिले कुटानी गर्ने र बेलुकीको खाना तयार गर्ने । अलौटो धानको भात, बिहान पनि भातै, खाजा पनि भात र दिउँसो फेरि भात । काम सकेपछि बेलुकी मादलुको तालमा कहिले जनवादी गीत त कहिले रमाइला लोकगीतहरू गाउने नाच्ने गर्दै थकाई बिर्साउने गर्थे साथिहरू । यसरी फाँटभरी जात गएका बाहुनहरूको खेतमा खेति लगाएपछि मात्रै डाडाँगाउँले पल्टन बिदाई भएको थियो । छोराहरू कम्युनिष्ट बन्दा यस्तो सास्ती हैरानी भोगेका बाहरू आज थला परेका छन् । कोल्पुको धमिलो पानी त्रिशूलीले पचाएर सङ्ग्लो पारिसक्यो तर बा आमाहरूको मन अतित सम्झेर उस्तै अमिलो हुन्छ । त्यसपछि कोल्पु र त्रिशूलीमा कति पानी बग्यो होला त्यो त यो गाउँले नापेको छैन तर हरबार आउने चुनाव र फेरिएका व्यवस्थाको नाम चाहिँ नापेका छन् ।

आज पनि त्यो कोल्पु उस्तै धमिलो छ । समयले विगतमा त्यस्तै विद्रोही विचारधारी कम्युनिष्ट भन्नेहरूलाई सत्तामा विराजमान गराएको छ । त्यो कोल्पुटारको समि चौतारीको शितलतामा सुस्ताउँदै नियाल्ने हो भने यो टारभित्र अजिबको चित्र देखिन्छ । जसरी धमिलो कोल्पु कञ्चन त्रिशूलीमा मिसिएर पछि रूप बदल्छ त्यसैगरी यो राजनीतिमा भने हिजोका कोही बहिष्कृत विचार बोक्ने र बहिष्कार गर्नेको मिलनपछि बदलिएको रुप देखिन्छ । उस्तै अवैध सत्ता संयन्त्र, जंगल, खोला, बालुवा यावत् यावत् लुटतन्त्रमा दलविहिन, राजनीतिबिहिन हिजोको विचारले रोपेको जातभात बहिष्कारको विउ र आज पुँजिवादले फलाएको नाफाको लागि भएको एकता देख्दा बडो अजिवको संस्कार विकास भएछ भन्ने लाग्छ ।

हिजो भतिजो कम्युनिष्ट हुँदा जात गयो भनेर त्रिशूलीमा हाम फालेर मर्न हिँडेका अनन्तराम नेपालका ठुलोबाले सोचे होलान् पक्कै आज यो दिन र यस्ता चर्तिकला देखाउन मर्न हिँडेको मलाई केटाहरूले फर्काएर ल्याएका रहेछन्, बचाएका रहेछन् ।

२०७८ वैशाख २१

प्रतिक्रिया