असार मसान्तभित्र इजाजत नवीकरण गर्न वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारका क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई इजाजत नवीकरण गर्न सूचना जारी गरेको छ ।
विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था र सीपमूलक तालिम प्रदायक संस्थालाई नवीकरणका लागि आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको हो ।
विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार व्यवसायी र अभिमुखीकरण तालिम प्रदायक संस्थालाई असार मसान्तभित्र र तालिम प्रदायक संस्थालाई १५ असारभित्र इजाजत नवीकरणका लागि आग्रह गरिएको छ ।
सूचनामा म्यानपावर व्यवसायीलाई प्रत्येक वर्ष कम्तिमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित कागजात लिएर नवीकरणका लागि उपस्थित हुन भनिएको छ । नवीकरणका लागि संस्थाको निवेदनसहित अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाणसमेत पेस गर्नु पर्नेछ ।
विभागबाट प्राप्त इजाजत पत्रको प्रतिलिपि, नगद धरौटी र बैंक ग्यारेन्टीको प्रतिलिपिसहित म्यानपावरहरुले उपस्थित हुन विभागले आग्रह गरेको छ ।
वैदेशिक रोजगार नियमावली पाँचौं संशोधन २०६४ मा पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तिमा १ सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत स्वतः खारेज हुने व्यवस्था रहेको छ ।
तर, कोरोना महामारीका कारण तोकिएको संख्यामा कामदार पठाउन नसकेको म्यानपावर व्यवसायीहरूले बताउँदै आएका छन् । यस्तो अवस्थामा १ सय जना कामदार पठाउन सक्ने अवस्था नरहेकाले यसमा सहजीकरण गर्नका लागि व्यवसायीले पहल गरिरहेका छन् ।
कोरोनाका कारण वैदेशिक रोजगारीमा कामदार पठाउन नपाएकाले १सय जनाको मापदण्ड खुकुलो बनाउनु पर्ने व्यवसायीले माग गर्दै आएका छन् ।
अघिल्लो वर्ष कोरोनाका कारण तोकिएको संख्यामा श्रमिक पठाउन नसक्दा अधिकांश म्यानपावर खारेजीको जोखिममा परेका थिए । तर, महामारीको कारण देखाउँदै सरकारले तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने म्यानपावरलाई छुट दिएको थियो । अहिले पनि अवस्था गत वर्षजस्तै रहेकाले छुट दिनु पर्ने व्यवसायीको भनाइ छ ।
अभिमुखीकरण तालिम प्रदायक संस्थालाई पनि विभागले संस्थाको निवेदन, कम्पनी दर्ता गर्दाको प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षको प्रमाणित आय विवरण, संस्थाको भौतिक वित्तीय विवरणलगायत कागजातसहित संस्था नवीकरणका लागि आउन आग्रह गरेको छ ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया