शुक्रबार, चैत १६, २०८०

उद्यमी बन्न गाउँपालिकाको सहयोग

मेरोन्यूज २०७८ असार १२ गते ७:०४

ताप्लेजुङ । कोरोनाका कारण वैदेशिक रोजगारीबाट घर फर्किएका सिरीजंघा गाउँपालिका–८ याम्फुदिनका सुकु भोटे भेडापालन व्यवसायका लागि तयारी गरिरहेका छन् । करिब ३५ महिना दुबइमा बसेर गत वर्ष घर फर्किएका भोटेलाई पुनः विदेश जाने रहर छैन ।

विदेशी भुमिमा पसिना बगाउनु भन्दा आफ्नै पाखा बारीमा परिश्रम गरे फाइदा हुने भन्दै भेडापालनको तयारीमा लागेको उनले बताए ।

“कोभिडका कारण अवधि नसकिदै घर फर्किनु पर्‍यो, फेरी विदेश गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँघरमा केही गरौं भनेर व्यावसायिक रुपमा भेडा पाल्ने तयारीमा जुटेको छु”, उनले भने । सुकुलाई भेडापालनका लागि गाउँपालिकाले दिएको अनुदानले धेरै सहयोग पुगेको छ ।

भेडापालनलाई गाउँपालिकाले २ लाख ५० हजार अनुदान दिएको छ । गाउँमै रोजगार, गर्वको आधार कार्यक्रम तर्जुमा गरी गाउँपालिकाले यहाँका ८ वटै वडामा बजेट विनियोजन गरी सञ्चालन गरेको उक्त कार्यक्रमबाट सुकुले अनुदान लिएका हुन् ।

यो कार्यक्रम चालु आर्थिक वर्षबाट शुरु भएको हो । अनुदान लिएसँगै भेडापालन व्यवसायका लागि तयारीमा जुटेको उनले बताए ।

Advertisement

तयारी स्वरुप अहिले ३५ वटा भेडा जम्मा गरी सकिएको उनको भनाइ छ । विदेशमा बसेर कमाइ गर्ने सोच हुँदा हुँदै कोभिडका कारण चाँडै घर फर्किएका भोटेलाई केही समय के गर्ने, कस्तो व्यवसाय चलाउने भन्ने विषयले निक्कै चिन्ता थियो ।

के काम गर्ने, कसरी घर खर्च जुटाउने जस्ता कुराले पिरलोमा परेका सुकुलाई व्यवसाय सञ्चालनका लागि गाउँपालिकाले दिएको अनुदानले भेडापालक तथा व्यवसायी बन्ने बाटो खुलाएको छ ।

गाउँपालिकाले उद्यमशिलताको माध्ययमबाट रोजगारी सिर्जना गर्ने ध्येयले गाउँमै रोजगार, गर्वको आधार भन्ने नारासहित कार्यक्रम सञ्चालन गरेको थियो । यस कार्यक्रमबाट ८ वटै वडाका सर्वसाधरण लाभान्वित भएका छन् । हरेक वडामा ५ लाख रुपैँयाका दरले बजेट विनियोजन भएको थियो ।

कूल लागतको ५० प्रतिशत भने उद्योगी तथा व्यवसायीले नै बेहोर्ने गरी समूहमार्फत अनुदान प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

घिमिरेका अनुसार गाउँपालिकाका विभिन्न क्षेत्रमा माछापालन, फर्निचर उद्योग, मुढा उत्पादन गर्ने, बङ्गुरपालन, बाख्रापालन, कालिजपालन जस्ता उद्योग व्यवसाय सञ्चालन भएका छन् ।

यस कार्यक्रमले गाउँका बेरोजगार युवालाई राहत पुगेको छ । यस्तै पुर्खौदेखि विभिन्न पेशा व्यवसाय सम्हाल्दै आएका सर्वसाधरणलाई समेत व्यवसाय प्रर्वद्धनमा सहयोग पुगेको छ ।

प्रतिक्रिया