मंगलबार, साउन १२, २०७८

व्यक्तिगत घटना दर्ताबारे जान्नै पर्ने कुराहरू

मेरोन्यूज २०७८ असार ११ गते १८:४०

काठमाडौँ । कुनै व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जीकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाण पत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ताका रुपमा मानिन्छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ लाई वि.सं २०३४ वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि नेपालमा व्यक्तिगत घटना दर्ताको प्रारम्भ भएकोे हो ।

Advertisement

व्यक्तिगत घटना दर्ताअन्तर्गत जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईँ सराईँको घटना दर्ता गर्ने गरिन्छ । राज्यको प्रशासनिक अभिलेखको रुपमा कानुन बमोजिम दर्ता गरिने व्यक्तिगत घटनाको स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म महत्व रहको पाइन्छ । व्यक्तिगत घटना दर्ता प्रणालीबाट राज्यले प्रशासनिक अभिलेख र जनसांख्यिक तथ्यांकका लागि आधार स्तम्भका रुपमा लिइन्छ ।

जनसांख्यिकी तथ्यांकको महत्वपूर्ण श्रोतको रुपमा रहेको यो प्रणालीले व्यक्तिगत र राज्य स्तर दुवैमा यसको बृहत महत्व रहेको पाइन्छ । जसले व्यक्तिगत घटनाहरुलाई अमर राख्ने गर्दछ फलः स्वरुप राष्ट्रिय स्तरमा नै यसको प्रभाव झल्किन्छ र सरकारी काम कारबाहीमा सहजीकरण हुने गरेको जानकारहरु बताउँछन् ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेत व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाण पत्र अत्यावश्यक रहेको बताउँछन् । विभागका अनुसार सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको गाउँ विकास समिति वा नगरपालिकामा गएर घटना दर्ता गराउन सकिन्छ ।

विभागले व्यक्तिगत घटना संकलनको वडा सचिव र वडा सचिव नभएको अवस्थामा पञ्जिकाधिकारी (रजिस्ट्रार)को सहमतिमा नगरपालिकाको सचिवले तोकेको स्थानीय निकायको कर्मचारीलाई निर्देशन दिएको छ । जसलाई पञ्जिकाधीकारी पनि भनिन्छ ।

Advertisement

व्यक्तिगत घटनाका लागि सूचक व्यक्तिका आधारहरू के के हुन सक्छ ?

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटनाका लागि कसरी योग्य व्यक्ति हुने वा कस्ता सूचकका आधारमा घटना दर्ता गरिन्छ भनेर छुट्याएको छ । विभागका अनुसार जन्मदर्ताको हकमा बुवा–आमा, बाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उपस्थितिमा जन्मदर्ता गर्न सकिन्छ ।

उमेर पुगेको व्यक्ति, धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानुन बमोजिम पारित लिखतसमेत राखी धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु वा आमाले जन्मदर्ता गर्न पाउने छ । बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित वडाको वडा सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृतले जन्मदर्ता गर्न पाउने व्यवस्था रहेको छ ।

त्यस्तै, मृत्युको हकमा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्तिले मृत्यु दर्ता गर्न पाउने छ । आमा बाबुको मृत्यु भएको सूचना दिने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा विवाहित छोरीले समेत मृत्युदर्ता गर्न पाउने व्यवस्था रहेको छ । विवाहित दिदी बहिनीको मृत्युका सम्बन्धमा वंशजतर्फ कोही पनि नभएको प्रमाणित भएको खण्डमा माइतीतर्फका दाजुभाइ पनि मृत्युदर्ता गर्न मिल्ने विभागले जनाएको छ ।

बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित वडाको वडा सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृतले मृत्युदर्ता गर्न पाउने व्यवस्था रहेको छ ।

यसैगरी विवाह दर्ताको हकमा पति र पत्नी दुवैको उपस्थितिमा विवाह दर्ता गराउन सकिने छ । वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न पति वा पत्नी एक्लै (सर्जमिन मुचुल्कासहित) विवाह दर्ता गर्न पाउने छ । पतिले विवाह दर्ता गर्न इन्कार गरेको अवस्थामा नाता कायम प्रमाणपत्र वा सम्मानित अदालतको फैसलाको प्रमाण पत्रको आधारमा पत्नी एक्लैले पनि विवाह दर्ता गर्न पाउने व्यवस्था विभागले ल्याएको छ ।

विभागले सम्बन्ध विच्छेदका लागि पति वा पत्नीमध्ये कुनै एक अदालतले सम्बन्ध विच्छेदको फैसला गरेको कागजातसहित दर्ता गर्न पाउने छ । दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको हकमा राजदुतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा पति वा पत्नीले सम्बन्ध विच्छेदको दर्ता गर्न पाउने व्यवस्था रहेको विभागले पुष्टि गरेको छ ।

त्यस्तै, बसाईँ सराईँको हकमा परिवार सबैले गर्ने भए परिवारको मुख्य व्यक्तिले दर्ता गराउनु पर्ने हुन्छ । यसैगरी व्यक्ति एक्लै बसाईँ सराईँ गर्ने भए व्यक्ति स्वयमले दर्ता गराउनु पर्ने व्यवस्था रहेको छ ।

कारागारमा जन्मेका वा रहेकाले जन्मदर्ता गर्न मिल्छ ?

विभागले बाबुको ठेगान नभएको खण्डमा समेत जन्मदर्ता गर्ने व्यवस्था मिलाएको छ । बच्चाको जन्मदर्ता गर्न सुचना फाराममा रहेको बाबुको विवरणको महलमा ठेगान नभएको व्यहोरा लेखेर आमा सुचक बनी जन्मको घटना दर्ता गर्न सकिन्छ व्यवस्था मिलाएको हो । योसँगै विभागले विदेशी नागरिकहरूले नेपालमा जन्माएका बच्चाहरूको जन्मदर्ता गर्न सकिने व्यवस्थासमेत ल्याएको छ ।

नेपाली आमाले विदेशमा जन्माएको बच्चाको बाबुको पत्ता नलागेको खण्डमा नेपाली राजदूता वास वा महावाणिज्य दूतावासले उपलब्ध गराएको ट्राभल डेब्लोमेन्टमा जन्म स्थान, देश र जन्म मिति उल्लेख गरेर पनि जन्मदर्ता गर्न सकिन्छ ।

कारागारमा जन्मेका वा कारागारमा रहेका बालबालिकाको कारागारमा रहेको व्यहोरा प्रमाणित गरेर मात्रै जन्म दर्ता गर्न मिल्ने व्यवस्था विभागले ल्याएको छ ।

विदेशी नागरिकको हकमा के छ व्यवस्था ?

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको विभागका अनुसार विदेशीले मृत्युदर्ता गर्न पाउने छ । मृत्यु भएको अस्पताल वा प्रहरी प्रतिवेदन र सम्बन्धित देशको राजदूता वासको सिफारिस वा कुनै कार्यालय वा योजनामा कार्यरत रहेको भए प्रमुखको रितपूर्वकको पत्रका आधारमा मृत्युदर्ता गर्न सकिने विभागले जनाएको छ ।

त्यस्तै विदेशी नागरिक र नेपाली नागरिकबीच भएको विवाह मुलुकी देवानी (संहिता) ऐन, २०७४ बमोजिम प्रदत्त विवाहको प्रमाण देखिने कागजातको आधारमा विवाह दर्ता गर्न सकिने विभागले जनाएको छ । यद्यपि, विदेशी पत्नीको हकमा भने विदेशी पासपोर्ट नम्बर उल्लेख गर्नु पर्दछ ।

नेपाली र छिमेकी राष्ट्र भारतीय नागरिकबीचको विवाह दर्ता गर्न मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार गर्नु पर्दछ । विवाह दर्ता प्रमाण पत्रमा पत्नीको नागरिकता नम्बरको महलमा भारतीय पासपोर्ट नम्बर वा भारतीय नागरिक जनिने विवरण उल्लेख गर्नु पर्दछ ।

सम्बन्ध विच्छेदको हकमा दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको हकमा नेपाली राजदूता वास र महावाणिज्य दूतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा दर्ता गर्न मिल्ने विभागले जनाएको छ । सम्बन्ध विच्छेदको घटना दर्ता पतिको स्थायी ठेगानामा गर्नु पर्दछ ।

व्यक्तिगत घटना दर्तामा नागरिकता अनिवार्य

कुनै घटना दर्ताको प्रमाण पत्रमा नागरिकता नं.उल्लेख गर्नु पर्ने हुँदा नागरिकता अनिवार्य रहेको विभागले जनाएको छ । विभागका अनुसार जन्म दर्ताको हकमा बाबु र आमाको नागरिकता, मृत्यु दर्ताको हकमा मृतकको वा मृतकको नागरिकता नभएको खण्डमा आमा, बुबाको नागरिकता, विवाह दर्ताको हकमा पति र पत्नीको नागरिकता, सम्बन्ध विच्छेद दर्ताको हकमा दर्ता माग गर्ने पति वा पत्नीको र बसाईँ सराईँमा सर्ने सुचक नागरिकता अनिवार्य छ ।

व्यक्तिगत घटना दर्ता नेपालमा बसोबास गर्ने विदेशीका लागि पनि भएकाले नागरिकताको सट्टा विदेशी नागरिकको पासपोर्ट नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया