बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओलीले भने : राष्ट्रपतिभन्दा राजै राम्रो भन्ने अवस्थामा भुतपूर्वहरु पुगे (भिडियाे)

मेरोन्यूज २०७८ असार ११ गते १८:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति र सर्वोच्च अदालतको आदेशबीचको तालमेललाई शंका व्यक्त गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा बोल्दै आफूले विस्तार गरेको मन्त्रीपरिषदलाई बदर गर्ने सर्वोच्च अदालतको आदेशमा उनले शंका गरेका थिए ।

उनले भने, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो गजबै छ । धादिङमा अघिल्लै दिन भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ? एउटा चर्चा छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ । नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

ओलीले आफ्नो सहीपना र सर्वश्रेष्ठता आफ्नै कामले प्रमाणित गर्नुपर्ने बताए । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिभन्दा राजै राम्रो भन्नेसम्म भुतपूर्वहरु पुगेको बताए ।

बिहीबार विपक्षी गठबन्धनले सम्पादकहरुसँग गरेको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको संरक्षक अभिभावक मानेको राष्ट्रपतिले समेत आफ्नो गरिमा राख्न नसकेको भनेका थिए ।

ओलीले भने, ‘विपक्षी गठबन्धनको सम्बन्धमा मलाई धेरै केही भन्नु छैन । आ–आफ्नो कल्चरल लेभलको कुरा होला, गणतन्त्रप्रति वैरभाव पनि होला ।’ विपक्षी गठबन्धनले असभ्य समाज बनाउन चाहेको उनले बताए ।

प्रतिक्रिया