शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसको प्रश्न : जातीय विभेदमा मन्त्रीको भूमिका व्यक्तिगत कि स्वेच्छाचारिता ?

मेरोन्यूज २०७८ असार ११ गते १७:१३

काठमाडौँ । नेपाली कांग्रेसले जातीय विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी घरधनीलाई छुटाउन शिक्षामन्त्री सहभागी भएको घटनाले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जाएको बताएको छ । आज विज्ञप्ति जारी गर्दै कांग्रेसले रुपा सुनार र सरस्वती प्रधानबीचको जातीय विभेद प्रकरणमा सरकारकै मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिन खोज्नु कानूनी र नैतिक कोणबाट प्रश्न उब्जिएको बताएको हो ।

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं, तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन । नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन । यस्तो परिस्थितिमा देश बन्ने/बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नविन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ । हालैको एक घटनामा तपाईंको मन्त्रिमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ ।’


शर्माले प्रधानमन्त्रीलाई सोधेका चार प्रश्न

१) घटनाको अनुसन्धान, कारबाही र समाधानको एउटा निश्चित विधि हुन्छ । राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू ?

२) निश्चित घटना उजागर भएपछि त्यसको पक्ष–विपक्षमा नागरिक तहबाट धारणा व्यक्त हुंदै गर्दा बहसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न, न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवं द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले बिशेष सतर्कता र गम्भीरता राख्नुपर्दछ । त्यो जिम्मेवार भूमिकाबाट के राज्यलाई विमुख गराउन लागिएको हो प्रधानमन्त्रीज्यू ?

३) द्वन्द्व निरुपण होइन भड्काउलाई बल पुर्याउने मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छाचारिता कि राज्यकै प्रतिनिधित्व रु मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम ?

४) राज्यको भूमिका जिम्मेवारपूर्ण बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरू र आज संविधानमा लेखिएका न्यायका अक्षरहरूको मुल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ?

शर्माले भने, ‘रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन, प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो । हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।’

प्रतिक्रिया