शनिबार, वैशाख ८, २०८१

कर्णालीमा प्रदेशसभा बैठक सुरु नहुँदै एमालेको अवरोध

मेरोन्यूज २०७८ असार ११ गते १६:३४

काठमाडौँ । कर्णाली प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि प्रदेश सरकारले ल्याएको बजेटबारे छलफल गर्न बसेको बैठक एमालेले अवरुद्ध गरेको छ । गत असार १ गते प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेश सरकारको बजेट पेश गरेका थिए ।

बजेट पेश भएको १० दिनमा बजेटमाथि छलफल गर्नु पर्ने भए पनि सत्ता र प्रतिपक्षीबीच हुँदै आएको विवादका कारण हुन सकेको थिएन । बजेट सार्वजनिक गरी भोलिपल्ट बस्ने भनिए पनि स्थगित भएसँगै १० दिन बितेको हो ।

सरकारले रातो किताब ल्याएपछि पुनः आज बस्ने भनिएको बैठक सुरु हुनुअघि नै एमाले अवरुद्ध गरेको हो । सभामुख राजबहादुर शाहीले बैठक सुरु भएको जानकारी दिएसँगै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई हटाउन माग गरेका थिए ।

बजेटमाथिको छलफलमा सांसदहरूलाई बस्न सभामुख शाहीले आग्रह गरेका थिए । तर, एमालेका सांसदहरू बस्न नमानेपछि सभामुखले आगामी १३ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया