मंगलबार, वैशाख ४, २०८१

कर छुट गर्न व्यवसायीको माग

मेरोन्यूज २०७८ असार ११ गते १५:४५

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ । संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८/७९ को बजेटमा भएका व्यवस्था र कर छुटका विषयमा छलफल गरिएको थियो ।

उक्त अवसरमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर विकसँग राजश्वका विविध विषयमा छलफल गर्दै राजश्व छुटको माग गरेको कार्यक्रम आयोजक भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताए । कार्यक्रममा कोरोना भाइरसले भएको लकडाउनका कारण व्यापार गर्न नपाउँदा व्यापारी निकै नोक्सानमा परेको भन्दै कर छुटको माग गरेको बताइएको छ ।

चेम्बरका सल्लाहकार रोशन भोयद्योले व्यवसायीका प्रतिनिधिमूलक संस्थाले व्यवसायीलाई निरन्तर सुसूचित गर्दै सशक्तिकरण गरिरहनुपर्ने बताए । घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा तथा सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतीले महिला उद्यमीलगायत घरेलु उद्योगका लागि सरकारले दिनुपर्ने सुविधा पर्याप्त नभएको बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत राजकुमार पोखरेलले विषयवस्तुमाथि प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमका संयोजक अष्टबज्र बज्राचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पापेका थिए । रासस

प्रतिक्रिया