शनिबार, वैशाख ८, २०८१

क्युभिसीको ढिलाइले कामदार पठाउन समस्या

मेरोन्यूज २०७८ असार ११ गते १४:३७

काठमाडौं । कतार भिसा सेन्टर (क्युभिसी) को ढिलाइले गर्दा कामदार पठाउन समस्या भएको बताइएको छ । पछिल्लो समय कतारका लागि नियमित उडान खुले पनि सेन्टरले स्वास्थ्य परीक्षणको रिपोर्ट दिन ढिलाइ गरेका कारण कामदार पठाउन समस्या भएको हो ।

नेपाल सरकारले नियमति उडान गरेको भए पनि सेन्टरले स्वास्थ्य परीक्षण तथा टिकटको समस्याका कारण कामदार पठाउन समस्या भएको वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका संयोजक रामप्रसाद भान्तनाले बताएका छन् ।

कतार भिसा सेन्टरबाट स्वास्थ्य परीक्षणको रिपोट आउनका लागि नै २–३ महिना नै लाग्ने गरेको उनको भनाइ छ । समयमा काम नहुँदा र टिकट महँगो तथा उपलब्ध हुन नसक्दा कामदार पठाउन नसकिएको संयोजक भान्तनाले जानकारी दिए ।

समयमा स्वास्थ्य परीक्षण र टिकटको सहज रुपमा उपलब्ध भएमा व्यवसाय चलायमान हुने उनले बताए । कतार भिसा केन्द्रलाई बारम्बार ताकेता गरेर छिटोभन्दा छिटो स्वास्थ्य परीक्षणको रिपोर्ट दिन आग्रह गरिएको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका महासचिव भवानी निरौलाले जानकारी दिएका छन् ।

उनका अनुसार छिटो काम गर्नका लागि आग्रह गरिएको छ । अहिले पनि कतार भिसा सेन्टरमा स्वास्थ्य परीक्षणका लागि समय लिनेको संख्या करिब ८ हजार रहेको बताइएको छ ।

भिसा सेन्टरको समय पाउन कै लागि महिना दिनभन्दा बढीसम्म कुर्नुपर्ने बाध्यता रहेको व्यवसायीहरूले गुनासो गरेका छन् । भिसा आएपछि सेन्टरको अपोइन्टमेन्ट लिनकै लागिसमेत लामो समय कुर्नुपर्दा कतिपयको भिसाको अवधि नै सकिने अवस्था आउने गरेको पनि बताइएको छ । जसले कतार भिसा सेन्टर बढी नै झन्झटिलो भएको व्यवसायीले गुनासो गरेका छन् ।

कतार भिसा सेन्टरमा समस्यानै समस्या रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिएका छन् ।

दैनिक ३ सय जनाको कोटा निर्धारण तथा समय धेरै लाग्ने भएकाले कतारबाट माग भएर आएको कामदारको कोटा कटौती हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया