शुक्रबार, वैशाख १४, २०८१

तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट

मेरोन्यूज २०७८ असार ११ गते ८:०३

दमौली । तनहुँ जिल्लाका १० मध्ये नौ पालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

तीन नगरपालिका र छ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन् ।

जिल्लाका स्थानीय तहले छ अर्ब ६९ करोड २२ लाख २३ हजार ५०० बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । भानु नगरपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन ।

राजनीतिक द्धन्दका कारण भानुमा नगरसभा हुन नसकेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले आफूहरु छलफलमै रहेको बताए ।

स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । संघ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानका आधारमा बजेटको आकार निर्धारण गरिएको छ ।

जिल्लाको सबैभन्दा ठूलो र पुरानो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट सार्वजनिक गरेको छ ।

चालु वर्षको तुलनामा २५ करोड बढीको बजेट प्रस्तुत गरिएको उपप्रमुख मीरा जोशीले बताइन् । उनका अनुसार बिहीबार पेश गरिएको नीति तथा कार्यक्रम पारित भएको र बजेटउपर छलफल बाँकी छ । त्यसका लागि असार २३ गते बैठक आह्वान गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा तीन करोड कम बजेट सार्वजनिक गरेको छ । शुक्लागण्डकीले एक अर्ब ६ करोड ८६ लाख २० हजारको बजेट सार्वजकि गरेको छ ।

भिमाद नगरपालिकाले ५८ करोड ५६ लाख आठ हजारको बजेट पेश गरेको छ । बजेटको आधाभन्दा बढी रकम सामाजिक विकास शीर्षकमा विनियोजन गरिएको छ ।

म्याग्दे गाउँपालिकाले ६५ करोड ८२ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । आँबुखैरेनी गाउँपालिकाले ६१ करोड ७० लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ ।

पर्यटकीय ‘हब’का रूपमा परिचित बन्दीपुर गाउँपालिकाले ५१ करोड ३४ लाख एक हजार ५०० को अनुमानित बजेट सार्वजनिक गरेको छ ।

ऋषिङ गाउँपालिकाले ५२ करोड र देवघाट गाउँपालिकाले ४८ करोड ६९ लाख ७८ हजारको बजेट सार्वजनिक गरेका छन् ।

घिरिङ गाउँपालिकाले जिल्लाका स्थानीय तहको तुलनामा सबैभन्दा कम बजेट ल्याएको छ । घिरिङले ४६ करोड ३४ लाखको बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया