बिहीबार, चैत १५, २०८०

‘चिया कफीको उत्पादनमा विशेष जोड दिनुपर्छ’

किरण अधिकारी २०७८ असार ३ गते १४:१८

काठमाडौं । पछिल्ला वर्षमा नेपालमा उत्पादित चिया कफीको निर्यात बढोत्तरी भइरहेको छ । पूर्र्वको इलामबाट शुरु भएको चिया खेती र पश्चिम क्षेत्रको गुल्मीबाट सुरुवात भएको कफीले विश्व बजारमा उपस्थिती जनाएको छ ।

चिया कफी उद्योगको विकास गर्न उत्पादन, प्रशोधन, बजार व्यवस्थापन तथा निकासीका लागि नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक छ । चिया कफी उद्योगको विकास गर्न ‘राष्ट्रिय चिया तथा कफी विकास बोर्ड’ले काम गर्दै आएको छ ।

साथै, चिया कफीको खेती र प्रशोधन गर्ने कार्यमा समानता ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको उत्पादन गर्ने र बजार व्यवस्थापनमा ठोस नीति निर्माण गरी योजनाबद्ध विकास गर्न बोर्डको स्थापना भएको इतिहासलाई कसैले बिर्सन सक्दैन ।

विभिन्न कार्य योजनासहित चिया कफीको बजारीकरणमा समेत संलग्न देखिएकाले आफ्ना योजना र कार्यान्वयनका बारेमा बोर्डका निर्देशक एंव प्रवक्ता दीपक खनालसँग मेरोन्युजका किरण अधिकारीले गरेको कुराकानी

सामान्यतयः ‘राष्ट्रिय चिया तथा कफी विकास बोर्ड’को कार्य योजनालाई कसरी बुझन सकिन्छ ?

Advertisement

नेपाल सरकारको निकायको रुपमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत स्थापित वस्तुगत हो । यो २०५० मा स्थापना भई चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा व्यवसायिकता ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया कफी उत्पादन गर्न र बजार व्यवस्थापन तथा निकासी गर्नका लागि ठोस नीति निर्माणमा लागेको छ ।

जुन विभिन्न कार्य योजना सहित राष्ट्रिय योजना सहित राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र यसका कार्य योजनालाई कृषि मन्त्रलय अन्तर्गत रहेको यो बोर्ड हो । नेपालमा रहेका चिया तथा कफी उद्योगको योजना स्वरुप विकास गर्न लागेको छ ।

नेपाली चिया र कफीलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने यसको मूल उद्देश्य हो । नेपाली चिया र कफीको छुट्टाछुट्टै ब्राण्ड चिह्नको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनउन लागेको छ । बिक्री तथा व्यवस्थापनलाई ध्यान दिएर आफ्नो काममा अगाडि बढेको छ ।

बोर्डको योजनालाई हेर्ने हो भने, नीतिअन्तर्गत हुने कार्यमा वर्षेनी योजना बनाइन्छ । चिया तथा कफी उत्पादन एवम् प्रबर्धनसँग सम्बन्धित आवश्यक सबै नीतिलाई कार्यान्वयन गराउने काममा लागेको छ । नेपालका सम्भावित स्थानमा चिया तथा कफी खेतीको अध्ययन अनुसन्धानमा लागेको छ । नार्कसँगको सहकार्यमा अनुसन्धान भइरहेको छ । कृषक र कारखाना सेवा, चिया तथा कफी प्राविधिकको क्षमता बढाउने योजनामा छ, बोर्ड । यस्तै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहमा बजारको सर्वेक्षण तथा गुणस्तर व्यवस्थापन, नेपाली चिया र कफीको ब्राण्ड विकास तथा बजारीकरणका दृष्टिकोणले नेपाली चिया तथा कफीलाई यसको महतवपूर्ण उद्देश्य रहेको छ ।


नेपाली चियाको गुणस्तरका लागि बोर्डको नेतृत्वमा कार्यन्वयन आइसकेको जानकारीका साथ कफिीको पनि यस्तै प्रकारको गुणस्तर चिन्ह् लागु गर्ने पहलमा बोर्डले काम गरिरहेको छ ।

त्यसो भए, चिया कफीको सार्वजनिक खरिद बिक्री हुने सरकारी निकाय किन रोकियो ?

त्यस्तो होइन । हामीले योजनानुसार नै काम गरेको हो । बोर्डले पनि सरकारी निकाय ‘अक्सन’ कार्यक्रम राख्न सरकालाई अनुरोध गर्ने, इलामका जनता अक्सन प्रणाली संरक्षण कुरा उठेपछि बजेट निकासाको आकांक्षासमेत भएको हो । अक्सनका लागि समिति पनि बनायौँ । समितिले निर्देशिका पनि बनायो ।

वास्तवमा अक्सन भन्नाले उत्पादन भएका चिया कफीको बिक्रीका लागि एउटा मापदण्ड र एक प्रणालीबाट बजारमा जाने व्यवस्था हो । बेच्नुअघि उत्पादन भएका चिया कफी एउटा गोदाममा राख्ने र त्यहीबाट निकासी गर्ने प्रविधि हो । बिक्री गर्दा व्यवसायीले सरकारलाई देखाउने एउटा बाटो, बिक्री अर्को पाटोको भएर झुक्काउने प्रविधिलाई पनि नियन्त्रण गर्न सबैसँगको सल्लाहमा अक्सन वे खोजिएको हो ।

चिया कफीका बिचौलियाको फाइदालाई नियन्त्रण गर्न यो बाटो अपनाइएको हो । स्टेक होल्डरहरू तयार भए पनि व्यवसायीका तर्फबाट सर्त प्रस्तुत भए । व्यवसायीको सर्तअन्तर्गत अक्सन प्रणालीमा उत्पादित चिया गोदाममा थन्काउनु पर्छ । त्यसैलाई धितो मानेर ऋण दिने व्यवस्था गर्नु पर्ने, सरकारले ५० प्रतिशत भ्याट रकम फिर्ता गर्ने व्यवस्थालाई ६० प्रतिशत पुर्याउनु पर्ने माग थियो, व्यवसायीको । लिखित र मौखिक रुपमा कृषि र अर्थ मन्त्रालयमा प्रस्ताव राख्यौँ ।

गत वर्ष तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि मन्त्रीसँगै सम्बन्धित व्यवसायीसहित संयुक्त बैठक बस्यो । तर, मन्त्रलायले नमानेर ६० प्रतिशत फिर्ताको प्रस्तावलाई शून्यमा झार्ने भएपछि भ्याट फिर्तामा निराशा छायो । त्यसैले अक्सन योजना रोकियो ।

छलफल गरेर टुंगोमा नपुग्दासम्म यो अघि बढ्न सक्दैन । त्यसो त अक्सन नहुँदा चियाले बजार पाउन कठिनाई भएको व्यवसायीले स्वीकारेका छन् नि ।

विश्वमा नेपाली चिया कफीको बजार कस्तो छ ?

फट्को मार्ने काम भएको छैन । चिया र कफी जुन रुपमा वर्षेनी बढाउनु पर्ने हो सकेका छैनौँ । तर, विकास हुँदैछ । २४ हजार १ सय १८ मेट्रिक टन चिया उत्पादन हुन्छ । यस्तै नेपालमा ३ सय मेट्रिक टन कफी उत्पादन हुन्छ । नेपालको १७ हजार हेक्टर क्षेत्रफलमा चिया र २ हजार ३ सय ६० हेक्टर क्षेत्रफलमा कफी उत्पादन हुन्छ । त्यसका लागि बजारको आवश्यकता पर्छ ।

विश्व बजारमा नेपाली चिया कफीको बिक्री भइररहेको छ । ३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको पाइन्छ । म अहिले कार्यालयभन्दा बाहिर भएकाले रकमलगायतका तथ्यांकमा फरकता हुन सक्ने भएकाले ठोकुवा गर्न सकिँदैन ।

केन्द्रीय तत्थ्यांक विभागका अनुसार यसअघि २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६ सय ८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको छ । अघिल्ला वर्षमा मुलकभर २८ हजार ५ सय ९५ हेक्टर जमिनमा गरिएको चिया खेतीबाट २४ हजार ८ सय ४ मेट्रिकटन चिया उत्पादन भएको तथ्यांक विभागले देखाएको छ । तर, व्यापारका लागि बजारको खोजी भइरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि विभिन्न कार्यक्रमसहित अघि बढेकै छ ।

त्यसैले चिया कफीको उत्पादन र बजारमा आकर्षण भइरहेको छ । किनकी इलामको एउटा गाउँबाट उत्पादन हुन थालेको चिया नेपालका २८ जिल्लामा उत्पादन हुन्छन् । यस्तै, गुल्मीबाट शुरु भएको कफी उत्पादन मुलुकका ५० जिल्लामा उत्पादन हुन्छ । यसरी खेती र उत्पादनमा विकास हुँदै जाँदा बजार हुँदैन भन्ने कुरै छैन । चिया कफीको क्षेत्र विस्तारका लागि रोपण चक्ला बन्दीमा लागेका छौँ ।

समयानुसार चक्ला बन्दीका लागि समय परिवर्तन भइरहेको सबैलाई जानकारी दिएका छौँ । सहजकताका लागि ‘टिकफी डट जिओभी डट एनपी’मा हेर्न सकिन्छ । यो सब बजारीकरणका लागि हुने भएकाले चिया कफीको बजार राम्रो छ । र, अझै विकास हुने कुरामा दुईमत नहुने फेरि दोहोराउँछु ।

सरकारले चिया कफीलाई प्राथमिकता नदिनु कारण के हो ?

यसका लागि दुवै निकायसँग छलफलको आवश्यकता छ । बोर्डले केही गर्दा कृषि, अर्थ मन्त्रालयसँग छलफल नै गर्छ । नेपाल राष्ट्र बैंकसँग पनि विकासका लागि टेबल बहस नभएको होइन । त्यसो त केन्द्रीय तथ्यांक विभागले आफ्नो डाटामा नराख्नु, सरकारले गरेन भन्नु गलत हुन्छ । सरकारले आफ्नो किसिमले गरेकै छ । हो, चिया र कफी महत्वपूर्ण नगदे बाली हुन् । यसलाई प्राथमिकतामा राख्नुपर्छ ।

त्यसो भए, बोर्डले के के अध्ययन अनुसन्धान गरेको छ त ?

मैले शुरुमा भने झै सबै प्रदेश स्थानीय तहमा इन्सपायर गरेर सकारात्मक सोचका साथ चिया र कफीमा खेती गर्न प्रोत्साहित गरेका छौँ । त्यसका लागि कुन क्षेत्रमा के चाहिन्छ भनेर कृषि पढ्ने विद्यार्थीको सहभागिता गराएर अध्ययन अनुसन्धान भइरहेको छ । चिया कफी नर्सरीको प्रमोसन पनि यही अध्ययन अनुसन्धानबाट भएको हो ।

अध्ययन अनुसन्धानको सबै तथ्यांक मैले अघि भने झै म कार्यालय बाहिर भएकाले उपलब्ध गराउन सकिनँ । तर, बोर्डले आफ्नो क्षेत्रमा अध्ययन गरेको छ । नीतिका लागि कदम अगाडि बढाएको छ ।

सरकारी निकायअन्र्तगत उद्योग तथा वाणिज्य मन्त्रालयको योजनामा राखे पनि कार्यक्रम र बजेट माग्नुभन्दा अध्ययनमा जोड दिन नार्कसँगको सहभागीमा चिया कफीमा केही अनुसन्धान नभएको होइन । तर, नार्कले गुल्मीमा गरेको एक अध्ययनबाहेक नियमित अनुसन्धान नहुँदा यो क्षेत्रमा केही समस्या देखिएको हो । यसको निवारण एवं समाधानका गरेर विभिन्न सिद्धान्तको प्रयोगद्वारा अध्ययन अनुसन्धानलाई जोड बोर्डले दिने नै छ ।

बोर्डको आगामी योजना के छ ?

बोर्डले वर्षेनी योजना बनाउँछ । नीति निर्माणका लागि काम गर्छ । चीया कफी क्षेत्र प्रबद्र्धनका लागि गरेको योगदानका आधारमा सस्मान स्वरुप राम्रा र पुर्नतः व्यवसायीक चिया कफि क्षेत्रका किसान, ,उद्योगी, सञ्चार क्षेत्र र प्रसोधन कम्पनीलाई पुरस्कारसमेत दिँदै आएको छ । चिया कफी राज्यका सम्बन्धीत अंगले गुणस्तरका लागि गर्ने कार्यमा बुँदा तयार पार्न छलफलसहित योजना बनाउँछ ।

अब, हामीले तथ्यांक कार्य इन्टरनेटको माध्यमबाट लागेपनि योजना तयार पार्ने सोचमा छौं । ताकी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्ने कार्यका लागि योजना हुन्छन् । थाहा हुनेछ ।

चिया, कफि, मानिसको दैनिकी र स्वास्थ्यबीच के सम्बन्ध छ ?

संयुक्त राष्ट्र संघका अनुसार हरेक १५ डिसेम्बरमा अन्तर्राष्ट्रिय चिया दिवस मनाइन्छ । हरेक अक्टुबर १ मा कफी दिवस मनाइन्छ । अधिकांश मानिसलाई बिहान उठ्नेबित्तिकै वा दिनको सुरुवात गर्न चिया कफी नै चाहिन्छ । चिया कफी पिउन समय नचाहिने हुँदा अल्छी लाग्दा, पाहुना आउँदा, साथीभाइ भेट्दा वा बिहान, दिउँसो, साँझमा गरी चिया कफी पिउन सकिन्छ ।

युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित गरिएको अध्ययनअनुसार चिया कफीको सेवन स्वस्थ र लामो जीवनसँग सम्बन्धित छ । अध्ययनका लेखक, चिनियाँ एकेडेमी मेडिकल साइन्सेजको जिन्याङ वाङ, चिया पिउने बानी भएका मानिसमा मुटरोग वा अन्य कारणले हुने मृत्युको जोखिम कम हुने बताउँछन् । चिया पिउने बानी भएका मानिसमा मुटु रोग र स्ट्रोकको समस्या २० प्रतिशत कम भएको र अन्य कारणले हुने मृत्युको जोखिम १५ प्रतिशत कम हुने अध्ययनमा उल्लेख गरिएको छ ।

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया