शुक्रबार, वैशाख १४, २०८१

पृथ्वीसुब्बा गुरुङ भन्छन् :

मलाई मुख्यमन्त्रीबाट किन हटाइयो भन्ने जवाफ कांग्रेस-माओवादीसँगै छैन

आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री छोडेर अर्को पार्टीको प्रमुख प्रतिपक्षको नेतालाई खोजी खोजी गएर प्रधानमन्त्री भइदिनुपर्यो भनेर उसको पक्षमा हस्ताक्षर गर्नेदेखि उसको पक्षमा अदालतमा पुगेर मुद्दा हाल्ने विषय संसदीय राजनीतिमा अक्षम्य अपराध हुन् ।

मेरोन्यूज २०७८ जेठ ३१ गते १९:१४

वामपन्थीहरुको सुविधाजनक बहुमतको सरकार थियो–गण्डकी प्रदेशमा । नेकपा (एमाले) एक्लैको झण्डै–झण्डै बहुमत थियो । तर एमाले–माओवादी एकता, गठबन्धन सवै भत्केपछि ४१ महिनासम्म मुख्यमन्त्रीको बागडोर सम्हालेका एमाले स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्यो । अहिले त्यहाँ एमाले सिंगो एकातिर र अन्य सबै दल र स्वतन्त्र सांसदसमेत अर्काेतिर रहेर कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । एमाले नेतृत्वको प्रदेश सरकार गुरुङकै नेतृत्वको पहिलो पटक ढल्यो, कांग्रेस पहिलो पटक प्रदेशको सरकारको नेतृत्व गरेरै गण्डकीबाट सरकारमा पुग्यो । केन्द्रमा झै प्रदेशमा पनि गुरुङले अनेक तिकडम गरेर मुख्यमन्त्री नछोड्ने हुन् की ? कसैको पनि बहुमत नपुगेको कारण प्रदेश सभा नै विघटन हुने हो की ? आशंका व्याप्त थियो । तर, स्थिति फरक देखियो । सहज बर्हिगमन मुख्यमन्त्री गुरुङले रोजे । उनको नेतृत्वको सरकारको काम र अबको राजनीतिलगायतका विषयमा केन्द्रित रहेर मेरोन्यूजकर्मी हरि भट्टले पृथ्वीसुब्बा गुरुङसँग कुरा गरेको कुराकानीको सम्पादित अंश :-

४१ महिना प्रदेश सरकारको नेतृत्वमा रह्नुभयो, विपक्षीहरु सबै मिलेर तपाईंलाई अल्पमतमा राखेर नयाँ सरकार निर्माण गरेको अवस्था अहिले गण्डकी प्रदेशमा छ । आफ्नो नेतृत्वको प्रदेश सरकारको कार्यकाललाई कसरी स्मरण गर्नु हुन्छ ?
संघीयताको व्यवहारिक अभ्यास शून्यबाट प्रारम्भ गर्नुपर्ने अवस्थाबाट मेरो कार्यकालको सुरुआत भएको थियो । आफैंमा एउटा उत्साहपूर्ण अवस्था थियो । एकदम कठिन र चुनौतीपूर्ण अवस्था पनि थियो । किनकी, समस्यै-समस्यालै भरीएको, अनुभवहिनताको स्थिति थियो । हामीले संघीयताको कार्यान्वयन गर्ने र यसको औंचित्यता पुष्टि गर्नुपर्ने थियो । ति कामहरु यस बीचमा धेरै गरिएको छ । तर कतिपय चुनौती र कठिनाईका पहाडहरु अझै पनि बाँकी छन् । यसलाई पन्छाउन बाँकी छ । प्रदेश कानून निर्माणका लागि संघीय कानूनहरु त्यही अनुसारको निर्माण हुनुपर्ने, संघले प्रदेशलाई सहजीकरण गर्नुपर्ने जस्ता प्राविधिक कठिनाइले हामीले धेरै दुःखकष्ट व्यहोर्नुपरयो । तर, प्रदेश सरकारका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको अन्तरपरिषद्को बैठकपछि देखिएका समस्याहरु समाधान हुँदै गए ।

कमर्चारीको व्यवस्थापन पनि संघीय सरकारले गर्ने कुरा थियो । आजसम्म कमचारीको यथोचित व्यवस्थापन हुन सकेको छैन । मन्त्रालयको पनि यथोचित संरचना बनिसकेको छैन । तर पनि हामीले केही न केही कमर्चारी पायाैं । कतिपय अनुभवका कमी, योग्यता, क्षमताको अभावका कारण कार्यसम्पादनमा हामीलाई कठिनाई परेका थिए । तर हामीले यो तीन वर्षमा आफ्नाे प्रशासनलाई व्यवस्थित गर्ने काम गरेका थियौं ।

अर्को नेपाल सरकारले नै भौतिक संरचना हस्तान्तरण गर्ने कुरा थियो । तर, धैरै भौतिक संरचनाहरु प्रदेशको एकल अधिकारभित्र परेका मन्त्रालय अन्तर्गतका विषय पनि एकीकृत रुपमा हस्तान्तरण नगर्दा स्वामित्वको आलटालले कहिले संघतिर, कहिले स्थानीयतिर पठाउने भरहन्थ्यो । तर अहिले केहीको बल्ल प्रदेशतिर व्यवस्थापन भएको छ । यसको सहज हस्तान्तरण नहँदा पनि समस्या ठूलै समस्या व्यहाेर्नु परेको थियो ।

अहिले यी क्षेत्रका कामहरुमा सफलता प्राप्त गरेका छौं । यो वर्ष माथिबाट जति बजेट आउनु पर्ने हो त्यति बजेट नआएपनि गएको आर्थिक वर्षमा हामीले करिब ९० प्रतिशत भन्दा बढी रकम खर्च गरी सकेका छौँ । तर, यसको पनि हामीले ठूलो समस्या व्यहोर्नु परेको थियो । तीन वर्षभित्र हामीले प्रदेश योजना आयोग निमार्ण गरेर प्रदेशको प्रथम पञ्ञवर्षीय योजना बनाएका छाैँ ।

त्यसभित्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना समावेश छन् । अल्पकालीनमा आर्थिक वर्ष २०७६/०७७ बाट ०८०/०८१ सम्मको योजना बनाएका छाैँ । त्यस्तै मध्यकालीन योजना अन्तर्गत दिगो विकास लक्ष्यलाई भेट्ने गरी २०८७ साल सम्मको योजना बनाएका छाैँ । विंस २१०० मा गण्डकी प्रदेश कस्तो हुने भन्ने एउटा दीर्घकालीन लक्ष्य पनि निर्धारण गरेर एउटा प्रादेशिक आंकाक्षा राखेर हामी अगाडि बढेका छौँ ।

यो कार्यान्वयन गर्ने कुरामा हामीले तीन वर्षभित्र धेरै कामहरु गरेका छौं । ती कामहरुले प्रदेश सरकारको औंचित्य पुष्टि गर्ने काम गर्न सक्छ । हामीले बनाएका योजना र गरेका कामले गरिबी निवारणमा योगदान गर्न सक्छ, उत्पादन बढाउन सक्छ, व्यापार बढाउन सक्छ, रोजगार, स्वरोजगार सिर्जना गर्न सक्छ । औद्याेगीकरणकाे ढोका खोल्न सक्छ । कृर्षिबाट भूमिको व्यावसायीकरण हुनसक्छ, यान्त्रीकरणमा पनि प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

हामीले पूर्वाधार विकासको क्रममा प्रदेशको थुप्रै स्थानीय तहको केन्द्र जोड्ने, एक निर्वाचन क्षेत्र एक सडक निमार्ण गर्ने अभियान सुरु गरेका थियौं । यो योजना यसै वर्ष सम्पन्न हुने गरी अगाडि बढाइएको थियो । हामीले एकघर एक धारा, आधारभूत खानेपानीको व्यवस्थापन, गण्डकी प्रदेश उज्यालो प्रदेश, गण्डकी प्रदेशका ५ लाख घरधुरीमा बिजुली पुर्याउने, खोल्साखाल्सीमा पुल राख्ने काम अभियानकै रुपमा सम्पन्न गर्दै थियाैँ।।

सुशासन कायम गर्न विद्युतीय माध्यमबाट काम गर्ने गरी हामीले इ-गर्भनेसको गुरुयोजना बनाएका थियाैं । यही अन्तर्गत गण्डकी प्रदेशलाई पहिलो डिजिटल प्रदेश बनाउनु पर्छ बनेर लागेका छाैंँ । यसको लागि हामीले आइटी पार्कको निमार्ण कार्य प्रारम्भ गरको छाैँ । शिक्षा र स्वास्थ्यमा प्रगति गर्ने, जनशक्तिको व्यवस्थापन गनर्ने भन्दै हामीले गण्डकी इ–सुविधालाई स्थापना गरेका छौँ ।

प्रदेशलाई चाहिने निम्न, मध्यमसतरको जनशक्ति व्यवस्थापनका लागि गण्डकी प्राविधिक र व्यावसायिक प्रतिष्ठान स्थापना गरेर त्यसको काम अगाडि बढाइरहेका छाैँ । गण्डकी प्रदेशसभाको भवन निमार्ण गर्दै छौँ । प्रदेश प्रतिष्ठान कर्मचारीहरुको तालिम, जनप्रतिनिधिको तालिम विभिन्न अनुसन्धान गर्नको लागि गण्डकी प्रदेश प्रतिष्ठान कोर्ष बनाएर अगाडि बढाउँदैछौं । ति कोर्ष मुलुकको सबै प्रदेशको लागि नमूना कोर्षका रुपमा अगाडि बढाइरहेका छौँ ।

गण्डकीको प्रशासनिक केन्द्र वा गण्डकीको सिंहदरबार निमार्ण गर्ने काम हामीले अगाडि बढाएका छौँ । गण्डकीमा हामी आफ्नै औधोगिक क्षेत्र निर्माणमा अगाडि बढेका छाैँ । प्रत्येक पालिकामा सम्भव नभएकाले ५१ पालिकामा हामीले औद्याेगिक ग्राम स्थापना गर्ने काम गरेका छौँ । जसमा २३ ओटा पालिकामा औद्याेगिक ग्राम स्थापना गरेका छाैँ । १०० बेडको एउटा आधुनिक संक्रामक राेग अस्पताल पहिलोपटक गण्डकीले सुरुवात गरेको छ ।

प्रदेशको ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरेका छौँ । सबैमा डाइलासिस सुरुवात गरेका छौँ । सबै अस्पतालमा पिसिआर टेष्ट गर्ने व्यवस्था गरेका छौ । सबै ठाउँमा अस्पताल भवनको निमार्ण गरेर हामी चाहिँ सबै ठाउँमा आइसियू कक्ष संचालनमा ल्याएका छाैँ । त्यसकारण यस्तो अभियान भित्र रहेर हामीले काम गरेका छौँ । गण्डकी प्रदेश क्रिम सरकार हो । गण्डकी प्रदेश सरकार एउटा भिजन भएको सरकार हो । गण्डकी प्रदेश सरकारले पूर्वाधारमा प्रगति गरेको छ । समृद्धिको अभियान सुरु गरेको छ ।

पर्यटनलाई विकास, समृद्धिको प्राथमिकतामा राखेर फेवातालको सिमाङ्कन, नक्साङ्कन गर्ने काम सकेको छ । अब चाँडै फेवातालको संरक्षणको काम प्रारम्भ हुने छ । ३०८ वटा होमस्टे स्थापना गरेर सहरी पर्यटनलाई ग्रामीण पर्यटनसँग जोडेर ग्रामीण गरिबी निवारणका लागि स्वरोजगार अथवा रोजगार सिर्जना गर्ने काम गरेका छौं । ग्रामीण कृषि उत्पादन अभिवृद्धि गर्न, गाउँको संस्कृति संरक्षण गर्नका लागि महत्व दिने काम मेरो पालामा सरकारले गरेको छ ।

संघीयता कार्यान्वयन र सरकार सच्चालनमा प्रमुख प्रतिपक्षको भूमिका कस्तो पाउनुभयो ?

संघीयताकाे कार्यान्वयनमा उहाँहरुको असहयोग थिएन । संघीयता कार्यान्वयन गर्नमा प्रशंसा नगरेपनि, विरोध पनि थिएन । मैले गरेका काम, मैलै अगाडि बढाएका कुराहरुमा विरोध भएन । सुरु सुरुका दिनमा प्रदेश सरकार कहाँ छ, संघीयता कहाँ छ भन्दा गण्डकी प्रदेश सरकारले बनाएको धारामा हेर्नुहोस् । उसले बनाएको सडकमा हेर्नुहोस् । उसले बालेको बिजुली बत्तिमा हेनुहोस् । उसले स्थापना गरेको नमूना विद्यालयमा हेर्नुहाेस् भन्ने उहाँले प्रचार गर्नु हुन्थ्यो । पछिल्लो समयमा चाहीँ त्यस्तो गर्नु भएन । संघीयतामा सुरुमा उहाँहरुको पूरै सहमति थियो । सरकारले जे गरेको थियो त्यसमा उहाँहरु हुनुहुन्थ्यो । पछिल्लो समयमा आएर उहाँहरुले विरोध जनाउनुभयो । त्यसैले संघीयता कार्यान्वनमा उहाँहरुको भिजन क्लियर छैन । उहाँहरुको पार्टीको भिजन नै स्पष्ट छैन । तत्कालीन प्रमुख प्रतिपक्ष दलको नेता चाहीँ समर्थनमा हुनुहुन्थ्यो । उहाँहरुले सुरुको दिनमा कुनै असहयोग गर्नुभएन ।

अब तपाईं प्रमुख प्रतिपक्षमा हुनुभयो । तपाईंको भूमिका कस्तो हुन्छ ?
हामी परिपक्व भूमिका निर्वाह गर्छाैँ । हाम्रो भूमिका रचनात्मक हुन्छ । प्रतिपक्ष भन्ने बित्तिकै सरकारको हेरक कुराको विरोध गर्नुपर्छ भन्ने हुँदैन । प्रतिपक्ष भन्ने बित्तिकै सरकारको सबै कुराको विरोध गर्ने भन्ने हुन्न् । परिपक्वताको नाममा अथवा आलोचनात्मक विपक्षको नाममा सरकारले ल्याएका सबै कुरालाई आँखा चिम्लेर समर्थन गर्ने पनि हुँदैन । हामी जे काम गर्छाैँ । सही/बेठीक हेरेर गर्छाैँ ।

गण्डकी प्रदेशको जनताको हितको लागि गर्छाैँ। प्रतिपक्षको भुमिका निर्वाह गर्छाैँ। गण्डकी प्रदेशको समृद्धिको लागि लाग्छाैँ। संघीयता कार्यान्वयनको लागि लाग्छाैँ । गण्डकी प्रदेशको सरकारलाई व्यवस्थित ढंगले अगाडि बढाउनका लागि उहाँले राम्रो काम गर्नु भयो भने यसमा हाम्रो रचनात्मक सहयोग रहन्छ ।

प्रतिनिधिसभा जस्तै गण्डकी प्रदेशमा पनि प्रदेशसभा विघटन हुन्छ की भन्ने धेरैको अनुमान थियो । तर, तपाईंले सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नु भयो नि ?
लोकतन्त्रप्रतिको हाम्रो निष्ठा, संघीयताप्रतिको हाम्रो निष्ठा । म के चाहान्छु भने हाम्रो प्रदेश सभा अकालमै मुत्यु नहोस् । सुरुदेखि नै मैले त्यो प्रयत्न गरेको हो । यहाँका सबै दलको नेतालाई भनेको थिए – हामी मिलेर जाऔँ । सर्वदलीय सरकार बनाऔँ । झण्डै ४८ प्रतिशत मत प्राप्त गरेको दल एमाले भएकाले मेरो नेतृत्वमा सर्वदलीय सरकारमा जाऔँ भन्ने प्रस्ताव गरेको थिएँ । यो के का लागि थियो भने गण्डकी प्रदेश सरकार पाँच वर्ष काम गर्न पाउनुपर्छ । आफ्नो कार्यकाल पूरा गरेर संघीयताप्रतिको निष्ठा देखाउनुपर्छ भन्नको लागि थियो ।

हाम्रो संविधान कार्यान्वयनप्रतिको तदरुकताका लागि थियो । म आफ्नो योग्यता, क्षमता, सामार्थ्य राखेर काम गर्नुपर्छ भन्ने मान्छे, संघीयताको खिलाफमा काम गर्न मिल्छ ? मैले मुख्यमन्त्री छोड्नु पर्दैमा प्रदेश सभा भंग नै गर्नुपर्छ र ? त्यस्तो होइन । संघीयता प्रतिको मेरो निष्ठा, लोकतन्त्रप्रतिको मेरो निष्ठा, संघीय लोकतन्त्र गणतन्त्र हामीले ल्यायका हाैँ । यसलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो निष्ठा थियो । मैले त्यो निष्ठा आफ्नो कोणबाट पुरा गरेको हुँ ।

विश्वासको मत नपाएपछि मुख्यमन्त्रीमा दाबी गर्नु भएको थियो । के पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहयोग पाउने अपेक्षा गरेर मुख्यमन्त्रीमा दाबी गर्नु भएको हो ?
यसबीचमा उहाँसँग एक पटक फोन गरेको थिए । उहाँले यसो गर उसो गर केही भन्नु भएन । प्रतिपक्ष दलको नेता भएर, प्रतिपक्ष पार्टी भएर बस्न हाम्रो पार्टी तयार हुनुपर्छ । प्रतिपक्षी भूमिका निर्वाह गरेर नै जनताको मन जित्न सक्छौ । शेरबहादुर देउवाको नेतृत्वमा चुनाव भएको थियो । तर, उहाँलाई हामीले धेरै उछिन्यौं । जनताको मुद्दाको कुरा हो । प्रमुख प्रतिपक्ष रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने कुरा हाम्रो पार्टीको हितमा हुन सक्छ । यसका लागि तपाईंले मानसिकता बनाउनुहोस् भन्नु भएको थियो । यो अगाडिको कुरा हो । तर त्यो दिन मैले कुरा गरेको थिएन । यसो गर उसो गर केही भन्नु भएको थिएन ।

तपाईंले पार्टीको कारणले नै पद छोड्नु परेको हो ?
पार्टीको कारणले भन्दा पनि जनमतको कारणले म मुख्यमन्त्री बनेको हुँ । जनमतकै कारणले म मुख्यमन्त्रीबाट गएको हुँ । किनभने जनमत हामीलाई स्पष्ट दिएको भए माथि जस्तो सुकै गठबन्धन भए पनि मेरो सरकार रहिरने थियो । बहुमत पुग्न हामीलाई चार सिट कम थियो ।

हाम्रो २७ सिट मात्रै थियो । हामीलाई ३१ सिट आवश्यक थियो । अघिल्लो पटक गठबन्धनमा चुनाव लडेको माओवादी केन्द्रले र जनमोर्चाले सजिलैसँग मलाई समर्थन गरेकोले मेरो सरकार बनेको थियो । वामभित्रपनि ठूलो दलको हिसाबले एमालेकाे सरकार बनेकाे हो । पछि उहाँले समर्थन फिर्ता लिएपछि म अल्पमतमा छँदै थिए । अल्पमतमा रहँदा मैले अनेक नाटक, हस्तक्षेप गरेर सरकार टिकाइ राख्न उचित ठानिन् । जनमतले मलाई मुख्यमन्त्रीबाट हट भन्यो । विपक्षी गठबन्धन जुन उहाँहरुले बनाउनुभएको छ । त्यो कुर्सीकै लागि थियो । उहााँहरु कुर्सी प्राप्तिका लागि सबै एक ठाउँ उभिएकाले म अल्पमतमा परेको हुँ । त्यसैले मैले सरकार छोड्नु परेको हो । विपक्षीले मलाई कुनै कारण विना, विना कुनै आरोप, विना कुनै तर्क सरकारबाट हटाउनु भयो । उहाँहरुसँग कुनै तर्क छैन । मुख्यमन्त्रीले कहीँ भ्रष्टाचार गरेको छैन । मुख्यमन्त्रीले कुन भिजनमा काम गर्न सकेन ? उहाँहरुसँग दिने तर्क छैन । यो मुख्यमन्त्री अयोग्य भयो । त्यो पनि छैन । उहाँहरुसँग मलाई हटाउनुको कुनै तर्क छैन । राष्ट्रिय राजनीतिमा विपक्षी गठबन्धन बनाएको हुनाले हामी गठबनधनमा छौँ । हाम्रो बहुमत पुगेको हुनाले तपाईंले हट्नु पर्छ भन्ने उहाँहरुको भनाई हो ।

तपाईंको पार्टी एमालेभित्र विवाद छ । पार्टीको विवादले गर्दा संघीय र अन्य प्रदेश सरकार अफ्ठ्यारोमा छन् । यसमा तपाईंको के टिप्पणी छ ?
हाम्रो पार्टी एकताबद्ध हुनुपर्छ । एकताबद्ध हामीले बनाउँछौँ । नेताहरुमा कति घिन लाग्दो अनुशासनहिनताको काम भएको छ । यसको इतिहासले निर्मम समीक्षा गर्ने छ । यो खण्डनीय छ । यसैका कारण आज हामीले यस्तो भोगिरहेका छाैं । जसले जे जति सुकै गल्ती गरेपनि घटनाक्रमले त्यसलाई एकदिन समीक्षा पक्कै गर्ला ।

आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री छोडेर अर्को पार्टीको प्रमुख प्रतिपक्षको नेतालाई खोजी खोजी गएर प्रधानमन्त्री भइदिनुपर्यो भनेर उसको पक्षमा हस्ताक्षर गर्नेदेखि उसको पक्षमा अदालतमा पुगेर मुद्दा हाल्ने विषय संसदीय राजनीतिमा अक्षम्य अपराध हुन् । यी सबै कुरा छोडेर पार्टी एकतालाई चाहि अवरुद्ध गर्नु हुन्न। पार्टी एकताको विकल्प छैन ।

प्रतिक्रिया