बिहीबार, वैशाख १३, २०८१

गृहमन्त्री अधिकारीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

मेरोन्यूज २०७८ जेठ २९ गते १७:०७

काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । उनले शनिबार प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गरेका थिए ।

निरीक्षण पश्चात गृहमन्त्री अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई सम्बोधन गरेका थिए । त्यस क्रममा उनले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबैभन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका थिए ।

घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढनुपर्नेमा उनले जोड दिए । गृहमन्त्री अधिकारीले कोभिड(१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै यस कार्यमा अझ बढी सक्रिय हुनुपर्ने बताए ।

सीमित साधन श्रोतका बावजुद नेपाल प्रहरीलाई सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आएको चर्चा गर्दै यस सन्दर्भमा आवश्यक व्यवस्थापनका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए । निरीक्षणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए । संगठनले प्राप्त गर्ने नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास उनले व्यक्त गरे ।

यस्तै, गृहमन्त्री अधिकारीले आजै सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको पनि निरीक्षण गरेका थिए ।

प्रतिक्रिया