बिहीबार, वैशाख १३, २०८१

भारु ८० हजारको जागिर छाडेर खेत खन्दै ‘अर्जुन’

नरेन्द्र रौले २०७८ जेठ २९ गते १३:१७

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै व्यापार, व्यवसाय ठप्प छ । कतै हिँड्डुल गर्ने अवस्था छैन । सरकारले जारी गरेको निषेधाज्ञाले घरभित्रै थुनिँदा मानिसहरूलाई थप अनावश्यक रोग लाग्ने अवस्था सिर्जना भएको छ । कोरोना संक्रमणको समाचार सुन्दा मानिसहरू आत्तिरहेका छन् ।

तर, अर्जुन पुरीको जीवनमा निषेधाज्ञाको कुनै प्रभाव छैन । उनको काम गर्ने समय घटेको छैन । बरु, निषेधाज्ञा सुरु भएसँगै थप काम गर्ने जाँगर बढेको छ ।

ललितपुर धापाखेलको सिभिल होम्समा बस्ने मोरङका अर्जुन विन्दास पाराका छन् । झ्याप्प दारी पालेका फुर्तिला देखिने उनी सधैँ खुसी मुडमा भेटिन्छन् ।

अर्जुन इ फार्मका ‘चेयर म्यान’ हुन् । उनका साथी परमेश श्रेष्ठसँग मिलेर उनले इ फार्म सञ्चालन गरेका हुन् । इ–फार्मको नारा छ – गाउँको कोसेली ।

इ फार्मले बिगत दुई वर्षयता उपत्यकाबासीका घर–घरमा तरकारी, फलफूल र मासु होम डेलिभरी गर्दै आएको छ । अर्जुनका अनुसार गत वर्षको निषेधाज्ञामा इ फार्मले झण्डै ७० देखि ८० लाख रुपैयाँ बराबर कारोबार गरेको थियो । यसपालीको निषेधाज्ञा यता ५० लाख रुपैयाँ कारोबार भएको उनी बताउँछन् ।

निषेधाज्ञाका बिच धापाखेल पुग्दा अर्जुन खेत खन्दै थिए । ‘म त किसानको छोरो हो सर,’ हँसिलो मुद्रामा भेटिएका उनले सुनाए, ‘मलाई किसान हुनुमा गर्व छ ।’

उनले १५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । हरेक दिन खेतमा गोडमेल गर्नु, तरकारीका बिउ रोप्नु, पानी छर्किनु उनको दैनिकी बनेको छ । उनको कम्पनी इ फार्मले यसै ठाउँमा फलेको तरकारी उपत्यकाबासीको घर–घरमा पु¥याउँछ । एक हजार रुपैयाँभन्दा माथिको अर्डर आए निःशुल्क सुविधा गरिन्छ । थोरै मात्रामा अर्डर आए ५० रुपैयाँ डेलिभरी शुल्क लिने गरिएको छ ।

तरकारी, मासु र फलफूलबाहेक इ फार्मले किचेनमा आवश्यक पर्ने ग्रोसरी सामान डेलिभरी गर्छ । आफ्ना उत्पादनबाहेक काभ्रे र धादिङबाट ल्याइएको तरकारीसमेत उनीहरूले बिक्री गर्दै आएको छ ।

यस्तै, इ फार्मले मोरङ, इलाम, धनकुटा, पाँचथरबाट संकलन गरेर ल्याएका खसी र लोकल कुखुराको मासु उपत्यकाबासीको भान्सामा पुर्याउँदै आएको छ । सामुहिक कृषि गर्नेहरुबाट विभिन्न उत्पादन संकलन गर्ने गरिएको इ फार्मका सञ्चालक अर्जुन बताउँछन् ।

‘निषेधाज्ञाले धेरैलाई धक्का दियो, तर मेरो यात्रा भने रोकिएको छैन,’ अर्जुन भन्छन्, ‘मैले देखेको सपना पछ्याउँदैछु । लक्ष्यमा पुग्न संघर्षरत छु ।’

निषेधाज्ञाले धेरै कुरा रोकिए पनि अर्जुन तीव्र गतिमा दौडिरहेका छन् । यही रफ्तारलाई ५ वर्ष निरन्तरता दिने उनको अठोट छ । हरेक दिन उनी तरकारी र बिउको खोजीमा नर्सरी धाइरहेका हुन्छन् । खाना खाने समयबाहेक खेतमा पसिना बगाइरहेका हुन्छन् ।

काम गरेर कोठामा फर्किदा ज्यान थकेको हुन्छ, तर उनी मनको दुःख, पीडा सबै भुलिदिन्छन् । मन चंगा र हलुंगो बनाएर आफ्नो सपनाको उडान उडिरहेका हुन्छन् । ‘कृषि र यो उद्यम मेरा लागि नयाँ कुराको सिकाईं र प्रेरणाको स्रोत बनेको छ,’ उनी सुनाउँछन् ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबैको व्यापार, व्यवसाय बन्द छ । तर, इ–फार्मको व्यवसाय भने जारी छ । ‘यसैले हामीलाई बचाएको छ,’ उनी थप्छन्, ‘हामीले आफूलाई एकदमै भाग्यमानी ठानेका छौँ ।’

इ फार्मको सुरुवात

यसै अगस्ट २ मा इ फार्मले दोस्रो वार्षिकोत्सव मनाउँदैछ । अर्जुनलाई अझै हिजो जस्तो लाग्छ । धापाखेलमा उनी बस्ने कोठाको झ्यालबाट बाहिर चियाउँदा फाट्टफुट्ट फार्म देखिन्थे । खाली जग्गा पनि प्रशस्त देखिन्थ्यो । झट्ट अर्जुनको मनमा आइडिया फुरिहाल्यो – यो ठाउँमा त कुनै कृषि उद्यम गर्न पाए ।

आफूले सोचेको काममा उनी ढिलो नगरी अगाडि बढिहाल्छन् । साथी परमेशसँग सल्लाह गरेर जग्गा भाडामा लिए । आफ्नै जग्गामा तरकारी फलाए । प्रविधिको प्रयोग नगरी सफल भइदैन भन्ने कुरा यी युवाले राम्रोसँग बुझे । त्यसैले अनलाइनबाटै अर्डर गरेपछि घरमै पुर्याइदिने व्यवस्था गरे ।

आफ्नो उत्पादन मात्र होइन अन्य जिल्लाबाट तरकारी, खसी, बाख्रा, अचार जस्ता उत्पादनहरू संकलन गरेर होम डेलिभरी गर्न थाले ।

प्रेरणाको स्रोत– एलन

अर्जुनलाई एलन मस्कले सबैभन्दा बढी प्रभाव पारेका छन् । जिरोबाट संघर्ष गरेर चम्किएका एलनको जीवनबाट उनले धेरै कुरा सिकेका छन् ।

स्पेश एक्स, टेस्ला इलेक्ट्रिक कार, सोलार उर्जा उत्पादन, स्टारलिंक जस्ता विश्व प्रसिद्ध कम्पनीका सञ्चालक एलनको जीवन पनि कम्ति संघर्षपूर्ण छैन । एलनलाई अर्जुनले विगत १० वर्षदेखि पछ्याइरहेका छन् ।

‘मेरो जीवनमा एलनले यति प्रभाव पारेको छ कि कुरा गरेर साध्य नै छैन,’ उनी भन्छन् । यस्तै जगतगुरु शंकराचार्यप्रति उनको बेग्लै श्रद्धा छ । भारत बस्दा शंकराचार्यको मूर्ति भएको ठाउँ उनी पुगेका छन् । सत्य र सच्चाईको बाटोमा हिँड्न जगत गुरुले सधैँ प्रेरित गरे । अहिले मानव जातिलाई चाहिने ज्ञान दिए ।

भावी सपना

भाडामा लिएका जग्गालाई अर्जुन भरपूर उपयोग गर्न चाहन्छन् । छिट्टै नै उनी यहाँ एउटा फार्म हाउस बनाउँदैछन् ।

यस्तै, माछा पालनका लागि पोखरी बनाउन कस्सिएका छन् । फार्म हाउसमा जोकोही आएर बस्न सक्ने छन् । समय छ भने बिदा मनाउन सक्ने छन् । होटलमा भन्दा फार्ममा बस्नुको मजा बेग्लै मिल्नेछ । पोखरीमा आफै माछा मार्दै, आफैले पकाएर खाने सुविधा उपलब्ध हुनेछ । यस्तै खसी, बाख्रा, लोकल कुखुराका विभिन्न परिकार चाख्न सकिने छ ।

सुरुवाती दिनमा उनले भारतको बैंगलोरको एक उच्च स्तरको कम्पनीमा काम गर्थे । उनको तलब नै ८० हजार भारतीय रुपैयाँ अर्थात नेपाली एक लाख २८ हजार रुपैयाँ । त्यसको माया मारेर नेपाल फर्किएका हुन्, उनी । विदेश जानुभन्दा नेपालमै दुःख गर्नु उनको इच्छा हो ।

मोरङको बेलबारीस्थित धनपाल माविबाट एसएलसी दिएका उनी डाक्टर, इञ्जिनियर बन्ने सपना देख्थे । जिन्दगी सोचे जस्तो त कहाँ हुन्छ र ? जब, काठमाडौँको जेभियर इन्टरनेश्नलबाट प्लस टु सके उनी सिए पढ्न भारत पुगे । पढाईकै सिलसिलामा भारतका गोवा, मैसुर, पोण्डिचेरी, केरला, ताजमहल, पुणे, मुम्बई, कलकत्ता, उडिसा, राजस्थानलगायत कैयौं ठाउँहरुमा पाइला टेके ।

अध्ययनकै क्रममा उनले विभिन्न कम्पनीमा काम गर्ने मौका पाए । नामी कम्पनीहरूमा प्रयोगात्मक काम गर्नु पढाइकै अंश थियो ।

पढाई सकेर अर्जुनले बैंगलोरको बिगफोर कम्पनीमा काम पाए । उनलाई याद छ, सन् २०१६ को त्यो अगस्ट महिना । तीन महिना लगाएर पाँच चरणमा अन्तर्वार्ता भएपछि उनी काममा छानिए । अडिट र कन्सल्टिङ गर्ने यो कम्पनीका एक सय ५० देशमा ब्राञ्च छन् ।

जसमा ३० हजार कर्मचारी कार्यरत छन् । सुरुमा काम गर्दा उनको तलब थियो, ५० हजार आइसी । ‘यो कम्पनीमा काम गर्न पाउनु भाग्यको कुरा थियो,’ अर्जुनले सुनाए ।

पछि उनले आलुक इन् कर्प कम्पनीमा फड्को मारे । धेरै कम्पनीमा अन्तर्वार्ता दिएपछि उनले यसमा अवसर पाएका थिए । उनलाई नयाँ नयाँ कुरा सिक्नु थियो । त्यसैले एकै ठाउँ बस्न चाहेनन् । यस कम्पनीमा पनि २ वर्ष काम गर्दा व्यापार, व्यवसायका बारेमा उनको ज्ञानको दायरा फराकिलो बन्यो ।

उनकै शब्दमा भारत बस्दा उनले ‘नेक्स्ट लेभल’को जीवन बिताए । ‘म एकदम लक्की हो,’ उनले भने ‘मलाई दाइहरूले हरबखत सहयोग गरे ।’

तीन वर्षअगाडि आफूसँगै पढेका साथी परमेशसँग मिलेर हाम्रोकार्ट सुरु गरे । यो नेपालकै पहिलो फेसन इ कमर्स हो । बालबालिका, महिला, पुरुष सबैका लुगा, कपडा यसले डेलिभरी गर्दै आएको छ ।

‘निरन्तरता दियो भने नहुने के छ र ? हामीले देशका लागि केही त गर्नै पर्छ,’ अर्जुनले भने ।

कुराकानी गर्दा गर्दै उनी खेतमा गए । आफ्नो लक्ष्य भेटाउन खन्न थाले ।

प्रतिक्रिया