शुक्रबार, वैशाख ७, २०८१

६ जना संक्रमितलाई आफै पिठ्यूँमा बोकेर हिँडेका गाउँपालिका अध्यक्षको अनुभव

त्यसपछि म आफैं गाँउका कोभिड संक्रमितलाई बोक्न कुँदे ..

भूपेन्द्र राई २०७८ जेठ २९ गते ८:२६

म खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष हुँ । जनताले निर्वाचित गरेको जनप्रतिनिधी । निर्वाचनका बेला महिले मलाई भोट दिनुस्,- तपाईंहरूलाई समस्या परेको बेला म सहयोग गर्छु भनेर भोट मागेको थिए । गाउँपालिकाका जनताको जीवन रक्षा गर्नु मेरो कर्तब्य र दायित्व दुवै हो । अहिले कोभिडको महामारीका बेला मेरो पहिलो प्राथमिकता भनेकै मेरो आफ्नै गाँउपालिकाको जनताको जीवन बचाउने हो । त्यसैको लागि अहिले म र मेरो गाउँपालिका निरन्तर जुटिरहेको छ ।


हामीले कोभिड रोकथाम, न्यूनीकरणका लागि गाँउपालिकाबाट धेरै हदसम्म कोसिस गरेका छौं । गरिरहेकै थियौं । गाँउपालिकामा मानिसहरुको आवातजावत रोकथामका लागि यस अगाडी गाँउपालिका शिल गरिएको थियो । गाँउपालिकाभित्र आउन चाहनेलाई पिसिआर परीक्षणको रिपोर्ट गाँउपालिकामा पहिले वुझाएपछि गाँउपालिकाले पासको ब्यवस्था गर्ने र त्यसको आधारमा मात्र प्रवेश गर्न दिने गरी नीति बनाएका थियौं । त्यसलाई कडाईका साथ पालना गरेका थियौं ।


तर पछिल्लो चरण उपत्काका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सिडिओले कोभिडको दोस्रो लहरको रोकथामका लागि भन्दै उपत्यकामा लकडाउन गर्ने घोषणा गरे । त्यो पनि लकडाउन गर्ने दुई दिन अगाडी नै घोषित रुपमा । त्यसपछि हाम्रा गाउका दाजुभाई दिदीवहिनीहरु जो जति पनि काठमाडौं र तराई तिर हुनुहुन्थ्यो, उहाँहरु रातभर -रातभर गाडी रिर्जभ गर्ने, वसमा आउने गरेर धेरैनै गाँउ फर्किनुभयो ।

यसरी घर फर्किएका आफ्नै गाउघरका दाजुभाईलाई आफ्नो घर नआउ भन्न सकिन्न । उहाहरु आउनुभयो । उपत्यकाका सिडिओहरुले मानिसहरुलाई जो जाहाँ हुनुहुन्छ, त्यही बस्ने गरी निति बनाएको देखिएन । उपत्यका खाली गर्ने खालको जस्तो नीति लिनुभयो । त्यसरी लकडाउनको नीति लिएपछि गाँउतहसम्मै कोरोना ‘भुसको आगो’ झै फैलिन पुग्यो । बास्तविकता यो हो ।

हामी कहाँ कोभिडको त्यस्तो कुनै लक्षण र विरामी देखिनुभएको थिएन । तर जसरी लकडाउन हुने भएपछि गाँउमा मानिसहरु ह्वारह्वारर्ती आउनुभयो, त्यसपछि हामीले परिक्षण गर्नुपर्छ भन्ने नीति बनायौं । शुरुमा गाउँपालिकामा एउटा केन्द्र बनाएर एन्टिजोन परिक्षण शुरु गरयौं । हामीकहाँ त्यसरी गरिएको परिक्षणका क्रममा सावित्रा देवकोटालाई कोभिड देखा परयो ।

गाँउपालिकामा एम्वुलेन्स एउटा थियो । त्यो जेठ ९ गते देखि नै विग्रेर बसेको रहेछ । त्यो भन्दा अगाडी नै गाडीको डाइभर पनि कोरोना भएर वसेका थिए । त्यसपछि मेरो डाइभरलाई एम्वुलेन्स चलाउन महिले पठाएको थिए । म चढ्ने गाडी म आफैले चलाउने गरिरहेको थिए ।

७ ओटा वडा छन्, मेरो गाँउपालिकामा । ति सवै वडाका जनताका जनप्रतिनिधी म । यसैक्रममा एकजना कोरोना संक्रमतिलाई घरमै वसिरहेका बेला गाह्रो भएछ । उहाँहरुले एम्बुलेन्स बोलाउनु भयो । एम्वुलेन्स पनि जेष्ठ ९ गते अगाडी नै विग्रिएर थन्किएको रहेछ । त्यो मलाई जानकारी थिएन । त्यसपछि मलाई फोन आयो , अनि मात्र महिले एम्बुलेन्स विग्रिएको थाहा पाए । त्यसपछि म आफै गए , ‘मास्क, पञ्जा, पीपीई लगाएर । संक्रमित हुने डर भएपनि जनतालाई त बचाउनुपरयो ! यो मेरो कर्तव्य हो, जिम्मेवारी पनि हो ।

सदरमुकामबाट मेरो गाउँपालिका जान दुई घण्टा जति लाग्छ गाडीमा । गाँउका वस्ती पातलो छन् । सवैका घर-घरमा मोटरबाटो पुग्दैनन । त्यसरी घरघरमा मोटरबाटो पुराउन पनि सकिन्न । एउटा घर यता हुन्छ भने अर्काे घर उता पर हुन्छन् । प्रायः हाम्रा ग्रामिण बस्तीहरुको बस्ती बनावट नै यस्तै हुन्छन् । हामी कहाँ पनि त्यस्तै हो ।

गाँउकै सडकमा आइपुग्न पनि धेरैका कम्तीमा १५, २० मिनेटको बाटो हिड्नुपर्ने हुन्छ । ति संक्रमित भएर गाह्रो परेका विरामीको पनि त्यस्तै थियो । त्यसपछि म आफैले उहाँलाई पिठ्यूँमा बोकेर सडकसम्म ल्याएर गाडीमा हालेर अस्पताल पुरायाएको थिए । त्यसपछि अहिलेसम्म म आफैले कोभिड संक्रमित भएका ६ जनालाई पिठ्यूँमा बोकेर अस्पताल पुराएको छु ।

एक जना विरामीलाई कम्तीमा २० देखि ३० मिनेटसम्म वोकेको छु । एकजना कमला राई जसको अक्सिजनको मात्रा ५५ मा झरेको थियो, उहाँलाई पनि महिले नै बोकेर अस्पताल पुराएको हुँ । अहिले उहाँको अक्सिजनको मात्रामा धेरै सुधार भएको छ । अव दुई चार दिनमै अस्पतालबाट डिश्चार्ज गरेर घर ल्याउने काम हुन्छ ।

वडा नम्वर १ र ७ मा अलिक बढी देखिएका छन् । अहिलेसम्म १५९ जनामा संक्रमण देखियो । त्यसमध्ये ५०, ६० जना मात्रै अहिले कोही अस्पतालमा, कोही घरमै आइसोलेसनमा बस्नुभएको छ । सवैको अवस्था सुधारउन्मुख नै देखिएको छ । अरु निको भईसक्नुभएको छ ।

आफैले विरामी पिठ्युँमा बोकेर अस्पताल पुरायउन थालेपछि धेरैले मलाई तेरो पनि बालबच्चा छन्, यसरी आफै किन कुद्छस् ? तहिले त निर्देशन दिए पुगिहाल्छ, अरुलाई काम गराउन लगाउनुपर्छ सम्म पनि भन्न भ्याए । तर त्यसो होइन । महिले नगरे कसले गर्ने ? जनताले मत दिएर, मलाई जिम्मेवारी दिएर पठाएका छन भने आफैले संकटका वेला गाँउका मानिसहरुको सेवा गर्नुपर्छ भनेर जुटेको हुँ । हो मेरो पनि बालवच्चा, श्रीमति छन् ,तर महिले जिम्मेवारी गाउँभरीको जनप्रतिनिधीका रुपमा लिएपछि मेरो परिवारमात्र होइन, सिंगो गाँउकै जनता मेरो प्राथमिकता हो ।

म आफै खटिएपछि अरुलाई पनि खट्न प्रेरणा मिलेको छ । सवैको आत्मबल वलियो भएको छ । विरामीहरुलाई पनि केही अप्ठायारो परयो भने गाउँपालिका साथमा छ भन्ने महसुस भएको छ । यस्तो बेला आत्मबल बढाउनु नै ठूलो कुरा हो । त्यो बढेको छ ।

सेनाले पिपिई सेट लगाएर निधन हुनुभएकाहरुको लास जलाईरहनुभएको छ । चिकित्सक, नर्सहरुले पनि विरामीको दिनरात नभनी उपचार गराईरहनु भएको छ । फन्टलाइनरका रुपमा उहाँहरुले काम गरिरह्नुभएको छ । हामीले पनि त्यसैगरी फन्टलाइनरको रुपमा काम गर्नुपर्छ भन्ने लागेर गरेको हो ।

यसले विरामीहरुको आत्मबल बढेको छ । सवैले विश्वास र भरोसा गरेका छन् ।

राज्यले कोभिडसँग जोगिन सामाजिक दुरी कायम गर्ने, घरवाहिर ननिस्कने भनेर लिएको नीति नै गलत छ । यसले विरामी कहाँ छन् भन्ने जानकारी नै नहुने अवस्था छ । तर चिकित्सकको अध्ययनका आधारमा यति दुरी कायम गरेर बस्दैमा, विरामीसँग बोल्दैमा, विरामीलाई हेर्दैमा कोभिड सदैन भनेर ब्यवस्था गर्नुपर्दथ्यो । त्यस्तो हुँदा छिमेकी विरामी भएको थाहा हुने, समयमै उपचार हुने अवस्था हुन्थ्यो । तर राज्यले घरवाहिर ननिस्कन भनेर गरेको अपिलले छिमेकमै भएको विरामी पत्तो नपाउने र उनीहरुलाई परेको गाह्रो अप्ठ्यारो थाहा नहुने अवस्था छ । तर हामीले त्यसलाई बदलेर सक्दो सेवामा जुट्नुपर्छ । नेतृत्वको परिक्षण हुने भनेकै अप्ठायारो बेलामा हो । त्यसमा चुक्नुहुँदैन ।

अन्य जनप्रतिनिधीहरु पनि आ -आफनो तरिकाबाट खटिरहनु भएकै होला । उहाँहरुको आफनो शैली होला, मेरो आफनो शैली होला । तर आफनो जनताको सेवाका लागि जनप्रतिनिधीले परेको बेला खटेर नै नेतृत्व स्थापित गर्ने हो । संकटमै कुन नेतृत्व कति जनताको दुखसुखमा छन भन्ने कुरा प्रमाणित हुने हो । यसमा हामी जनप्रतिनिधी निरन्तर जनताको सेवामा खट्रिहनुपर्छ ।

म आफैले पनि तीन दिन अगाडी परिक्षण गराए । कोभिड नेगेटिभ रिजल्ट आयो । त्यसपछि थप आत्मबल बढेको छ । स्वास्थ्य सामाग्री मास्क, पञ्जा, पीपीई लगाएर सेवामा खटिदैमा कोभिड सरिहाल्छ भन्ने हुदैन । तपाई हामीले स्वास्थ्य मापदण्डको पालना गरेर विरामीको सक्दो सहयोग गरयौं भने मान्छेको जीवन वचाउन सकिन्छ ।

(कुराकानीमा आधारित)

०००

प्रतिक्रिया