बिहीबार, वैशाख १३, २०८१

नेपाल भर्सेज अष्ट्रेलिया

नेपाल बलियो प्रतिस्पर्धी अष्ट्रेलियासंग ३-० ले पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भन्छन् : खेलाडीहरुले गोर्खाली शैलीमा खेले, सन्तुष्ट छु ।

मेरोन्यूज २०७८ जेठ २९ गते ६:२४

काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासंग ३-० ले पराजित भएको छ । शुक्रबार राती कुवेतको राजधानी कुवेत सिटिस्थित जाबेर अल अहमद अन्तराष्टिय रंगशालामा भएको खेलमा नेपाल आफुभन्दा निक्कै बलियो प्रतिस्पर्धी अष्ट्रेलियासंग पराजित भएको हो ।

दोस्रो हाफमा एक खेलाडी कम रहेर नेपालले खेलेको थियो ।

पहिलो हाफमा अष्ट्रेलियाले नेपाल विरुद्ध दुई गोल गरेको थियो भने नेपालका रोहित चन्दले पहिलो हाफको अन्तिम समयतिर रातो कार्ड पाएर मैदान छोडनु परेको थियो ।

त्यसपछि दोस्रो हाफमा नेपालले अष्ट्रेलियासँग १० खेलाडीमा सिमित भएर खेलेको थियो । दोस्रो हाफमा नेपालले थप एक गोल मात्र खाएको थियो । फिफा वरीयतामा ४१ औ स्थानमा रहेर अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ । एसिया कप जितिसकेको अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध नेपाली खेलाडीले हार ब्यहोरेपनि राम्रो प्रर्दशन गरेका थिए ।

यसअघि २०१९ मा अष्ट्रेलियामा खेलेको खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।

विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा बलियो अष्ट्रेलियासंग नतिजा भन्दा पनि प्रदर्शनमा जोड दिएर खेलेको नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलअघि बताएका थिए । उनले अष्ट्रेलिया विरुद्धको खेलमा अघिल्लो खेलमा जोर्डन विरुद्ध खेलेका नेपाली टिममा ५ खेलाडी परिवर्तन गरेका थिए ।

अन्जन विष्टसहित अभिषेक रिजाल सन्तोष तामाङ दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ सुनिल बल एरिक विष्ट विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईँमा खेलेका थिए ।

अष्ट्रेलिया विरुद्ध नेपालका तीन युवा खेलाडीले डेब्यु गरेका थिए । पहिलो पटक राष्ट्रिय टिममा परेका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।

तीनै खेलाडी इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए ।

खेलपछि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीहरुले गोर्खाली शैलीमा खेलेको बताए ।

‘नेपालीहरु विश्वमा गोर्खाली भनेर चिनिन्छन् । आज हाम्रो खेलाडीले गोर्खाली जसरी नै खेल्यौँ । १० खेलाडी होस् या ११, हामीले हरेक समय भिडेर खेल्यौं ।’ उनले भने ।

प्रतिक्रिया