शुक्रबार, वैशाख ७, २०८१

नायिका निशाको नर्भिक अस्पतालले नि:शुल्क उपचार गर्दै

मेरोन्यूज २०७८ जेठ २८ गते १४:१२

काठमाडौँ । नायिका निशा घिमिरको ब्रेन ह्यामरेजको नर्भिक अस्पताल काठमाडौँले निशुल्क उपचार गरिरहेको छ । भारत सवारी दुर्घटनामा परेपछि उनलाई ब्रेन ह्यामरेज भएको थियो । भारतमा उपचार गर्दा खर्च धान्न नसकेपछि उनका परिवारले एम्बुलेन्सबाट नेपाल ल्याएको थियो ।

सामाजिक सञ्जालमा उनका पहिले र अहिलेका तस्विर भाइरल भएकाले म्यूजिक भिडियो निर्देशक शान थापासहितको टिमले निशाको पितालाई १० हजार रुपैयाँ सहयोग गर्नुका साथै सहयोगको अभिान सुरु गरिएको छ ।

सामाजिक उत्तरदायित्वलाई ग्रहण गर्दै नर्भिक अस्पतालले निःशुल्क उपचारका लागि अस्पतालमा भर्ना गरेको नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेगा चौधरीले जानकारी दिइन् ।

मेरोन्यूजसँग कुरा गर्दै उनले भनिन्, “हस्पिटलले व्यापार नभएर सेवा गर्ने हो । हुनेबाट सेवा बाफत खर्च लिने र नहुनेलाई समाजिक रेस्पोन्सिबिलीटीमा सहभागि भएको उदाहरण हो । नायिका निशालाई छिट्टै निको हुनेछ । नर्भिकको टिम लागेको छ । भगवानसँग प्राथना पनि गरौं । निशाको आमाको पुकारले पनि उपचार अभियान पूरा हुनेछ ।”

निशाको अवस्था देख्दा निशाका फ्यानहरु भावुक भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कोरोना र उपचारका क्रममा असहजकता हुने भएकाले कसैलाई पनि भेट्न दिइएको छैन ।

वास्तवमा भन्ने हो भने मानिसको जीवनमा कस्तो घटना कतिखेर घट्छ कसैलाई थाहा नभएको निशाको समस्याले देखाएको छ । चर्चित नायिका बन्ने सपना बोकेर डिप्लोमा गर्न २ वर्षअघि भारत पुगेकी निशा घिमिरेको जीवनमा पनि एउटा अप्रत्यासित घटना घट्यो, जसले उनको सारा सपना निमोठियो । उनलाई अभिनेत्री बन्नु थियो । दर्शकको ठूलो भीडमा उभिएर अटोग्राफ दिनु थियो । तर, एउटा दुर्घटनाले आज उनी जीवन र मृत्युसँग लडिरहेकी छन् ।

उनको उपचारमा परिवारको सबै जायजेथा सकिसकेको छ । कोठा भाडामा बस्न सक्ने अवस्था नभएपछि अहिले उनको परिवारले भैंसीपाटीमा टिनले बारेर एउटा झुप्रो बनाएका छन् । त्यही परिवारको रेखदेखमा रहेकी निशाको नर्भिक अस्पतालले उपचार गरिरहेको छ ।

निशाले एक नेपाली फिल्ममा समेत अभिनय गरेकी छन् । मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ नामक टेलिश्रृंखलासँगै केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छन् ।

प्रतिक्रिया