आइतबार, जेठ ६, २०८१

कोरोना दोस्रो लहर : काभ्रेमा १ सयको मृत्यु , सात हजार संक्रमित

मेरोन्यूज २०७८ जेठ २७ गते १३:३५

काभ्रे । कांभ्रेमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिनाको अवधिमा . १०० भन्दा बढीको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा सात हजारमा कोरोना देखिएको जनाइएको छ । कोरोनाको पहिलो लहरमा ४५ जनाको मृत्यु भएको थियो । हाल कोरोना संक्रमणको दोस्रो लहरमा हालसम्म १०५ को मृत्यु भएको हो । कोरोना संक्रमणबाट हालसम्म १५० को मृत्यु भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ ।

Advertisement

जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ५७ कोरोना संक्रमितको मृत्यु भएको छ । केन्द्रका अनुसार हालसम्म जिल्लाका १० हजार १५३ मा कोरोना संक्रमण देखिएको छ । यसमध्ये तीन हजार गत सालका संक्रमित हुन् भने करिब सात हजार कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिना अवधिका हुन् ।

गत वर्षभन्दा बितेका दुई महिनामा दोब्बर बढी सङ्ख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ७९ प्रतिशत अर्थात् आठ हजार दुई संक्रमणमुक्त, भइसकेका छन् ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले जनायो । “संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«सिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ ।

हालको अवस्थामा पनि मृत्युदर दैनिक सरदर दुई रहेको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।
यसैबीच जिल्लामा केही दिनदेखि सङ्क्रमणदर घटेको र सङक्रमणमुक्त हुनेको सङ्ख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ९७ मा कोरोना सङ्क्रमण पुष्टि भयो भने १३२ सङ्क्रमणमुक्त भएका हुन् । अघिल्लो दिन १०२ मा कोरोना सङ्क्रमण देखियो भने २०२ सङ्क्रमणमुक्त भएका थिए । यहाँ मृत्युदर रोकिएको छैन ।

हाल जिल्लामा एक हजार ९४४ सक्रिय सङ्क्रमितमध्ये बनेपामा ३२६, धुलिखेलमा ३१८, पनौतीमा २१७, पाँचखालमा १७७, नमोबुद्धमा ९२, मण्डनदेउपुर नपामा १५७ तथा रोशीमा १२७, चौँरीदेउरालीमा ५४, तेमालमा ६९, भुम्लु १९४, खानीखोलामा ४९, बेथानचोकमा ३० र महाभारत गाउँपालिकामा १३४ सक्रिय संक्रमित रहेको केन्द्रले जनायो । रासस

प्रतिक्रिया