शुक्रबार, वैशाख ७, २०८१

‘कोरोना जित्नेहरूमा एक्लोपनको समस्या थपिँदै’

कोभिड १९ निको भएपछि मानसिक समस्या देखिन सक्छ

डा. रितेश थापा, मानसिक रोग विशेषज्ञ २०७८ जेठ २५ गते १८:१६

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै मानिसमा मानसिक रोगको समस्या देखिन थालेको छ । तनावलाई समयमै व्यवस्थापन गर्न नसक्दा कालान्तरमा मानसिक समस्या निम्तिन सक्छ ।

कोभिडको शारीरिक मात्र हैन मानसिक असर पनि हुन्छ । अहिले कोरोना खोप, अक्सिजन र भेन्टिलेटर मानिसहरुले नपाएकाले चिन्ता बढेको छ । मानसिक समस्या जुनसुकै उमेर, वर्ग, समुदाय र क्षेत्रका मानिसमा हुन सक्छ ।

अहिले देश अधिकांश जिल्ला कोभिड नियन्त्रण गर्न सरकारले लकडाउन गरेको छ । जसले गर्दा ती क्षेत्र ठप्प भए । धेरै मानिस घरभित्र थुनिएका छन् । पहिलो लकडाउनका समयमा कोभिडका कारण थुप्रै विभेदहरू भए । अहिले त्यस्तो समस्या कम छ । अहिले मानिसहरू खुलेर बोल्न थालेका छन् । पहिलो कोभिड लहरमा घरबेटीले छिर्न नदिने वा टोलमै कोरोना भएका व्यक्तिलाई छिर्न नदिने गरेको देखिन्थ्यो । अहिले त्यस्तो समस्या देखिएको छैन ।

लकडाउनले दैनिक चलायमान जीवन रोकिँदा धेरै मानिसहरू मानसिक समस्याको शिकार बन्न पुगेको देखिन्छ । सामान्य अवस्थामा भन्दा कोभिडको समयमा मानसिक समस्याका बिरामी बढेको देखियो । पहिला कोभिडको लहरमा मृत्युदरको हिसाबमा अहिले मृत्युदर बढी भएको हुँदा परिवारमा ज्यान गुमाउनेमा समस्या देखिन थालेको छ । जसले गर्दा डर बढी भएको देखिन्छ ।

दोस्रो लहरमा मानिसमा कतै म कोभिड संक्रमण भएर मरिहाल्छु कि भन्ने डर बढेको छ । अक्सिजन अभाव हुँदा तथा वेड अभाव हुने चिन्ता बढी देखिएको छ । परिवारको सदस्यको मृत्यु भएपछि अन्य सदस्यहरू डिप्रेशनमा जाने गरेको देखिएको छ । अहिले यस्तो समस्या धेरैमा देखिएको पाइन्छ । युवाहरूले पनि कोरोनाका कारण ज्यान गुमाएको हुँदा डर त्रासको समस्या बढेको देखिन्छ ।

दोस्रो लहरमा कोभिडका कारण युवाहरूले ज्यान गुमाउँदा डर त्रासको समस्या बढेको छ । अहिले एञ्जाइन्टिको समस्या बढेको देखिन्छ । अक्सिजनको अभावको समस्या केही साताअघि देखिएको थियो । त्यसले धेरै मानिसमा डर तनावको समस्या थपिदिएको छ ।

कोभिडको दोस्रो लहरमा मानिसहरूको मृत्युका कारणले एञ्जाइन्टिको समस्या देखिएको छ । अरु रोग लाग्दा आफ्नो वरिपरी परिवारका सदस्यहरू हुन्थे । अस्पताल भर्ना हुँदा कुरुवा बस्ने भए । जसले गर्दा बिरामीमा सहयोग भइरहेको हुन्छ ।

तर, अहिले कोभिडका बिरामी हुँदा अन्य सदस्य भेट्न नि पाइदैन । नजिकैबाट बोल्न पाइदैन । आफूले हेरचाह पनि गर्न नपाइने भयो । आफन्तले गर्ने पनि हेरचाह नपाउँदा बिरामीहरूमा चिन्ता बढ्छ ।

कोभिडका जटिल बिरामी लगेर आइसीयूमा राखेको छ । परिवारका सदस्यलाई कस्तो छ थाहा हँदैन । गएर कुरुवा बस्न नि नमिल्ने । दुवै पक्षलाई डर बढेको देखिन्छ । बिरामीहरूमा एक्लोपन हुने रहेछ । अब, अन्त्यमा सबै कुरा एक्लै गर्नु पर्ने रहेछ । मानिसमा एक्लोपनको समस्या बढी भएको देखिन्छ । जसले गर्दा डिप्रेशनको समस्या देखिन्छ ।

अर्को कोभिड निको भएपछि कतिपयमा मानसिक समस्या देखिएको पाइएको छ । लामो समयसम्म अस्पतालमा एक्लै बसेँ, आखिरमा कोही नहुँदा पनि हुने रहेछ, अब किन चाहियो अरु आफ्न्त र अब पनि म एक्लै बस्न सक्छु भन्न एक्लोपनको महसुस गरेको देखिएको छ ।

एक्लोपनको महसुस भएपछि चिटचिटापन, बोल्न मन नलाग्ने, दिक्क लाग्ने हुन्छ । केही कोरोना संक्रमण पुष्टि भएका व्यक्तिमा मैले त्यो मानिसमा भेटेको थिए । उसले पो मलाई कोरोना सारिदियो कि भनेर त्यो व्यक्तिसँग नबोल्ने जस्तो व्यवहार गरेको देखिन्छ ।

यसैगरी, कोभिड निको भएपछि कतिपय व्यक्तिमा लामो समयसम्म पनि सकारात्मक सोच नआउने, विवाह, सम्बन्धविच्छेद र मृत्युलगायत कुनै पनि अवस्थाले गर्दा घुलमिल हुन गाह्रो भएको देखिन्छ । यो समस्या केही हप्तापछि आफै विस्तारै हराउँदै जान्छ ।

यदि, परिवार, साथीहरूले त्यस्ता समस्या देखिएका व्यक्तिलाई सहयोग र माया गरेमा यो समस्या आफै हराउँदै जान्छ । कतिपयलाई सामान्य मनोपरार्मशबाट यो समस्या समाधान हुन्छ यो ठूलो रोग हैन । तर, वास्ता गरेमा मनोपरार्मशमा नलगेमा आत्महत्याको सोच पनि आउन सक्छ । कोभिडका बिरामीमा यस्तो समस्या आउने गरेमा समयमै आफूले आफैलाई प्रश्न गर्नुपर्छ ।

कोभिडका बिरामीहरूले सानो सानो रिस उठ्ने, रुन मन लाग्ने, खाना खान मन नलाग्ने, आइसीयूमा बसेका लागि त्यही आइसीयू वा भेन्टिलेटरको आवाज कानमा आइरहने जसको कारण निन्द्रा नलाग्ने जस्ता समस्या देखिएको पाइएको छ ।

बरु नियमित व्यायम गर्ने, सकारात्मक लेखहरू पढ्ने, आफूलाई तन्दुरत राख्न कोशिश गर्ने, योगा मेडिटेसन गर्ने गर्न सकिन्छ । आफूलाई कस्तो सोचाई आइरहेको छ । त्यो परिवारका सदस्यहरूलाई भन्ने गर्नु पर्छ । सामाजिक सञ्जालमा आउने नकारात्मक कुराहरु टाढै बस्नुपर्छ । निको भएर आएकाहरूले अन्यमा साकारात्मक सन्देश दिन सकिन्छ ।

कोभिडका विषयमा नकारात्मक समाचार बढी आइरहेको छ । शव जलाएको फोटोहरू सामाजिक सञ्जालमा राख्ने गरेको देखिन्छ । त्यस्तो हेर्दा कोभिड नभएका व्यक्तिमा पनि मानसिक तनावमा आउछन् । अझ, कोभिड भएकाहरूले सामाजिक सञ्जाल नचलाएकै राम्रो । कोरोनाका सामाचार नहेर्दा पनि हुन्छ । संक्रमण हुँदैमा सबै जनाको मृत्यु हुने हैन भनेर सोच्नुपर्छ । यदि, संक्रमण भइहाले जित्न सकिन्छ भन्ने मनोबल उच्च बनाउनु पर्छ ।

यसैगरी, निषेधाज्ञा बढ्दै जाँदा आर्थिक भार थपिन्छ । हामीले मानसिक रुपमा तयार हुनुपर्छ । संक्रमण पुनः अर्को आउन सक्छ भनेर मानसिक रुपमा सोच्नुपर्छ । अब तेस्रो लहर आएमा कसरी त्यो समयमा आर्थिक संकटको व्यवस्थापन गर्नु पर्ने हुन्छ । कोभिड आउँदैन भनेर हेल्च्याक्राई गर्नु हुँदैन । घरबाहिर जाँदा निस्कन्छौँ भने सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने, हात धुने बानीको विकास गर्नुपर्ने हुन्छ ।

हामीले के बुझनुपर्छ भने, कोभिड नियन्त्रणमा आएपछि केही समयमा लागि खुकुलो भए पनि पुनः अर्को लहर आउछ भने मानसिक रुपमा तयार अहिलेबाट नै हुनु पर्छ ।

(मानसिक रोग विशेषज्ञ डा. थापासँग मेरोन्युजकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया