बुधबार, वैशाख १२, २०८१

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सह–इञ्चार्ज खगराज भट्ट भन्छन् :

‘माधव नेपाल पक्षका सांसदलाई टुटाउने अस्त्र प्रयोग भयो’

पार्टी केन्द्रसँग हाम्रो कुरा नमिलेकै हो

हरि भट्ट २०७८ जेठ २१ गते १४:०८

काठमाडाैँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीमा विवाद देखिन थालेको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को विस्तार गरेपछि माओवादीमा विवाद देखिन थालेको हो ।

मुख्यमन्त्री भट्ट माओवादीतर्फबाट मुख्यमन्त्री बनेका थिए । उनले पार्टीभित्र प्रर्याप्त छलफल नगरी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै यतिखेर माओवादी सुदूरपश्चिम प्रदेश कमिटीमा विवाद बढेको छ ।

सुदूरपश्चिम प्रदेशका सह–इञ्चार्जसमेत रहेका खगराज भट्टले असन्तुष्टि सामाजिक सञ्जालमा नै व्यक्त गरेका थिए । माओवादीभित्र देखा परेको विवाद के हो ? मेरोन्युजकर्मी हरि भट्टले माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सह–इञ्चार्ज खगराज भट्टसँग गरेको कुराकानी :

माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीभित्र देखिएको विवाद के हो ?

तपाईले भन्नु भएको जस्तो विवाद, विरोध केही छैन । तर, केही विधि प्रक्रिया र सर्न्दभमा हाम्रा बहस छलफल भएका हुन् । तर, धेरै चर्चा, परिचर्चा हुने खालको विवाद होइन ।

मन्त्रिपरिषद्को विस्तारका विषयमा विवाद भएको त बाहिर आएको छ नि ? तपाईं आफैले पनि सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नु भएको थियो ?

मन्त्रिपरिषद्को विस्तारका विषयमा नमिलेको एउटा मात्रै कुरा हो । हाम्रो माग के हो भने हामी संघीयतामा भएकाले स्थानीय पार्टीले अलि बढी अधिकार प्राप्त गर्नु पर्छ । यसमा केन्द्रको भूमिका समन्वायत्मक र निर्णायक भूमिका प्रदेशको हुनुपर्छ । प्रदेश सरकारको भूमिका के हुन्छ ? प्रदेशले के गर्ने, कस्तो गर्ने भन्ने कुरा अलि बढी हुने भयो । अहिलेको विशिष्ट परिस्थितीमा प्रतिगमनविरुद्धको लडाईमा हामी केन्द्रीत भएकाले के गर्दा त्यसलाई बलियो बनाउन सकिन्छ भन्ने हेर्नु पर्छ । यसमा मात्रै केन्द्र र प्रदेशका बीचमा अलिक कुरा फरक पर्न गयो । यो बुझाईमा हाम्रो र केन्द्रसँग अलि कति मिलन हुन नसकेको मात्रै हो ।

मुख्यमन्त्रीले विस्तार गर्नु भएको मन्त्रिपरिषद्मा माओवादीबाट कमले मात्र अवसर पाए भन्ने हो ?

यसमा स्वभाविक रुपमा केही कारण छन् । त्यसमा हाम्रो धेरै विमती केही थिएन । एउटा त माओवादीले मुख्यमन्त्री पाएको छ । दोस्रो संसदमा पनि संख्याको हिसाबले हामी कम छाैँ । अर्को कुरा के हो भने यति बेला सुदूरपश्चिम मात्रै एउटा यस्तो प्रदेश हो । जहाँ एमाले संस्थापन पक्षको बहुमत छैन । माधव नेपाल पक्षमा उभिएका एमालेको संसदीय दललाई अब फुटाउने, टुटाउने, तान्ने, लोभ्याउने, थर्काउने, कारबाही गर्ने यस्ता सबै अस्त्र प्रयोग भयो ।

ओली पक्षले आफ्नो पक्षमा बहुमत पुर्याउने प्रयास भइरहेको नै छ । अहिले धेरै जटिल खालको अवस्था एमालेभित्र छ । यो अवस्थामा जति सरल ओलीलाई आफ्नो मान्छे जोगाउन र टिकाउन छ, त्योभन्दा धेरै गाह्रो माधव नेपाल पक्षलाई छ । हामीले नेपाल पक्षका नेताको जटिलता, बाध्यताहरू बुझिदिनु परेको थियो । उहाँहरुको पनि आग्रह थियो । त्यसैले यस्तो भएको हो ।

मन्त्रिपरिषद् गठन हुँदा पार्टीमा छलफल भएको थिएन ?

छलफल केही पनि नभएको भन्ने होइन । अलिअलि त भएको हो । तर, जुन स्तरमा छलफल हामीले अपेक्षा गरेका थियाैँ र जुन स्तरको बहस छलफल हुनु पर्दथ्यो, सामुहिक विवेक प्रयोग गरेर हरेक विषयलाई विवेचना गरेर जुन निष्कर्षमा पुग्नु पर्ने थियो, त्यो स्तरमा भएको होइन ।

माओवादी सुदूरपश्चिम प्रदेशमा इन्चार्जविहीन छ, त्यसैले पनि विवाद देखिएको हो कि ?

अहिले देशभरिमा एमाले र माओवादी केन्द्र पुर्नजीवित भएपछि तत्कालीन माओावादी केन्दको धेरै ठाउँमा नेतृत्वविहीन छ । नेतृत्व चयन गर्ने, कमिटीलाई पूर्ण गर्ने, संगठनलाई कुन प्रकारको सिद्धान्तमा लैजाने र कुन प्रकारको विधि प्रक्रियाद्वारा सञ्चालन गर्ने, कुन मान्यताका साथ त्यसलाई अगाडि बढाउने, कुन नीति-विधिका रुपमा टुंगाउनु पर्ने र प्राविधिक रुपमा पार्टीका कमिटीलाई पूर्ण गर्ने कुरा देशव्यापी नै बाँकी छ ।

हामीले के भनेका छौँ, भने यो ढिलो भयो । जति ढिलो हुन्छ त्यति नै पार्टीलाई घाटा हुन्छ । छिटोभन्दा छिटो पार्टीका सबै स्थानीय तहदेखि केन्द्रीय समितीसम्मका सबै संरचनालाई त्यसका जनशक्तिको हिसाबले पनि कुन कुनलाई पूर्णता दिनुपर्छ त्यसलाई पूर्णता दिनुपर्छ । हाम्रो पहिचानलाई पुर्नस्थापना हुने गरी र जनताको लोकप्रियता, विश्वासनियता हाम्रो पार्टीमा हुने गरी दिनुपर्छ । लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशतालाई संस्थागत गर्ने गरी त्यसको रक्षाका लागि लड्ने गरी हामीले संगठन निर्माण गर्नु पर्छ । हामीले सुझाव दिएका थियाैँ । पार्टीलाई कस्तो बनाउने भनेर पार्टी अध्यक्षले सोधेका प्रश्न हामी कहाँ आएको छ । निर्णायक प्रक्रियामा जाने हो भने अझै पनि पार्टी जीवित हुन्छ ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा नयाँ इञ्चार्ज कसले पाउने सम्भावना रहेको छ ?

मलाई थाहा भएसम्म अहिलेसम्म कुनै व्यक्तिमा ठोस प्रकारको बहस छलफलल भएको छैन । नेतृत्व गर्ने गरी आकांक्षा देखाउनु भएका साथीहरु हुनुहुन्छ होला । तर, कसलाई दिने भन्ने केही पनि भएको छैन । हाम्रो सुदूरपश्चिमको हकमा मात्रै हुने कुरा पनि होइन । एकमुष्ट देशव्यापी रुपमा हुने कुरा हो । त्यो त कुनै व्यक्ति विशेषले गर्ने कुरा पनि होइन । यो पार्टी स्थायी कमिटीको औपचारीक बैठकबाट निर्णय गर्ने कुरा हो ।

कमिटीको औपचारिक बैठक बसेको छैन । यदि, बसैको छ भने पनि तत्कालीन कुनै विषयमा मात्र बसेको छ । केन्द्रीय कमिटीको बैठक अथवा स्थायी कमिटीको बैठकमा यो विषयमा छलफल हुन्छ । त्यसपछि मात्रै थाहा हुने हो ।

विगतमा लेखराज भट्ट माओवादीमा हुँदा पनि तपाईंहरूबीच अन्तरविरोध देखिएका थिए । अहिले लेखराज एमालेमा गएसँगै अन्तरविरोध त छैन होला नि ?

त्यस्तो केही छैन । विवादमा हाम्रो दुस्मनीपूर्ण भन्ने केही थिएन । विषय र परिघटनाप्रतिका हाम्रो बुझाईमा सम्झदारीमा केही भिन्नता अवश्य पनि रहेका हुन् । अब त्यो एउटा काल खण्डको कुरा भयो । यो हुनु पर्दथ्यो वा हुनु हुँदैन थियो । अब त्यसको समीक्षा गरेर केही हुँदैन । आगामी दिनमा त्यो घटनाबाट के पाठ सिक्ने भन्ने मुख्य कुरा हो ।

अन्तमा केही भन्न चाहनु हुन्छ कि ?

पहिलो कुरा पार्टीको विधि, विचार, जनस्तरमा वास्तविक रुपले भिन्न ढंगले जानुपर्छ । माओवादी नेतृत्व र माओवादी पार्टीको बारेमा जुन नकरात्मक बिम्ब अहिले बनेका छन् । ती बिम्बहरुलाई चिर्ने गरी जानु पर्छ । माओवादी पार्टीलाई अझै पनि जनस्तरमा लोकप्रिय बनाउनु पर्छ । सुदृढ, गतिशिल, व्यवस्थित जुझारु बनाउन हाम्रा कार्य दिशा, कार्य योजनाहरु केन्द्रीत गर्नु पर्छ ।

यो पनि पढ्नुहोस्

ओलीलाई चुनौती दिँदै नेपाल पक्ष

हरि भट्ट

मेरोन्यूजकर्मी हरि भट्ट राजनितिक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया