आइतबार, जेठ ६, २०८१

कोरोना संक्रमण दर घटेकै हो त ?

सञ्जिता खनाल २०७८ जेठ २० गते १९:४७

काठमाडौं । नेपालमा पछिल्लो एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमित थपिने भन्दा निको हुनेको दर बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार जेठ १४ देखि २० गतेसम्म ३८ हजार ७९६ कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

सो अवधिमा १ लाख २३ हजार ९२८ नमूना परीक्षण गर्दा ३८ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको छ । कुल परीक्षणको ३१ प्रतिशतमा संक्रमण देखिएको छ । सोही अवधिमा ४८ हजार ६३८ संक्रमणमुक्त भएका छन् । ६७९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

कुन दिन कति संक्रमित थपिए
मन्त्रालयका अनुसार जेठ १४ गते ६ हजार ९५१, १५ गते ४ हजार ४८७, १६ गते ४ हजार ३६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी जेठ १७ गते ४ हजार ७६२, १८ गते ६ हजार ८५, १९ गते ५ हजार ३१६ र २० गते ५ हजार ९०४ संक्रमित थपिएका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

एक सातामा ४८ हजार ६३८ संक्रमणमुक्त
मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा ४८ हजार ६३८ जना कोरोनामुक्त भएका छन् । संक्रमित थपिनेको संख्याभन्दा निको हुनेको संख्या ९ हजार ८४२ ले बढी छ ।

जेठ १४ गते ९ हजार ४१, १५ गते ६ हजार ८०, १६ गते ६ हजार २०५, १७ गते ६ हजार ४९१, १८ गते ६ हजार ८९८, १९ गते ७ हजार २१९ जना र २० गते ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना निको हुने संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । यो कुल संक्रमणको ८१ प्रतिशत हो । हाल विभिन्न अस्पताल तथा आइसोलेसनमा १ लाख १३९ सक्रिय संक्रमित छन् ।

संक्रमण घटेको भन्न मिल्दैन– प्रवक्ता पौडेल
मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल अहिले नै कोरोना संक्रमण घटेको भन्न नसकिने बताउँछन् । पिसिआर परीक्षण घट्दा संक्रमितको संख्या कमी आएको छ ।

उनी भन्छन्– ‘सातै प्रदेशमा तीव्र परीक्षणका लागि एन्टिजेन किट पठाइएको छ तर त्यसको रिपोर्टिङ राम्रोसँग भएको छैन ।’ मन्त्रालयले सातै प्रदेशमा करिब ११ लाख एन्टिजेन टेष्ट किट पठाएको छ ।

एक सातामा झण्डै ७ सयको मृत्यु
पछिल्लो एक साता कोरोनाबाट ज्यान गुमाउनको संख्यामा केही कमी देखिएको छ । जेठ १४ देखि २० गतेसम्म ६७९ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।

जेठ १४ गते ९६, १५ गते ११६, १६ गते १०९, १७ गते ११४, १८ गते ६४, १९ गते १०१ र २० गते ७५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाकै कारण ७ हजार ६३० नेपालीले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्युदर १.३२ प्रतिशत छ ।

अघिल्लो साता अक्सिजन अभाव हुँदा मृत्युदर बढेको विज्ञहरु बताउँछन् । अक्सिजनको समस्या घटेसँगै मृत्युदर पनि ओरालो लागेको उनीहरुको भनाइ छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया