शुक्रबार, चैत १६, २०८०

काठमाडौँ महानगरद्वारा आजदेखि पुनः एन्टिजेन परीक्षण सुरु

मेरोन्यूज २०७८ जेठ २० गते १४:५३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।

यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरको भनाइ छ ।

कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षणलाई निरन्तरता दिन लागिएको हो । लक्षित समूहमा पर्ने वा संकामा रहेका सबै व्यक्तिलाई आफूलाई पायक पर्ने केन्द्रमा गएर परीक्षण गराउन महानगरपालिकाले आग्रह गरेको छ ।

कोरोनाको संका भएका जो–कोहीले महानगरका ३२ वडामध्ये कुन वडामा जानकारी गराउन सहज हुन्छ, सोही वडामा जानकारी गराउनु पर्नेछ । जानकारी अनुरुप परीक्षण टोलीले नजिकको परीक्षण केन्द्रबाट जाँच गर्ने व्यवस्था गरिएको छ । यसअघि यही जेठ १४ देखि १८ गतेसम्म विशेष अभियान नै सञ्चालन गरेर ५० हजारको परीक्षण गर्ने लक्ष्य लिइएको महानगरपालिकामा पाँच हजार ७६० जनाले मात्र परीक्षण गरेका थिए ।

त्यसमा ४७९ को रिपोर्ट पोजेटिभ आएको तथ्यांकमा उल्लेख गरिएको छ । ठूलो समूहमा परीक्षण गर्ने भने पनि सोही समयमा बन्दाबन्दी कडा बनाइएकाले सोचेअनुरुप परीक्षण हुन नसकेको विभागको भनाइ छ । यसका लागि महानगरपालिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग सहकार्य गरेको थियो । रासस

Advertisement

प्रतिक्रिया