आइतबार, जेठ ६, २०८१

कोरोना संक्रमितलाई औषधि अभाव, पर्याप्त औषधि भएको अस्पताल प्रमुखको दाबी

मेरोन्यूज २०७८ जेठ १८ गते १७:०५

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका बिरामीका लागि चाहिने औषधि हुम्ला जिल्ला अस्पतालमा अभाव भएको छ । अस्पतालमा नयाँ खरिद गरेर आउनु पर्ने औषधि नआएपछि अभाव भएको हो ।

Advertisement

सोमबार एन्टिजेन किटबाट कोरोना परीक्षण गरी कोरोना पुष्टि भएका एक जना बिरामीका आफन्त दिनेश बोहराले अस्पतालमा औषधि नपाएको गुनासो गरे । कोरोना संक्रमण भएपछि बिरामीका लागि आवश्यक पर्ने औषधि बाहिरको निजी फार्मेसीबाट एक हजार दुई सयमा किनेर लिएर काम चलाएको उनले बताए ।

सोमबार अस्पतालमा कोरोना परीक्षण गरेर पुष्टि भएका अन्य तीन जनाको अवस्था पनि उस्तै छ । जाँचपछि चिकित्सकले औषधिको सिफारिस गरे पनि अस्पतालमा औषधि नपाएर बजारमा रहेका निजी मेडिकलबाट किन्नु पर्ने अवस्था रहेको उनले बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बजारमा फैलिएको हल्लाजस्तो नभएको बताउँदै आइसोलेशनमा बसेका कोरोना संक्रमित बिरामीका लागि केही औषधि अभाव भए पनि अरु औषधि प्रर्याप्त रहेको दाबी गरे ।

“पुरानो केही औषधि सकिएको छ”, उनले भने, “नयाँ खरिद गरेको औषधि नेपालगञ्जमा आइपुगेकाले अबको दुई, चार दिनमा जिल्ला अस्पतालमा अभाव भएको औषधि पाइनेछ ।”

प्रतिक्रिया