आइतबार, जेठ ६, २०८१

नेपालमा पनि कोरोना निको भएका झन्डै एक दर्जन जनामा ब्लाक फङ्गलको संक्रमण,

काठमाडौं लगायत ठुला शहरमा फैलदैं, स्वास्थ्य मन्त्रालय औषधिको खोजीमा

सञ्जिता खनाल २०७८ जेठ १८ गते १०:४३

काठमाडौं । नेपालमा पछिल्लो समय कोभिड–१९ निको भएका बिरामीहरुमा (म्यूकोर्माइकोसिस) ब्लाक फङ्गलको संक्रमणको समस्या बढ्दै गएको छ ।

Advertisement

चिकित्सकहरुका अनुसार कोरोना निको भइसकेका मधुमेह र रोग प्रतिरोधक क्षमता कम भएकामा यो संक्रमण देखिन थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको ब्लाक फङ्गलको सङ्क्रमण नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा पुष्टि भएको विवरण आएको जानकारी दिए ।

वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गलसको संक्रमण देखिएको थियो । डा. पौडेलका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाडौंलगायत विभिन्न ठाउँका अस्पतालहरुबाट कालो ढुसी (म्यूकोर्माइकोसिस) को सङ्क्रमणका विवरणहरू आएका हुन् ।

“पहिलो पटक वीरगञ्जमा देखा परेको यो संक्रमण अहिले काठमाडौं र बांकेका अस्पतालहरुमा पनि देखिएका छन्,” उनले भने “वीर अस्पताल, त्रिवि शिक्षण र नर्भिक अस्पतालमा यसको संक्रमण देखिएको सूचना पाएका छौं । बाँकेको भेरी अस्पतालमा ३ जनामा पनि यो संक्रमण देखिएको जानकारी आएको छ ।”

भारतमा ’ब्ल्याक फङ्गलस’ का ९ हजार भन्दा बढी सङ्क्रमित भएको विवरण केही दिनअघि मात्र सार्वजनिक भएको थियो ।

चिकित्सकहरुका अनुसार गम्भीर प्रकृतिका कोभिडका बिरामीहरुले सुनेकै भरमा स्टेरोइड वा एन्टिबायोटिक औषधिको आफुखुसी सेवन गर्दा कोरोना निको भएपछि ’ब्ल्याक फङ्गलस’ देखा पर्ने सम्भावना हुने बताउँछन् ।

नारायणी अस्पतालका फिजिसियन डा. निरज सिंहले वीरगञ्जमा हालसम्म तीन जनाको परीक्षण गर्दा दुई जनामा ब्लाक फङ्गलको संक्रमण देखिएको जानकारी दिए ।

मन्त्रालय औषधिको खोजीमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय म्यूकोर्माइकोसिस) ब्लाक फङ्गलको संक्रमणको औषधि खोजिमा लागेको छ ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार अहिले देखिएको ब्लाक फङ्गलका बिरामीहरुलाई कालाजारको बिरामीमा प्रयोग हुने औषधि नै प्रयोग हुन्छ ।

चिकित्सकहरूका अनुसार ब्लाक फङ्गलका सङ्क्रमितको उपचारमा मुख्यतया ’एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गर्ने गरिएको छ ।

स्वास्थ्य सेवा विभागमार्फत १० हजार भाएल उपलब्ध गराउन भनिएको थियो । विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ) सँग तत्काल आकस्मिक प्रयोग गर्नका लागि ३ हजार भाएल माग गरिएको थियो तर संगठनले तत्कालका लागि पहिलो लटमा १ हजार भाएल ५ तारिक पठाउँने जानकारी दिएको उनले मेरोन्युजलाई जानकारी दिए ।

“उक्त औषधि हामीसँग अलि कम नै छ । अहिले पनि चुनौतीपूर्ण नै छ । हामीले डब्ल्यूएचओको संयन्त्रबाट माग गरेका छौँ। जुन महिनाको ५ तारिखसम्म आइपुग्ने छ ।”

अहिले केही निजि कम्पनीसँग भएको औषधि अस्पतालहरुले प्रयोग गरिरहेको डा. पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म बजारमा उपलब्धबाट काम चलाइँदै आएको भए पनि पछिल्लो समय भारतले निर्यातमा रोक लगाइदिएपछि समस्या भएको छ ।

उनले भने,“जसरी कोरोना संक्रमितको निगरानी ,उपचार र रोकथामका लागि ’प्रोटोकल’ बनाएका छौ , त्यसलाई सर्भेलन्समा राख्ने राख्छौँ ।”

नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको सङ्गठनले भने रोकथाम र व्यवस्थापनसम्बन्धी एउटा एड्भाइजरी प्रकाशित गरिसकेको छ ।

कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ’अवसरवादी’ ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ।

भिजेको वा चिसो मास्कको प्रयोग नगर्न र एउटै माक्स पटक पटक प्रयोग गर्ने बानी तत्काल त्याग्नुपर्ने डा. पौडेलको सुझाव छ ।

मेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार म्युकोरमाइकोसिस एउटा गम्भीर तर दुर्लभ ढुसी (फंगस) को संक्रमण भनि उल्लेख गरिएको छ ।

रेटिना विशेषज्ञ डा. सञ्जिब भट्टराई भन्छन् “कोभिडले हाम्रो इम्यूनिटी (प्रतिरोध क्षमता) घटाइरहेको छ,त्यसमाथि सिकिस्त बिरामीलाई स्टेरोइड चलाइँदा रोगसँग लड्ने क्षमता अझै घट्न जान्छ ।”

कोरोना निको भएर व्यक्तिमा नाकमाथिको छाला कालो देखिने, रातो हुने र आँखा खोल्न गाह्रो हुने समस्या देखिए तुरुन्तै अस्पताल जान उनको सुझाव छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया