एमाले स्थायी कमिटी बैठक २ पटक किन भयो स्थगित ?
लुम्बिनी प्रदेशको उप निर्वाचनमा असर पुग्ने भएकाले बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक दुईपटक स्थगित भएको छ । पार्टीले आइतबार बोलाएको बैठक पहिलोपटक सोमबारका लागि सारिएको हो ।
यस्तै, सोमबार बिहान बस्ने भनिएको बैठक मंगलबारका लागि बोलाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक आइतबार साँझ ५ बजे स्थायी कमिटीको बैठक बोलाएका थिए ।
आज बैठक बस्न नसकेपछि मंगलबार बिहान ११ बजे बैठक बोलाएको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसैबीच उनले दुईपटक बैठक स्थगित हुनुलाई चासोका साथ हेरिएको बताए ।
एमाले स्थायी कमिटी सदस्य रघुवीर महासेठले लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभाको उप निर्वाचनका कारण बैठक स्थगित भएको जानकारी दिए । उनले निर्वाचनका कारण नै स्थायी कमिटीको बैठक स्थगित भएको मेरोन्यूजलाई जानकारी दिएका हुन् ।
पार्टीले सोधेको स्पष्टीकरण नदिएको, पार्टीको विधानविपरीत काम गरेको भन्दै वरिष्ठ नेता मावध नेपाल, झलनाथ खनालसहित १२ जनालाई पार्टीबाट निष्कासन गरिसकेको अवस्थामा नेपाल पक्षका ११ नेतालाई थप कारबाही गर्ने बुझिएको छ । यसैबीच उप निर्वाचनमा यसको असर पर्ने भन्दै पार्टीको बैठक सारिएको हो । पार्टीले कारबाही हुन बाँकी भएका नेपाल पक्षका नेताहरूलाई स्पष्टीकरण सोधिसकेको छ ।
यसअघि पार्टीको कारबाहीमा परेका नेपालसहितका चार नेतालाई पार्टीभित्रको विवाद मिलाउन कारबाही फिर्ता लिएको थियो । तर, पार्टीको हितविपरीत अध्यक्षलाई प्रधानमन्त्रीमा समर्थन गर्न छाडेर कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको आरोपमा पार्टीबाट निष्कासन गरेको हो ।
पार्टीले नेता घनश्याम भुषाल, सुरेन्द्र पाण्डेसहित ११ नेतालाई स्पष्टीकरण सोधेको छ । उनीहरुको कारबाहीलाई लिएर पटकपटक स्थायी कमिटी बैठक सारिएको हो ।
लुम्बिनी प्रदेशमा एमाले ओली पक्ष र विपक्षी गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल नेपाल पक्ष र राष्ट्रिय जनता पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष)को प्रतिस्पर्धा हुँदै छ ।
प्रतिक्रिया