बिहीबार, जेठ ३, २०८१

एनआरएनएले साङ्गीतिक रियालिटी शो ‘एनआरएन द सिङ्गर’ शुरु गर्दै

मेरोन्यूज २०७८ जेठ १६ गते ६:५२

लण्डन । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ ।

Advertisement

प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र सार्क मुलुकबाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।

शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले भने, “एनआरएनए स्थापनाको प्रमुख उद्देश्यमध्ये प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्दन तथा जगेर्ना गर्नु पनि एक हो ।

यो कार्यक्रम त्यसतर्फ एक कोसेढुङ्गा हुने मैले विश्वास लिएको छु ।” उनले कार्यक्रमलाई सफल पार्न सहयोगका लागि सबैलाई आग्रह गरे । एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीको मूल पहिचान भएकाले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए ।

त्यस्तै वरिष्ठ सङ्गीतकार बाँस्कोटाले आफूले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको भन्दै यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभाहरु जन्मने विश्वास व्यक्त गरे ।

उनले सन् १९८७ मा प्रज्ञा प्रतिष्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी शो शुरु गरेको स्मरण गरे । उनले एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र सङ्गीतका माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गरे ।

एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले नेपालमा बढिरहेको कोरोना सङ्क्रमणप्रति एनआरएनए निकै चिन्तित र संवेदनशील रहेको बताए ।

उनले यो अवस्थामा नेपालमा रहेका सारा आफन्त नेपालीको जीवन रक्षार्थ प्रवासमा एनआरएनएले सक्दो सहयोग सङ्कलन गरी नेपालमा सहयोग पनि पठाइसकेको जानकारी दिए ।

प्रतियोगिताको मूल आयोजक एवं संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले लामो तयारी गरेर कार्यक्रम सार्वजनिक गरिएको बताए ।

प्रतिक्रिया