शुक्रबार, वैशाख ७, २०८१

संविधानमाथि प्रहार गर्नेलाई बिदा गराैं – नेता सिंह

मेरोन्यूज २०७८ जेठ १५ गते १६:३६

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताकाे संघर्षबाट प्राप्त संविधानमाथि प्रहार गर्नेलाई बिदा गर्ने संकल्प गर्न आग्रह गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्रकाे संस्थागत विकासमा जुट्न सबैमा आह्वान गरेका छन् ।

आज जेठ १५ । नेपाली जनताको लामो संघर्ष र बलीदानीको जगमा गणतन्त्र घोषणा भएको दिन । गणतन्त्र दिवस मनाइरहँदा आज हामी एकातिर कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छौं, अर्काेतिर गणतन्त्र मार्फत संस्थागत हुँदै गरेको संविधान माथिको प्रहार विरुद्ध संघर्षमा उत्रनु परेको छ । गणतन्त्रमार्फत जनताका छोराछोरी देशको अभिभावक बनायौं । तर, आज राष्ट्रपति र प्रधानमन्त्रीकै गलत भूमिकाका कारण गणतन्त्र, संघीयता, समावेशीता नै संकटमा परेको छ । नेपाली जनता कोरोना महामारीमा रहेका बेला वर्तमान सरकारको प्राथमिकतामा जनताको जीवन रक्षाको विषय परेन । संविधानको पालक (राष्ट्रपति) र कार्यान्वयनको मूल दायित्व रहने प्रधानमन्त्रीका पछिल्ला असंवैधानिक कदमले देशलाई अनिश्चयको अँध्यारो सुरूङतर्फ धकेलेको छ । हिजो गणतन्त्रका लागि लडेका सबै शक्ति पुनः एकपटक जनताको मतबाट निर्वाचित प्रधानमन्त्रीको स्वेच्छाचारी कदमकाविरूद्ध गणतन्त्र, संविधान र संसदको रक्षार्थ राजनीतिक र कानुनी रूपमा प्रतिवादमा उत्रिएका छौं । निश्चित छ, गणतन्त्र र परिवर्तनका एजेन्डा विरोधी शक्तिलाई नेपाली जनताले छिट्टै परास्त गर्नेछन् । अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैया अभावमा छट्पटाइ रहेकाहरूलाई मतपत्र थमाउँछु, भन्ने अविवेकी शासकको जति निन्दा गरेपनि कम हुन्छ । यो महामारीको बेलामा हामीलाई जनताको जीवन बचाउन होइन मत माग्न जाऊ भन्नु कुन मानवीयताले दिनसक्छ ? आज गणतन्त्र दिवसका दिन हामीले फेरि एकपटक, लामो संघर्षको प्रतिफल संविधानमाथि नै प्रहार गर्नेहरूलाई विदा गर्ने संकल्प गरौं । सबैमा गणतन्त्र दिवसको शुभकामना । कोरोना महामारीबाट बच्न र असंवैधानिक कदमको कडा प्रतिवाद गर्न सबैमा फेरि पनि हार्दिक अपिल गर्दछु । बाचौं र बचाऔं जय नेपाल प्रकाशमान सिंह, नेपाली कांग्रेस

प्रतिक्रिया