शनिबार, वैशाख ८, २०८१

राष्ट्रपति बाइडनले सार्वजनिक गरे आफ्नो पहिलो बजेट

मेरोन्यूज २०७८ जेठ १५ गते १२:३०


काठमाण्डौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ६० खर्ब डलर खर्च योजना रहेको आफ्नो पहिलो वार्षिक बजेट सार्वजनिक गरेका छन् ।

उनको योजनामा सम्पन्न अमेरिकीहरुले तिर्नुपर्ने करको दर निकै बढाइएको छ । त्यस्तो एउटा ठूलो प्रस्तावमा ठूला सामाजिक कार्यक्रम र जलवायु परिवर्तन विरुद्धमा लगानी गरिने उल्लेख छ । सो बजेट अमेरिकी संसद् कंग्रेसबाट पारित हुनुपर्ने नियम छ ।

रिपब्लिकन पार्टीका सिनेटर लिन्ड्से ग्राहमले बाइडनको योजनालाई अनावश्यक महँगो भनेर आलोचना गरेका छन् । उक्त योजना अन्तर्गत ऋणभार सन् २०३१ सम्ममा कुल ग्राहस्थ्य उत्पादन जीडीपीको ११७ प्रतिशत पुग्ने अनुमान छ । यो दोस्रो विश्वयुद्धताकाको भन्दा बढी रहेको अन्तराष्ट्रिय समाचार संस्था बिबिसिले जनाएको छ ।

त्यस्तो अवस्था कम्पनीका लागि प्रस्तावित करवृद्धिको कम्तीमा ३० खर्ब डलर, पुँजीलाभ र मुख्य आयकर सहायता आउने छ । रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पदमा रहँदा पनि बर्सेनि ऋणभार बढेको थियो । उनको अन्तिम वार्षिक खर्च प्रस्ताव ४८ खर्ब डलरको थियो ।

बाइडनको बजेटमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र अन्य सरकारी निकायका लागि १५ खर्ब डलर चालु खर्च समाविष्ट छ । बजेटमा यसअघि उनले चर्चा गर्ने गरेका २३ खर्ब डलरको रोजगारी योजना तथा १८ खर्ब डलरको परिवारसम्बन्धी योजना छन् ।

डेमोक्र्याट राष्ट्रपति बाइडनले आफ्नो बजेटले अमेरिकी नागरिकमा सीधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने एवं दीर्घकालीन वित्तिय अवस्थालाई सुधार्ने बताएका छन् ।

ह्वाइटहाउसले यो प्रस्तावबाट अर्थतन्त्रलाई तल्लो तहबाटै उकास्न सहयोग पुग्ने अपेक्षा गरेको छ । ८०० अर्ब डलरभन्दा बढी रकम जलवायु परिवर्तनविरुद्धको लडाइँ एवं स्वच्छ ऊर्जामा लगानी बढाउन लगाउने योजना छ । यस्तै २०० अर्ब डलर तीन र चार वर्षका बालबालिकाका लागि निःशुल्क प्री–स्कूलका लागि तोकिएको छ ।

१०९ अर्ब डलर सबै अमेरिकीको लागि दुईवर्षे निःशुल्क सामुदायिक कलेजका लागि रहेको छ । २२५ अर्ब डलर परिवारहरूलाई भत्ता दिने एउटा राष्ट्रिय कार्यक्रम र चिकित्सकीय बिदासम्बन्धी कार्यक्रममा खर्च गरिनेछ जसले अमेरिकालाई तुलनात्मक समृद्ध राष्ट्रको तहमा ल्याउने योजना छ ।

११५ अर्ब डलर सडक र पुलहरूका लागि एवं १६० अर्ब डलर सार्वजनिक यातायात र रेलसेवाका लागि र १०० अर्ब हरेक अमेरिकी घरधुरीमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच सुधार गर्न छुट्टाईएको बिबिसिले जनाएको छ ।

प्रतिक्रिया