बुधबार, मंसिर २०, २०८०

१४औं गणतन्त्र दिवश

जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन राष्ट्रपति भण्डारीको आग्रह

मेरोन्यूज २०७८ जेठ १५ गते ८:२२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् ।

चौधौं गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सरकारले विभिन्न जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै गणतन्त्र दिवस मनाउन आग्रह गरेकी हुन् ।

उनले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिंदै पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

सार्वभौम संविधान सभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने उनको विश्वास छ ।

राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपति पुनले अपिल गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पनि गणतन्त्र दिवशको अवसरमा शुभकामना दिएका छन् ।

प्रतिक्रिया