बिहीबार, चैत १५, २०८०

आर्थिक वृद्धि केही कम हुन सक्छ : अर्थमन्त्री

मेरोन्यूज २०७८ जेठ १४ गते १४:४२

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको यसअघि प्रक्षेपण गरिएको भन्दा केही कम हुने प्रक्षेपण गरेको छ । आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको तेस्रो त्रैमासपछि उत्पन्न असहज परिस्थितिका कारण आर्थिक वृद्धिदर अपेक्षाभन्दा कम हुने प्रक्षेपण सार्वजनिक गरेका हुन् ।


केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा ४.२ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । फागुनसम्मको तथ्यांकको आधारमा यो अनुमान गरिएको भए पनि अहिले परिस्थिति फेरिएकाले आर्थिक वृद्धि कमजोर हुने अर्थ मन्त्रालयको भनाइ छ ।


अर्थ मन्त्रालयले आर्थिक वृद्धिदर कति हासिल हुन्छ भन्ने नयाँ अनुमान भने सार्वजनिक गरेन । चालु आर्थिक वर्षको दसौँ महिना अर्थात वैशाखपछि लकडाउन हुँदा आर्थिक क्रियाकलाप ठप्प छन् । यसले आर्थिक वृद्धिदरमा गम्भीर धक्का पर्ने सरकारी अनुमान छ ।
चालु आर्थिक वर्षमा १८ प्रतिशतले लगानी बढेको अर्थमन्त्री पौडेलले बताए । कूल गार्हस्थ उत्पादनमा बचतको अनुपात ६ प्रतिशत पुगेको पनि आर्थिक सर्वेक्षणमार्फत सार्वजनिक गरेका छन् ।


कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान २५.८ प्रतिशत, उद्योगको योगदान १३.२ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१.२ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा धानको उत्पादन १.३ प्रतिशतले बढेको छ । यो वर्ष कूल गार्हस्थ उत्पादनको आकार ४२ खर्ब ६६ अर्बको रूपैयाँ पुगेको छ ।


अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले चालु खाता घाटा नियन्त्रित अवस्थामा नै रहेको बताएका छन् । उनले आर्थिक सूचकांक फागुनसम्मको अवस्थामा सकारात्मक रहेको भए पनि कोभिडको दोस्रो लहरले समस्या र चुनौती थपेको बताए । उनले त्यसबाहेक अन्य परिसूचक सबल रहेको उल्लेख गरे ।

Advertisement


“हाम्रो वैदेशिक व्यापार, राजस्व संकलन र खर्चको पाटोमा कम्फर्टेबल जोनमा छौं,” उनले भने ।

यो पनि पढ्नुहोस्

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्दै

प्रतिक्रिया