शुक्रबार, वैशाख १४, २०८१

अर्थमन्त्रीनिकट नेता रावतले गरे कोभिड अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण

मेरोन्यूज २०७८ जेठ १४ गते १२:५६

काठमाडौं । बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले नेकपा (एमाले)का लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङका नेता मन बहादुर राउतसहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नेता राउतसहित दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ११ उरहरीका भरत रावत र लोकराज रावतलाई पक्राउ गरेको हो । लुम्बिनी प्रदेश कमिटी सदस्य तथा अर्थमन्त्री विष्णु पाैडेलनिकट दाङका नेता रहेका राउतकै नेतृत्वको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि मध्य राति आक्रमण गरेको बताइएको छ ।

बिहीबार कोरोना संक्रमित ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा निधन भएको थियो । उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्समाथि आक्रमण गरेका थिए ।

कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित ४ जनाले एक तला माथिबाट हामफालेर ज्यान बचाएका थिए । अहिले दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सक एवं कर्मचारीहरूले भेरी अस्पतालमा आन्दोलन गरेका छन् ।

उनीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म र दोषीलाई कारबाही नभएसम्म नयाँ बिरामी भर्ना लिन नदिने अडान लिएर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया