मंगलबार, वैशाख ११, २०८१

आजदेखि जेठ २० गतेसम्म निषेधाज्ञामा थप कडाइ, उल्लंघन गरे जरिवाना

मेरोन्यूज २०७८ जेठ १४ गते ७:२५

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै काठमाडौंमा लगाइएको निषेधाज्ञामा आजदेखि थप कडाइ हुने भएको छ । आजदेखि जेष्ठ २० गतेसम्म निषेधाज्ञाको उल्लंघन गर्नेलाई कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश २०७८ बमोजिम नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।
आजदेखि अत्यावश्यक सेवाबाहेक अन्य कामका लागि आवतजावत पूर्ण रूपमा रोक लगाइएको छ । मास्क नलगाउनेलाई १ सय र अर्को पटक पनि नलगाएको पाइए पटकैपिच्छे २ सय रुपैयाँ जरिवाना तिर्नुपन जिल्ला प्रसासनले जनाएको छ ।

विवाह र ब्रतबन्धको कार्यमा सात जनामा सीमित राखिएको छ भने त्यस्ता कार्यका लागि एउटा सवारीसाधनलाई मात्रै पास उपलब्ध गराइने भएको छ । तर यसअघि जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न निकायबाट जारी गरिएका पूराना पासहरूलाई रद्द गरिएको छ ।

त्यसैगरी, अत्यावश्यक हरियो तरकारी फलफूल र मासुजन्य पदार्थ, दूधलगायतका अत्यावश्यक खाद्य पदार्थ बिहान ९ बजेसम्म खरिद गर्न पाइने छ तर खाद्यान्न र किराना पसल, डिपार्टमेन्टल स्टोर, सार्वजनिक निर्माण र निजी निर्माणका काम गर्न रोक लगाइएको छ । निर्माण सामग्रीको ढुवानी पनि गर्न पाइने छैन ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा पनि कडाइ गर्दै वर्गीकरण गरेर संख्या तोकिएको छ । वित्तीयलगायत संस्थामा काम गर्ने कर्मचारीहरूका लागि बिहान ९ देखि साढे ९ र साँझ ५ देखि ६ बजेभित्र कार्यालय आउनेजाने समय तोकिएको छ ।

अनुमति नलिइ सवारी चलाएमा २ पाङ्ग्रे सवारीसाधनलाई २ हजार रुपैयाँ र चार पाङ्ग्रे सवारीसाधनलाई ५ हजार जरिवाना गर्नुको साथै संस्थालाई ५ लाख र व्यक्तिलाई १ लाखसम्म जरिवाना गर्ने र छ महिनासम्म सेवा बन्द गर्न सकिने पनि प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सयुक्त बैठकले थप कडाइ गर्दै एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । १६ वैशाखदेखि सुरु भएको निषेधाज्ञा २१ वैशाखमा थप गरेर १३ जेठसम्म पुर्‍याइएको थियो । उक्त बैठकले दुई दिनमा एक सातालाई पुग्ने खाद्यान्न किन्नका लागि समय तोकेको थियो । तर आजबाट भने कडा निषेधाज्ञा गरिने प्रजिअले बताएका थिए ।

प्रतिक्रिया