मंगलबार, वैशाख ११, २०८१

बढ्दै छ बलात्कारका घटना

पछिल्लो १० महिनामा १३ सय बालिका बलात्कृत

मनोविद् भन्छन्–कानूनी उपचारले मात्र बलात्कारका घटना न्यूनीकरण हुँदैन

दया दुदराज २०७८ जेठ १३ गते २१:१९

काठमाडौं । निर्मला पन्त, भागरथी भट्ट, सम्झना कामी नाम प्राय: सबैकाे मुखमा झुण्डिएकाे छ । निर्मला, भागरथी र सम्झना जो बलात्कारको सिकार भई मृत्युवरण गर्न पुगे ।

निर्मलाको बलात्कारपछि हत्या भएको झण्डै ३ वर्ष पूरा भयो तर कुनै अझै बलात्कारी पत्ता लाग्न सकेको छैन । गत २०७५ साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भयो । तर अझै पनि पीडित पक्षले उचित रुपमा न्याय पाउन सकेको छैन । निर्मलाको हत्यारा को हुन् ? कता छन् ? अझैपनि घटना रहस्यम बनिरहेको छ ।

२०७७ भदौमा बैतडी की १७ वर्षीया भगिरथी विद्यालयबाट घर फर्कदै गर्दा बलात्कारको सिकार भई मृत्युवरण गर्न बाध्य भइन् । प्रहरीको अनुसन्धानले अभियुक्तलाई पक्राउ गरेतापनि उचित रुपमा न्याय नपाइएको पीडित पक्षको गुनासो छ । बझाङ्की १२ वर्षीया सम्झना कामी जसलाई २०७७ साल असोज ७ गते मन्दिरभित्रै बलात्कार गरेर हत्या गरियो ।

नेपालमा बलात्कारका घटना दिनप्रतिदिन घटिरहेका छन् तर दोषी पत्ता लाग्न सकेका छैनन्, पत्ता लागेपनि कारबाहीको दायरामा आउन सकेका छैनन् । पीडितले न्यायको अनुभूति पाएका छैनन् ।

प्रहरीको छानबिनबाट दोषी देखिएका अभियुक्तहरु कानूनलाई गिज्याउँदै खुलेआम हिडिँरहेका छन् । राजनीतिको खोल ओडेर अभियुक्त त्यही समाजमा हिडिँरहेका छन् ।

बलात्कारको घटना बढ्दै
पछिल्लो ४ आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने बलात्कारको दरमा वृद्धि भएको पाइन्छ । आव २०७४/२०७५ मा १ हजार ४६८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । आव ०७५/७६ मा बढेर २ हजार २५४ वटा बलात्कारका घटनाहरु दर्ता भएको प्रहरीको तथ्याङ्कले दखाएको छ ।

आव २०७५/०७६ मा झण्डै ८०० वटा बलात्कारका घटना बढेको तथ्याङ्कले पुष्टि गर्छ ।

आव ०७६/०७७ मा २ हजार १६७ वटा बलात्कारका घटना दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव ०७७/७८को वैशाख मसान्तसम्म मात्रै २ हजार १३७ वटा बलात्कारका घटना दर्ता भएको छ ।

बालिका बढी प्रभावित
प्रहरीको तथ्यांकलाई हेर्ने हो भने बलात्कृत हुनेमा बालिकाको संख्या अधिक छ । आव ०७७/०७८ मा मात्रै १ हजार ३८८ बालिका र ७४८ महिला बलात्कृत भएका छन् ।

आव ०७६/०७७ मा १ हजार ३९३ बालिका र ७७१ महिला, आव ०७५/०७६ मा १ हजार ४२० बालबालिका र ८२४ महिला तथा आव ०७४/०७५ मा ८५१ बालबालिका र ५९८ महिला बलात्कृत भएका घटना प्रहरीमा दर्ता भएको देखिन्छ ।

पछिल्लो आवको आँकडालाई हेर्दा १० वर्षभन्दा मुनिका बालिका बलात्कृतका घटना २४२, ११ देखि १६ वर्ष सम्मको ८४४ र १७ देखि १८ वर्ष सम्मका ३०२ गरी जम्मा १ हजार ३८८ बालिका बलात्कारका घटना दर्ता भएका छन् ।

प्रदेश १ मा बलात्कारका घटना बढी
प्रदेश १ मा सबैभन्दा बढी बलात्कारका घटना दर्ता भएका छन् । चालु आवको वैशाख महिनासम्म मात्रै प्रदेश १ मा ५०७ वटा बलात्कारका घटना दर्ता भएको छ । प्रदेश २ मा ३०२, वाग्मतीमा २५१, गण्डकीमा १८२, लुम्बिनीमा ३६९, कर्णालीमा १२९ र सुदूरपश्चिम प्रदेशमा १९७ वटा बलात्कारका घटना दर्ता भएका छन् ।

आव ०७६/०७७ मा प्रदेश १ मा ४८५, प्रदेश २ मा २९२, वाग्मतीमा २५७, गण्डकीमा १६५, लुम्बिनीमा ३४९, कर्णालीमा १४२ र सुदूरपश्चिम प्रदेशमा २०३ वटा घटना दर्ता छन् ।

आव ०७५/०७६ मा प्रदेश १ मा ५८४, प्रदेश २ मा ३०२, वाग्मतीमा २३३, गण्डकीमा १८२, लुम्बिनीमा ३७४, कर्णालीमा १४२ र सुदूरपश्चिम प्रदेशमा १७२ वटा बलात्कारका घटना दर्ता भएका छन् ।

आव ०७४/०७५ मा प्रदेश १ मा ३८४, प्रदेश २ मा १७४, वाग्मतीमा १९२, गण्डकीमा ११८, लुम्बिनीमा २६२, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ८५ वटा बलात्कारका घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

बलात्कारका घटना किन बढे ?
बलात्कार जघन्य अपराध हो, बलात्कारका घटना बढ्नुका पछाडि धेरै कारण छन् । मानसिक समस्या, मानसिक असन्तुलन, प्रतिशोधको भावना, यौन ज्ञानको कमी, महिलाको उच्छृंखल क्रियाकलापले गर्दा समेत बलात्कारका घटना बढेको मनोविद्को भनाइ छ ।

मनोविद् गोपाल ढकाल भन्छन्, ‘सेक्स एडिक्सनका कारणले समेत बलात्कारका घटनाहरु बढ्छ ।’ ‘सेक्स एडिक्सन’ एक मानसिक समस्या हो जसले बलात्कार तथा यौन हिंसाका घटनामा मलजल गरेको छ ।

‘यो लत लागेको मान्छेले जसरी पनि आफ्नो सन्तुष्टि पूरा गर्न खोज्छ तर जस्तोसँग यौन सम्बन्ध राखेता पनी यौन चाहना हुँदैन’ उनी भन्छन्, ‘त्यो एडिक्कटेड व्यक्तिले कोसँग सम्बन्ध राख्दा ठिक होला त भनेर यौन चाहना मेटाउन धेरैसँग सम्बन्ध राख्छ तर चाहना मेटिदैन ।’

मनोविद् ढकालको समूहले गरेको एक सर्वेक्षणका अनुसार सानोमा यौन दुर्व्यवहारमा परेका व्यक्तिले समेत ठूलो भएर बलात्कारका घटना घटाएको पाइएको छ । उनी भन्छन्, ‘सानोमा यौन हिंसा, यौन शिक्षाको अभाव, सामाजिक सञ्जाल, ‘पोर्न साइट’को सहज पहुँचका कारणले समेत बलात्कारका घटनामा वृद्धि भएको छ ।’

न्यूनीकरणका लागि के गर्ने ?
कानूनले मात्रै बलात्कारका घटना न्यूनीकरण नहुने मनोविद्को धारणा छ । यस्ता घटनाहरु किन बढ्छन् भन्ने विषयमा सरोकारवालाले अध्ययन गर्न जरुरी छ । नेपालमा यस्ता खोजहरु भएको पाइँदैनन् ।

घटना न्यूनीकरणका लागि समाज र राज्य दुवैले ध्यान दिनुपर्ने हुन्छ । कानूनमा व्यवस्था गरिएको दण्ड र सजायले मात्रै बलात्कारका घटना निर्मूल हुन सक्दैन । कानूनी उपचारका साथै यौन शिक्षाका बारेका बुझाउनु वा ज्ञान दिनु दाज्य र समाजको दायित्व रहेको मनोविद् ढकाल औँल्याउछन् ।

उनी भन्छन्, ‘दण्ड र सजाय मात्र ठूलो होइन, पछिल्लो समय मृत्युदण्डका कुरा आएका छन् । तर ती विषयले अपराधलाई कम गर्न सकिदैन । धेरै देशहरु छन् जहाँ मृत्युदण्ड दिइन्छ तर त्यहाँ पनि बलात्कारको घटना अन्त्य भएका छैनन् ।’

बलात्कारका घटना न्यूनीकरणका लागि कानूनी उपचारका साथै यौन शिक्षालाई प्रभाकारीरुपमा लक्षित वर्गसम्म लैजानुपर्ने उनको मत छ ।

‘साइको सेक्स्युयल डिसअडर कारण हुने यौन गडबढीका कारणले गर्दा समेत मान्छेले अपराध गरिरहेको हुन्छ । यस्ता रोगका बारेमा पत्ता लगाएर समाधान गर्न आवश्यक छ’, मनोविद् ढकाल भन्छन्, ‘बलात्कारका घटना मुलतः समाजमा महिलालाई हेर्ने दृष्टिकोणका कारणसमेत बढ्ने हुँदा दृष्टिकोण परिवर्तन गर्नु अपरिहार्य छ ।’

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया