बुधबार, वैशाख १२, २०८१

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाले सयौंपटक घुस लिएको आरोप

मेरोन्यूज २०७८ जेठ १३ गते १८:२६

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले राष्ट्रपति हुनुभन्दा पहिले ७०० भन्दा बढी पटक घुस लिएको अनुसन्धाताहरुले आरोप लगाएका छन् ।

पूर्वराष्ट्रपति जुमा विरुद्ध बुधबार भ्रष्टाचारको अभियोगमाथिको सुनुवाईका क्रममा अनुसन्धाताहरुले जुमाले फ्रान्सेली हतियार निर्माता कम्पनी थेल्सबाट नगद भुक्तानी लिएको समेत सयौं काण्डमा मुछिएको बताएका छन् ।

दक्षिण अफ्रिकाको सन् २००९ देखि २०१८ सम्म राष्ट्रपति रहनु भएका जुमा विरुद्ध भ्रष्टाचारका आरोपहरुका साथै ठगी, कर छली र सम्पत्ति शुद्धीकरण समेतका आरोप लागेका छन् ।

अदालतमा उनले आफूमाथि लागेका आरोप झुठा रहेको बताउँदै आफू विरुद्धका मुद्दाहरु राजनीतिक प्रेरित रहेको दाबी गरेका छन् । निलो पहिरनमा अदालतमा उपस्थित हुनु भएका ७९ वर्षीय जुमामाथि लागेका आरोपहरु प्रमाणित भए २५ वर्षसम्म जेल जानु पर्ने हुन्छ ।

जुलाई १९ सम्मका लागि मुद्दाको सुनुवाई स्थगित भएसँगै जुमाले आफ्ना समर्थकलाई अदालत बाहिर सम्बोधन गर्दै आफूले कसैसँग कहिल्यै केही नलिएको र कुनै गलत कार्य नगरेको बताए । जुमामाथि लागेका भ्रष्टाचारका आरोपहरु उनी राष्ट्रपति हुनुभन्दा अघिका हुन् ।

साथै यी आरोपहरु उनी सन् १९९९ देखि २००५ सम्म दक्षिण अफ्रिकाको उपराष्ट्रपति हुँदाको समयावधिका छन् । अभियोजकहरुका अनुसार जुमाले सन् १९९५ देखि २००५ को अवधिमा थेल्सबाट मात्र नभई विभिन्न स्रोतबाट घुस लिएका थिए ।

त्यस समयमा निकै लोकप्रिय उनी सत्तारुढ अफ्रिकन नेसनल कङ्ग्रेस पार्टीको प्रान्तीय राजनीतिबाट उपराष्ट्रपति पदमा पुगेका थिए । थेल्स विरुद्ध पनि मुद्दा दायर भएका छन् तर कम्पनीले आफूले स्वच्छ व्यवसाय गरेको दाबी गरेको छ । जुमा र थेल्स बिरुद्ध १८ वटा आरोप छन् ।

अभियोजकका अनुसार थेल्सबाट जुमाले वार्षिक करिब ४० हजार अमेरिकी डलर स्वीकारेका थिए । यसबापत जुमाले अफ्रिकी सरकारसँग हुने हतियारको बिक्री सम्बन्धी विषयमा थेल्स माथि अनुसन्धान गर्नबाट रोक्न “राजनीतिक संरक्षण” दिनु भएको अभियोजकको भनाइ छ ।

तर सन् २००५ मा घुसखोरीको मुद्दा लागेपछि जुमालाई उपराष्ट्रपति पदबाट बर्खास्त पनि गरिएको थियो । तर चार वर्षपछि जुमाले पुनः दक्षिण अफ्रिकाको राष्ट्रपतिका रुपमा पुनरागमन गरेका थिए ।

प्रतिक्रिया