शुक्रबार, वैशाख ७, २०८१

अन्तर्राष्ट्रिय उडान खुला गर्न एनआरएनएको आग्रह

मेरोन्यूज २०७८ जेठ १३ गते १५:३७

काठमाडौँ । गैरआवासिय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्न आग्रह गरेको छ । एनआरएनएको राष्ट्रिय पदाधिकारी तथा केन्द्रीय पार्षद्हरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

संघले अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउने सर्तमा तत्काल खुला गर्न आग्रह गरिएको प्रवक्ता डिबी क्षत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकहरूले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपालीले नपाएको भन्दै नेपालीलाई पहिलो प्राथमिकतामा राख्नसमेत आग्रह गरिएको छ । पछिल्लो समय नेपालीहरू समस्यामा परेको गुनासो बढेको भन्दै त्यसतर्फ ध्यान दिन पनि आग्रह गर्ने निर्णय गरेको छ ।

कोरोना भाइसर (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले गरेको उडान स्थगनले मध्यपूर्वी मुलुकहरूमा कार्यरत नेपाली श्रमिक तथा विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन पर्नेहरू स्वदेश फर्कन नपाएर समस्यामा परेको संघको भनाइ छ ।

त्यस्तै संघले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्नेसमेत निर्णय गरेको छ । नेपालमा पछिल्लो समय अक्सिजनको अभाव भइरहेको अवस्थामा संघले यसतर्फ अग्रसरता देखाएको हो । साथै कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्नेसमेत निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, विदेशबाट नेपाल फर्कँदा नेपाली दूताबासहरूबाट अनुमति लिनुपर्नेलगायत विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजीकरण गरिदिन पनि संघले सरकारसँग अनुरोध गरेको छ । यात्रासम्बन्धि सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधिलगायत अन्य प्रोटोकल कडाइका साथ पालना गर्न पनि संघले सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई अनुरोध गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नोे विश्वव्यापी सञ्जालमार्फत ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान सञ्चालन गरिरहेको छ । सो अभियानअन्तर्गत हालसम्म ओमानबाट ५ सय ६० अक्सिजन सिलिन्डर र ती सिलिन्डरका लागि चाहिने ५ सय ६० रेगुलेटर चीनबाट ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसैगरी चीनमा ५ सय अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको र सकेसम्म छिटो नेपाल पु¥याउने पहल भइरहेको संघले जनाएको छ ।

प्रतिक्रिया