शनिबार, वैशाख ८, २०८१

स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली

मेरोन्यूज २०७८ जेठ १३ गते ७:२४

गलेश्वर । कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सुरु गरिएको छ । जिल्लाको बेनी नगरपालिका–२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय सीप र प्रविधिको प्रयोग गरी हावाबाट बिजुली निकालिएको हो ।

काठ, जस्तापाता, पाइप र धागोजस्ता स्थानीय सामग्रीबाट भर्टिकल टर्वाइन जडान गरी ४ वटा बल्ब बल्ने क्षमताको बिजुली प्लान्ट निर्माण भएको हो । म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठ करिब तीन महिनाको अनवरत प्रयासपछि स्थानीय प्रविधिको प्रयोग गरी हावाबाट बिजुली उत्पादन गर्न सफल भएका हुन्। त्यसका साथै उनले व्यक्तिगतरूपमा रु एक लाख खर्चेर आवश्यक निर्माण सामग्रीको जोहो गरी हावाबाट बिजुली उत्पादन गर्नुभएको लभ्लीहिल निवासी स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार म्याग्दी आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको स्थल बनेको लभ्लीहिलमा साँझ परेपछि अँध्यारो हुँदा निकै असजिलो महसुस हुने गथ्र्यो । कोरोना कहरकै बीचमा अहिले यहाँ हावाबाट विद्युत् उत्पादन गरी श्रेष्ठले उज्यालो बनाइदिएपछि बेलुकी पख शीतल हावा खान यहाँ आउने गाउँलेहरुलाई सहज भएको छ ।

यतिबेला कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बेनी वा अन्यत्रबाट मानिसहरु आउन सक्ने वातावरण नभए पनि परिस्थिति सहज हुने बित्तिकै पर्यटकहरुको घुइँचो लाग्ने लभ्लीहिलमा स्तरीय रेष्टुरेन्ट र खानेपानीको व्यवस्था भएपनि बिजुलीको व्यवस्था भने हुन सकेको थिएन ।

म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालक श्रेष्ठका अनुसार सात वटा बल्ब बाल्न सक्ने क्षमता भए पनि अहिले चार वटा बल्ब मात्र बाल्न सकिएको छ । सात वटा बल्ब बाल्ने क्षमताको उत्पादनका लागि एउटा ठूलो टर्वाइन र पोल आवश्यक पर्ने भएकाले अहिले ल्याउन सक्ने अवस्था छैन । स्थिति सहज भयो भने तुरुन्तै त्यो पोल र टर्वाइन ल्याएर जडान गरेपछि बाल्न सकिने सम्भावना भएको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भर्टिकल टर्वाइन पोलमा हावाको गति कम भए पनि चल्न सक्ने क्षमता हुन्छ ।रासस

प्रतिक्रिया