बुधबार, मंसिर २०, २०८०

सिंहदरबारमा विपक्षी गठबन्धको दोस्रो तहका नेताहरूको बैठक सुरु

मेरोन्यूज २०७८ जेठ १२ गते १६:३३

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका नेता माधव नेपाल पक्ष समूहसहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । मंगलबार गठबन्धको शीर्ष नेताहरू बैठक बसेका थिए भने आज दोस्रो तहका नेताहरूबीच बैठक सुरु भएको हो ।

बैठकमा आगामी बिहीबार र शुक्रबार सर्वोच्च अदालतमा दायर रिटमाथिको बहसमा कसरी जाने भन्ने विषयमा छलफल हुने भएको छ । बैठकमा नेपाली कांग्रेसका नेताहरू बालकृष्ण खाँड, पुर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारी, मिनेन्द्र रिजाल, रमेश लेखक, रामहरि खतिवडालगायतका नेताहरू सहभागी भएका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन सहभागी भएका छन् भने नेता नेपाल पक्षबाट भीम रावल सहभागी भएका छन् ।

विपक्षी गठबन्धनको दोस्रो पुस्ताका नेताहरूको बैठकमा अधिवक्ताहरू समेत सहभागी भएका छन् । अधिवक्ताहरू मुक्ति प्रधान, खम्बबहादुर खाँती, हरिहर दाहाल, रमण श्रेष्ठ बैठकमा सहभागी भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएसँगै गत जेठ ७ गते प्रतिनिधिसभा विघटन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राति मन्त्रिपरिषदको बैठक बोलाएर प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटन भएसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।

विपक्षी गठबन्धनले प्रतिनिधिसभा पुनस्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न आवश्यक पर्ने बहुमत संख्या १४९ जना सांसदले हस्ताक्षर गरी राष्ट्रपति कार्यालयमा पेश गरिएको थियो । यस्तै, प्रधानमन्त्री ओलीले पनि आफ्नो पक्षमा १५३ जना बहुमत सांसद रहेको भन्दै राष्ट्रपति कार्यालयमा पेश गरेका थिए ।

सोही आधारमा राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री बनाउने कुनै आधार नदेखिएको भन्दै जानकारी गराएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन भएको थियो ।

प्रतिक्रिया