शुक्रबार, वैशाख १४, २०८१

एमालेभित्रको विवाद

बामदेव : ‘तै चुप मै चुप’ किन ?

संसदको फेरि विघटन र माधव-झलनाथ लगायतका नेतामाथी ओलीले गरेको कारवाहीको विरोधमा तयार पारिसकेको बक्तब्य समेत रोकेर चुपचाप बसेका छन् बामदेव गौतम

रामकृष्ण अधिकारी २०७८ जेठ १२ गते १७:१५

काठमाडौं । एमाले विभाजनको डिलमा छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व नै सम्हालिसकेका माधव नेपाल र झलनाथ खनाललाई पार्टीबाटै निकालेका छन् । झण्डै २७ वर्ष पार्टी नेतृत्व सम्हालेका खनाल-नेपाललाई ओलीले पार्टीबाट निकाल्दासम्म बामदेवको मुख खुलेको छैन ।

उनी चुपचाप देखिन्छन् ।
एक समय थियो – पार्टी विधान संशोधन गरेर उपाध्यक्ष। त्यसअघि नै संगठन विभाग प्रमुख। राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको कोसिस । यी सवै गर्न र बामदेव फकाउन ओली, प्रचण्ड र माधव नेपालसम्मले अनेक कोसिस गर्थे । उनको तागत नेकपाभित्र यस्तो थियो, जसले बामदेवले चाहेको कुरा पुर्‍याइदिन शीर्ष नेताहरूलाई करै लाग्थ्यो ।


उनी के बोल्छन् ? कता खुल्छन् ? त्यो आम सार्वजनिक वहसको विषय बन्थ्यो ।
तर अहिले बामदेव ‘सिन’बाटै बाहिर देखिन्छन् । नेता-कार्यकर्ताको चहलपहल उनीकहाँ अचेल छैन । प्रधानमन्त्री समेत रहेका ओलीले दोहोराएर गरेको संसद विघटन र नेपाल-खनालमाथीको कारवाहीमा बामदेव टिप्पणीहिन अवस्थामा छन् । संसद विघटनको विरोध र नेपाल – खनाल लगायतका नेतामाथीको कारवाहीको विरोधमा सचिवालयले तयार पारिसकेको वक्तब्य पनि अन्तिम समयमा रोकेर बामदेव यतिवेला ‘तै चुप ! मै चुप ! ’ को अवस्थामा छन् ।

किन त ? गौतम निकट नेता हरि पराजुली बामदेव अब केही समय चुप बस्ने वताउँछन् । बामदेवलाई चुप बस्न उनकै सचिवालयका तर्फबाट प्रकाशित केही अगाडीको एउटा वक्तब्यले पनि वाध्य बनायो ।

बामदेवलाई ओलीले बैशाख २६ मा बालुवाटारमा डिनर मिटिङका लागि बोलाएका थिए । त्यसमा भएका छलफलवारे बामदेवको सचिवालयका तर्फबाट विश्वमणि सुवेदीले बामदेवको धारणा सार्वजनिक गरेका थिए ।

त्यसमा दुई ओटा सन्देश थियो – पहिलो : ओलीसँग गौतमले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ । तर ओलीले मानेनन, त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभयो र हिड्नुभयो ।
दोस्रो : वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा सहमति छैन । तर, यदि नेपाल-खनालले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

त्यसपछि वामदेवको ‘क्याम्प’ भित्रै हल्लाखल्ला चल्यो । के त्यही हो बामदेवको लाइन ? उनीसँग नजिक रहेकाले प्रश्न उठाए । तर वामदेव चुप बसे । पार्टी विभाजनका लागि नेपाल-खनाललाई उक्साएको आरोप उनीमाथी लाग्ने देखियो । खण्डन वक्तब्य दिने गरी छलफल पनि चल्यो । तर पछि वामदेवलाई लाग्दै आएको ‘अस्थिर’ नेताको थप आरोप लाग्न सक्छ भन्ने भएपछि उनी बोलेनन ।


त्यसयता उनले बाहिर बोल्ने जाँगर देखाएका छैनन । प्रष्ट धार आफनो यो हो भनेर निकट नेता-कार्यकर्तासँग विफ्रिङ पनि गरेका छैनन । त्यो अगाडीसम्म उनले प्रचण्ड-माधवले पनि गल्ती गरेको, ओलीले पनि गल्ती गरेकोले छुट्टै पार्टी दर्ता गर्ने तर कसैसँग पनि मिल्न नजाने गरी एकता राष्ट्रिय अभियानका केन्द्रीय समितिमा ‘बिफ्र’ गर्ने गरेका थिए । तर त्यसपछि त्यो एकता राष्ट्रिय अभियान पनि उनको सेलाएको छ ।

उनी चुपचाप छन् । किन त ? ‘अझै उहाँ (गौतम) हतारिएर बोल्ने पक्षमा हुनुहुन्न,’ गौतम निकटका नेता पराजुलीले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने,–‘अहिले बोलेर फाइदा के छ ? अदालतमा पुगेको संसद विघटनको मुद्दाको विषयमा सम्वैधानिक इजालसले के गर्छ ? त्यो नहेरी नवोल्नेकी भन्ने छ । शुक्रवार सम्म त उहाँ बोल्दै बोल्नुहुन्न ।’

उनको मिसन एमाले-माओवादी एउटै छँदा सम्म नेकपा राष्ट्रिय एकता अभियान थियो । पछि अदालतले एमाले-माओवादी अलग बनाईदियो । उनी एमाले एकता अभियानका नाममा सक्रिय हुन थाले । तर एमाले टुक्रिने गरी कारवाहीको श्रृखला देखि पार्टी निर्णय नमान्ने सम्मका गतिविधि देखिदा सम्म उनी किन बोलिरहेका छैनन ? खास वेला नवोल्ने र धारणा तय गर्न नसक्ने नेताको के काम ? ‘तर पनि केही परिस्थिती यस्ता हुँदा रहेछन्, परिस्थितीलाई पर्ख र हेरकै रुपमा लिनुपर्ने हुँदो रैछ,’ गौतम निकट नेता पराजुली भन्छन् ।

एक समय थियो, – बामदेव गौतम सवैका तानातानमा पर्थे । उनको जोधाहको सिंगो एउटै शरीर नेताहरुका लागि भारी हुन्थ्यो । उनी जता खुल्थे, पार्टीभित्रको अन्तरसर्घषमा उतै बहुमतको पल्ला पल्टिने भएकाले पनि उनलाई कहिले वालुवाटार, कहिले खुमलटारले आफुतिर तान्न निक्कै प्रयास गर्थे ।

वमदेव पनि के कम ! आफु अनुकुल हुने गरी कहिले खुमलटार त कहिले वालुवाटारका भईदिन्थे । तर निर्णायक घडीमा उनी बालुवाटारतिरै ढल्किदिन्थ्थे । निर्णायक बेला ओलीतिरै ढल्किदिने उनको बानी स्वभाविक जस्तै देखिन्थ्यो । ओलीसँग उनको दिलचस्पी यतिसम्म थियो की – ओली र वामदेव शुरुमा सँगै बसेर पिउने /पिलाउने काम गर्थे ।
दोस्ती यस्तो थियो की, ओलीसँगको सम्वन्धका वारे एक प्रसंगमा नेता गौतमले भनेका थिए,-‘केपी ओली कस्तो मान्छे हो भन्ने कुरा बाहिर भनेर जान्ने भन्दा पनि म आफैले जानेको व्यक्ति हो । दुःखको बेलाको साथी ! दुःखका वेलाको सम्बन्ध अरु कसैले तोड्न सक्दैन । केपीसँग त मेरो त्यही दुःखका वेलाको ‘दोस्ताना’ सम्वन्ध छ ।’

तर उनी पछिल्लो समय एमाले-माओवादी अलग हुँदा एमालेको एउटा मात्रै बैठकमा सहभागी भएका छन् । उनलाई ओलीले १९ जनाको स्थायी समितिभित्र पनि राखेका छन् । तर उनी कहिल्यै बैठकमा गएका छैनन । न उनले ओलीलाई साथ दिएका छन्, न माधव-झलनाथलाई नै ।

‘एमालेभित्रै बसेर एमाले कमजोर बनाउने काम राम्रो होइन । नयाँ पार्टी बनाउँदा आउने-नआउने अलग कुरा । तर एमालेमै रहेर संर्घष गर्ने तरिका माधव कमरेडहरुको ठिक भएन भन्ने उहाँलाई छ,’ गौतम निकट नेता पराजुली भन्छन्-‘ माधव नेपालहरुको लडाई लड्ने तरिकासँग उहाँ सहमत हुनुहुन्न ।’

एमाले-माओवादी अलग बनाउने सर्वाेच्चको आदेश पछि माधव नेपाललाई गौतमले सल्लाह दिएका थिए – ‘पार्टी बैठकमा जाऔं । त्यहीभित्र लडौं । नोट अफ डिसेन्ट लेख्नुस् । लेख्न नदिए तपाईसँगका ९७ जना निस्केर हिड्नुस । वाहिर सञ्चारमाध्यममा प्रतिक्रिया दिनुस् त्यसले एउटा राजनीतिक माहोल बनाउँछ ।’
तर नेपाल पक्षले त्यसलाई टेरेनन । राष्टिय कार्यकर्ता भेला बोलाए । जिल्ला-जिल्लामा समानान्तर कमिटि बनाए । दार्चुला, बाग्लुङ, मनाङ , मुस्ताङ, गुल्मी, पाल्पा र कपिलवस्तुबाहेक अन्यत्र जिल्लामा करिव नेपाल पक्षले समानान्तर कमिटि बनाईसकेको छ । अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला दिएपछि मात्रै नयाँ दल खोल्ने गरी नेपाल पक्ष अगाडी बढिसकेको छ ।


तर गौतमको अवको लाइन के हो ? प्रष्ट छैन । ‘असाध्यै दुविधामा देख्छु म बामदेव कमरेडलाई’ गौतमको राष्ट्रिय अभियानमा जोडिएका एक नेता भन्छन्,-‘म ओलीतिर पनि जान्न, माधव नेपालतिर पनि जान्न । छुट्टै दल बनाउने भन्नुहुन्थ्यो पहिले । तर पछिल्लो समय त्यो पनि केही भन्नुहुन्न । प्रष्ट धार पनि छैन । उत्साह पनि देखिन्न । उमेरले पनि उर्जा प्राप्त नभएर होकी ! अब कति नै गर्न सकिन्छ भन्ने भएर पो हो की ? प्रतिक्रिया खासै दिनुहुन्न । हामी कसैले सोधिहाल्यौं भने पनि पछि कुरा गरौला । म अलिक ब्यस्त छु भनेर टारिदिनुहन्छ ।’

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया