बुधबार, वैशाख १२, २०८१

गाडी र मन्त्रालयको मोटरसाइकल चोरी गर्ने १६ वर्षीय किशोरसहित दुई पक्राउ

मेरोन्यूज २०७८ जेठ १२ गते १५:३०

कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सु.प.प्र.०१–००१ ब १७२८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दाङ तुल्सीपुर उपमहानगरपालिका ९ बस्ने २६ वर्षीय विश्व रोकामगर र कैलाली धनगढी उपमहानगरपालिका १ डेरा गरी बस्ने दाङ तुल्सीपुर उपमहानगरपालिका ५ घर भएका १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

मन्त्रालयको आवास गृहमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरीले मगरलाई चोरी भएको उक्त मोटरसाइकलसहित बर्दियाबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले जेठ ४ गते राति पार्किङमा राखेको दाङ लमही नगरपालिका ५ बस्ने विजय केसीको भे.१ त १५२६ नम्बरको बलेरोसमेत चोरी गरी धनगढी उपमहानगरपालिका ८ स्थित सडकमा राखेको खुलेपश्चात सोमबार प्रहरीले उक्त बलेरोसमेत बरामद गरेको हो ।

१६ वर्षीय किशोरको चोरीयात्रा

थप अनुसन्धानको क्रममा अभियुक्तमध्येका १६ वर्षीय किशोरले २०७६ वैशाख २ गते काठमाडौँ महानगरपालिका ४ चप्पल कारखाना बस्ने रमन रेग्मीको बा.७१ प ७६३८ नम्बरको मोटरसाइकल, २०७६ साउन ४ गते दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित जिवेश नाथ योगीको रा.३ प ९३४९ नम्बरको मोटरसाइकल र २०७६ भदौ १० गते दाङ घोराही उपमहानगरपालिका नारायणपुर बस्ने राम बहादुर खत्रीको लु.१ च २६०३ नम्बरको कार चोरी घटनामा पक्राउ परी अनुसन्धान पूरा भएको थियो ।

साथै २०७७ जेठ ३ गते कैलाली धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीस्थित राजेन्द्र बहादुर मल्लको बा.८ च २१०० नम्बरको कार र २०७७ जेठ ७ गते धनगढी उपमहानगरपालिका ४ उत्तर बेहडीस्थित डा. रविन्द्र भट्टको बा.१४ च ४७८१ नम्बरको कार चोरी घटनामा समेत ती किशोर पक्राउ परी दुवै मुद्दामा जिल्ला अदालत कैलालीबाट १ महिना १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना भई बाल सुधार गृह डोटीमा सजाय भुक्तान गरी छुटेको खुल्न आएको छ ।

प्रतिक्रिया