शनिबार, वैशाख ८, २०८१

नागढुंगा सुरुङ मार्गका ३२ कामदारमा कोरोना पुष्टि

मेरोन्यूज २०७८ जेठ १२ गते १५:१९

काठमाडौँ । नाग ढुंगास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प)मा राखेर अरू नियमित काम गरिरहेको नागढुंगा सुरुङ मार्ग आयोजनाले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माण स्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, “अस्पताल जानुभएका व्यक्ति पनि ठीक भइसक्नुभएको छ ।”

नेपालमा दोस्रो भेरियन्टसहितको संक्रमण शुरु भएसँगै जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकामा तीन साता पहिले निषेधाज्ञा लागू गरेको थियो । निषेधाज्ञामा पनि क्याम्पमा बसेर गर्न सकिने विकास निर्माणलाई निरन्तरता दिइने सरकारको निर्णयका आधारमा सो सुरुङ मार्गको निर्माण सामान्य अवस्थामा जसरी नै पुनः सञ्चालन थियो ।

उनले भने, “सङ्क्रमित भएका व्यक्तिको स्वास्थ्यमा समस्या आइहालेमा अस्पताल लगिनेछ ।” क्याम्पभित्र संक्रमित देखिएसँगै यहाँ कार्यरत कामदार निर्माण स्थल छाड्न थालेको आयोजनाले जनाएको छ । अघिल्लो सातासम्म ६ सयभन्दा बढी कार्यरत रहेकामा अहिले ३ सय जना मात्रै रहेका छन् । आधा कामदार निर्माण स्थल छाडिसकेको प्रमुख शाक्यले बताए ।

निर्माण स्थलमा कोरोना फैलिए निर्माण कार्य बन्द गरिने प्रमुख शाक्यले बताए । अहिलेसम्म निर्माणस्थलभित्र व्यवस्थापन गर्न सकिने अवस्था भएकाले काम भइरहेको उनले भनाई थियो ।

अहिले आयोजनाले कुनै पनि व्यक्तिलाई संक्रमणको शंका लाग्नासाथ कोभिड जाँच गराउने गरेको छ । सुपरिवेक्षण गर्नेलाई भित्रै बस्ने व्यवस्था मिलाइएको प्रमुख शाक्यले बताए । उनका अनुसार निर्माणस्थलको स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिएको छ ।

संक्रमणकै कारण अहिले आयोजनाको पूर्वतर्फ अवरोध पुगेको आयोजनाले जनाएको छ । सुरुङ मार्गमा काम भने भइरहेको छ । मुख्य सुरुङमा अहिले पनि दुई चरणमा गरी चौबिसै घण्टा काम भइरहेको प्रमुख शाक्यले बताए । सहायक सुरुङमा दिनमा काम भए पनि रातको समयमा काम रोकिएको छ । पूर्वपट्टि पहुँच मार्ग बनाउने काम रोकिएको र पश्चिमतर्फ काम भइरहेको आयोजनाले जनाएको छ ।

जापान सरकारको ‘सफ्ट लोन’ मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता भएको थियो । सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया