शुक्रबार, वैशाख ७, २०८१

साढे ८ करोडमा थप सात वटा अक्सिजन प्लान्ट थपिदै

मेरोन्यूज २०७८ जेठ १२ गते १४:५२

काठमाडौँ । वागमती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ ।

प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाले बोलपत्र आह्वान गर्दै आठ करोड ५० लाख लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेका छ । प्रत्येक अस्पतालमा एक दिनमा १५० सिलिण्डरका दरले अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट जडान गर्न लागिएको हो ।

करिब डेढ महिनाको अवधिमा प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ । प्रदेश मातहतका विभिन्न जिल्लाका १३ मध्ये ६ अस्पतालमा यसअघि नै अक्सिजन प्लान्ट जडान भइसकेका छन् ।

प्रतिक्रिया