शनिबार, वैशाख ८, २०८१

कोरोना महामारीको आडमा सत्ता जोगाउने खेल भयो : कांग्रेस

कांग्रेसले सस्थागत रुपमै प्रधानमन्त्रीलाई भेटेर राखेको मागको बेवास्था गरिएको आरोप

मेरोन्यूज २०७८ जेठ १२ गते १२:३७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) महामारीलाई आड लिएर सरकारले असंवैधानिक कदम चलाएको बताएको छ । सरकारले कोरोना महामारी नियन्त्रण गर्नुभन्दा यसैको आड लिएर राजनीति गर्न खोजेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको धारणा रहेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकपछि भने, “हामीले १५ बुँदे ध्यानाकर्षणमार्फत सरकारलाई जिम्मेवार बनाउने प्रयत्न गर्‍यौँ । तर, सरकार कोरोना संक्रमण नियन्त्रण गर्नेभन्दा त्रास फैलाएर आफ्ना असंवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरिरहेको छ ।”

गत जेष्ठ ६ गते कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना नियन्त्रण गर्न माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने, पिसिआर परीक्षणको दायरा विस्तारित गर्ने र गाउँगाउँका नागरिकलाई पनि उपचारको दायरामा पुर्‍याउने सार्थक प्रयास नगरेको कांग्रेसको आरोप छ ।

सहमहामन्त्री डा महतले सरकारले दुई दिनभित्र खाद्यान्न किनिसक्नू भनेर जनतामा त्रास फैलाउने काम गरिरहेको बताए । उनले भने, “सरकार कोरोना महामारीको आडमा सत्ता बचाउन लागेको छ ।”

बुधबार पार्टी सभापति देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।

प्रतिक्रिया