शुक्रबार, वैशाख १४, २०८१

भारतले भन्यो : संसद विघटन नेपालको आन्तरिक मामिला

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्ची भन्छन् -‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’

मेरोन्यूज २०७८ जेठ १२ गते १२:३७
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्ची

काठमाडौं । दक्षिणी छिमेकी मुलुक भारतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा आफनो मुख खोलेको छ । नयाँ दिल्लीमा विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालमा विकसित घटनाक्रमलाई भारतले नजिकबाट नियाली रहेको भन्दै नेपालमा घटेको पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेका हुन् ।

नेपालको राजनीतिक घटनाक्रमबारे सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता बाग्चीले भने,-‘हामीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौं। यो नेपालको आन्तरिक मामिला हो । उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट त्यसको समाधान गर्नुपर्छ ।’

तर उनले एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले यस अगाडी गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध रहेको पनि बताए ।

प्रधानमन्त्री केपी शर्माले संविधानको धारा ७६(४) अनुसार संसदमा विश्वासको मत नलिई धारा ७६(५) अनुसार नयाँ प्रधानमन्त्री नियक्तको प्रक्रियामा जान चाहेको, राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि प्रतिनिधीसभा सदस्यलाई उपयुक्त आधारसहित आह्रवान गरेको र त्यसमा काग्रेस सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री ओली स्वंमले दावी प्रस्तुत गरेपनि राष्ट्रपतिले दुवैको दावीमा उपयुक्त आधार नदेखिएको भन्दै प्रधानमन्त्री नियुक्त नगरेको र लगत्तै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर कात्तिक र मंसिरमा चुनाव गर्ने गरि मिति सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गदै चुनावको मिति घोषणा गरेको अवस्थामा भारतले यसप्रति आफनो टिप्पणी गदै विकसित घटनाक्रमका बारेमा जानकारी रहेको बताएको हो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको भारतसागको सनिग्धता बढेको र भारतले पनि प्रधानमन्त्री ओलीलाई गहिरो गरी भित्री साथ दिएको टिप्पणी कतिपय राजनिितक तथा कुटनीतिक वृतमा भईरहेका बेला भारतले नेपालको आन्तरिक मामिला भएको टिप्पणी गरेको हो ।

प्रवक्ता बागचीले पत्रकारहरुसँग भने-‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’

प्रतिक्रिया