शुक्रबार, चैत १६, २०८०

एमालेका १२ जना नेतालाई स्पष्टीकरण पत्र पठाउँदै, योगेश भट्टराई जोगिए

मेरोन्यूज २०७८ जेठ १२ गते ११:३३

काठमाडौँ । नेकपा एमालेले आज बुधबार पार्टीका १२ सांसदहरूलाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई साथ नदिएको भन्दै विघटित प्रतिनिधिसभाका १२ जना सांसदहरूलाई स्पष्टीकरण सोध्ने भएको हो ।

सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले नेताहरू झलनाथ खनाल–माधव नेपाल पक्षका १२ जना सांसदलाई सोही दिनदेखि लागु हुने गरी सोध्ने भनेको स्पष्टीकरण आज मात्रै पठाउन खोजिएको एक नेताले जानकारी दिए ।

बैठकले सोमबार खनाल–नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । विपक्षी गठबन्धनलाई सघाउने २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने स्थायी समितिको निर्णय अनुसार पत्र पठाउन लागिएको हो ।

एमालेले दोस्रो चरणमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टिकरण सोध्न लागेको हो ।

एमालेका अध्यक्ष ओलीले सुरुका दिनमा आफ्नो विरोध गर्ने योगेश भट्टराईसहित केही नेताहरूको पक्षमा भने मौन रहेका छन् ।

Advertisement

प्रतिक्रिया