आइतबार, चैत १९, २०७९

अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ

मेरोन्यूज २०७८ जेठ १२ गते ११:०९

काठमाडौँ । डोटी जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका ४५ वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मंगलबार दिउँसो फरार भएका थिए । उनलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।

कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका संकमित पुरुष अस्पतालबाट भागेपछि खोजी गर्न प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा सुरज श्रेष्ठले जानकारी दिए । उनी अस्पतालबाट भागेपछि गाउँमा अरुलाई पनि कोरोना संक्रमण फैलिन सक्ने भन्दै स्थानीयवासीमा त्रास फैलिएको थियो ।

भागेका संक्रमित पुरुषलाई बडिकेदार गाउँपालिका ५ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । अत्यधिक ज्वरो आउने, काँप्ने, हातखुट्टा दुख्नेजस्ता लक्षण देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।

सोमबार गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना संक्रमण देखिएपछि उनी मंगलबार भागेका थिए । आफ्ना कुरुवालाई खाना ल्याउन पठाएर दिउँसो करिब १ बजेको समयमा भागेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया