शनिबार, वैशाख ८, २०८१

आज २५६५ औँ बुद्ध जयन्ती मनाइँदै

घरमै बसेर बुद्ध जयन्तीको दीपावली गर्न समितिको आह्वान

मेरोन्यूज २०७८ जेठ १२ गते ६:५९

काठमाडौं । आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप गदै २५६५ औँ बुद्ध जयन्ती पर्व मनाइदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” जस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामाले कोरोना महामारी तिब्ररुपमा फैलिएको अहिलेको अवस्थामा भक्तजनलाई घरमै बसेर बुद्ध जयन्तीको पूजा, पाठ, ध्यान, दीपावली गर्न आह्वान गरिएको जानकारी दिए । बौद्ध क्षेत्रका सङ्घ संस्थाको बैठकले बौद्ध चैत्यमा पूजापाठमात्र गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिका वडा नं। –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए ।

गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले बुद्ध जयन्ती घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो । कोरोना महामारीको यो अवस्थामा सरकारले बुद्ध जयन्ती आ आफ्नो स्थानमै रहेर प्रार्थना ,पुजा एवम् दिप प्रज्वलन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया