बिहीबार, चैत १५, २०८०

काेराेना महामारी

कोरोना नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउनै पर्ने हो ?

के हुन्छ स्वास्थ्य संकटकाल लागे ?

सञ्जिता खनाल २०७८ जेठ ११ गते २१:०४

काठमाडौं । कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका समयमा पनि संक्रमण दरमा कमी नआएपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । हालै जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा टेकेर सरकार स्वास्थ्य संकटकाल लागू गर्ने तयारीमा लागेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रालयको भर्चुअल प्रेस मिटमा विज्ञहरुले स्वास्थ्य संकटकाल लगाउन दिएका सुझावमा मन्त्रालय सकारात्मक रहेको बताए थिए । उनले संक्रमणले उच्च रूप लिइरहेका कारण स्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रिपरिषदमा सिफारिश गरेको जानकारी दिएका थिए । करिब एक महिनाको निषेधाज्ञामा पनि कोरोना संक्रमण दरमा कमी नआएपछि स्वास्थ्य संकटकाल लगाउन विज्ञले सुझाव दिँदै आएका छन् ।

स्वास्थ्य संकटकाल किन ?
इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेल स्वास्थ्य प्रणालीलाई थेग्न नसक्ने अवस्था आएको अवस्थामा स्वास्थ्य संकटकाल लगाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘केही समयअघि अक्सिजन व्यवस्थापनमा समस्या देखिएको थियो त्यस्तो समस्या पुनः आए के गर्ने भने कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्य संकटकालको तयारी भएको हो ।’

उनका अनुसार उपलब्ध साधन स्रोत र जनशक्तिलाई एकद्वार प्रणालीमा व्यवस्थित गर्न र नियमन गर्न संकटकालको घोषणा गरिन्छ । उनले भने, ‘भएका स्वास्थ्य संस्था, निजी, सरकारी, मेडिकल कलेजलाई केही समयमा लागि सरकारले नियन्त्रणमा लिएर संक्रमितको उपचारमा लगाउन र बिरामीलाई उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गर्न सकिन्छ ।’

संकटकाल घोषणा गरिए अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गर्न मौजुदा कानूनले वाधा सिर्जना गर्ने छैनन् । संकटकालमा जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने, विज्ञहरुको सहयोग लिने, करारमा नियुक्ति गर्न सकिने, म्याद, हदम्याद वा अवधि बढाउन सकिनेछ ।

Advertisement

विश्व स्वास्थ्य संगठनले सन् २०२० को शुरुआतमा विश्वका १८ देशमा कोभिड संक्रमण फैलिएपछि विश्वव्यापी संकटकाल घोषणा गरेको थियो । जतिबेला विश्वका दुई लाख नागरिक संक्रमणको आशंकामा संगठनको प्रत्यक्ष निगरानीमा थिए ।

स्वास्थ्य संकटकाल घोषणा भए यस्ता व्यवस्था लागू हुन्छन्
(क) स्वास्थ्य संस्थालाई संक्रमितको निदान र उपचार गर्न लगाउने ।
(ख) आवश्यकताअनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने ।
(ग) जुनसुकै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक वा स्वास्थ्यकर्मीलाई कोभिड–१९ को निदान र उपचारमा काम लगाउने ।
(घ) प्रदेश र स्थानीय तह वा प्रचलित कानूनबमोजिम स्थापित शिक्षण संस्था प्रतिष्ठान, बोर्ड, संस्थान, सरकारी स्वामित्वका कम्पनी वा अन्य सार्वजनिक संस्था वा निकायमा कार्यरत जनशक्ति, सवारी साधन, भवन तथा अन्य भौतिक संरचना कोभिड–१९ को रोकथाम र नियन्त्रणमा लिएर निदान र उपचारमा लगाउने ।
(ङ) सरकारी, सार्वजनिक, निजी, सहकारी, सामुदायिक वा गैरसरकारी स्वामित्वमा रहेका जग्गा, भवन संरचना र सवारी साधनको अभिलेख राखेर निश्चित समयका लागि सरकारले लिने ।
(च) निजी, सरकारी, सामुदायिक वा गैरसरकारी संस्थाबाट उत्पादन वितरण वा बिक्री गर्ने औषधि, स्वास्थ्य सामग्री तथा उपकरण नियन्त्रणमा लिई प्रयोग र वितरणको व्यवस्था गर्ने वा गराउने ।
(छ) कोेभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको लागि आवश्यक अन्य काम गर्ने ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा के छ ?
गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी अध्यादेशमा आपत्कालीन अवस्था परेमा वा उपचारका बाधा पर्ने मानिसको जीउज्यान जोखिममा पर्ने देखिएमा तत्काल आवश्यक पर्ने औषधि, अक्सिजन, स्वास्थ्य सामग्री, उपकरण वा खोप उत्पादक, वितरक, आधिकारिक बिक्रेता वा अन्तर्राष्ट्रिय संस्थासँग सोझै खरिद गर्न सकिने व्यवस्था छ ।

यसरी सोझै खरिद गरिने सामग्रीको ‘स्पेसिफिकेसन’ र दररेट नेपाल सरकारले स्वीकृत गरेबमोजिम हुने अध्यादेशमा उल्लेख छ । यसरी खरिद गर्दा नेपाल सरकारको आवश्यकताअनुसार जमानतबिना अग्रिम भुक्तानी गर्न वा कार्यसम्पादन जमानत छुट दिन सक्ने अध्यादेशमा उल्लेख छ ।

जनस्वस्थ्यको मापदण्डको पालना नगरेमा ६ महिना कैद वा तीन लाख रुपैयाँसम्म वा दुवै जरिवाना हुनेछ । आदेशको उल्लंघन गरेमा प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गर्न सक्ने र कुनै व्यक्तिले उल्लंघन गरेमा एक लाख, संस्थाले गरेमा पाँच लाख रुपैयाँसम्म जरिवाना लिन सक्ने व्यवस्था अध्यादेशमा गरिएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवातजावत गरेमा पटकैपिच्छे १०० रुपैयाँ, आवातजावतमा रोक लगाएको वा नियन्त्रण गरेको अवस्थामा उल्लंघन गरेमा पटकैपिच्छे २०० रुपैयाँ जरिवाना हुने अध्यादेशमा उल्लेख छ । सवारी–साधन चलाएमा पटकैपिच्छे दुई पांग्रेलाई दुई हजार र अन्य सवारी–साधनलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था हुनुका साथै सुरक्षाकर्मीले सवारीसाधन निश्चित समयका लागि नियन्त्रणमा लिन सकिने अध्यादेशमा उल्लेख छ ।

देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ । मृतकको कुल संख्या ६७ सय पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ । अहिलेसम्म २९ लाख ५८ हजार बढीको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

५० प्रतिशत शय्या खाली भएपछि हट्छ संकटकाल
संक्रमण दर घटेमा, स्वास्थ्य संस्थामा ५० प्रतिशतभन्दा बढी शय्या खाली हुन आएमा, संक्रमणको नयाँ भेरियन्टको स्वरुप नदेखिएमा वा अन्य जोखिम विश्लेषणको आधारमा आपतकाल कायम राख्न आवश्यक नदेखिएमा राजपत्रमा सूचना प्रकाशन गरेर संकटकाल घोषणा हटाउन सकिने छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया