शनिबार, वैशाख १५, २०८१

इराकसँगको मैत्रीपूर्ण खेलका लागि इराक जाँदै राष्ट्रिय फुटबल टिम

मेरोन्यूज २०७८ जेठ ११ गते १६:५९

काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् । अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने जनाएको छ ।

नेपाली टिम राति १० बजे इराक प्रस्थान गर्ने छन् । नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका जेठ १५ ९ मे २९० मा बसरा अन्तराष्ट्रिय मैदानमा खेल्ने भएको छ । मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।

प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् ।नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन् भने सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ । छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया