शुक्रबार, वैशाख १४, २०८१

कोरोना नियन्त्रण गर्न ३२ अर्ब ऋण लिँदै सरकार, २ अर्बको स्वास्थ्य सामाग्री सहयोगमा प्राप्त

मेरोन्यूज २०७८ जेठ १० गते १५:५४

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट नियन्त्रण गर्न दातृ निकाय तथा मित्र राष्ट्रहरूबाट ठूलो सहायता प्राप्त भएको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले विभिन्न देशबाट करिब २ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भइसकेको जानकारी दिए । उनका अनुसार सिंगापुरको सामाजिक संस्थाबाट २३ करोड, अमेरिकाबाट ४३ करोड, स्वीजरल्याण्डबाट ९७ करोड, स्पेनबाट १२ करोड, चीन सरकारबाट ७ करोड, बंगलादेशबाट ४ करोड र विभिन्न संघसंस्थाबाट जम्मा १३ करोड गरी करिब कूल २ अर्ब रुपैयाँ बराबर स्वास्थ्य सामाग्री सहायता प्राप्त भइसकेको छ ।

यस्तै, कोरोना नियन्त्रणका लागि हालसम्म आर्थिक सहायतअनुसार जर्मन सरकारको मातहतबाट १ अर्ब ४२ करोड, एशियाली विकास बैंकबाट ३६ करोड तथा विश्व बैंकबाट करिब २४ करोड सहायता भइसकेको मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै जापान सरकारले ३ अर्ब २० करोड बराबरको सहायता दिने घोषणासँगै करिब ५ अर्ब २२ करोडको आर्थिक सहायता प्राप्त हुने उनले जानकारी दिए ।

यसैगरि, कोरोना नियन्त्रण गर्न ऋण सहायताअन्र्तगत विश्व बैंकबाट ३ अर्ब ४८ करोडको सहायता कार्यन्वयन गर्ने काम भइरहेको र कोरोनाविरुद्धको खोप व्यवस्थापनका लागि ९ अर्बको ऋण सहायता पत्रमा हस्ताक्षर भई कार्यन्वयनको क्रममा रहेको मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै, कोभिड १९ खोप खरिदका लागि एशियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनले बताए । यसरी कोरोना नियन्त्रण गर्न कूल ३२ अर्ब ऋण सहायता परिचालन भएको उनले जानकारी दिए ।

मन्त्री त्रिपाठीले यसबाहेक केही संघसंस्थाले कोरोना नियन्त्रण गर्न आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग प्राप्त भइरहेको बताए ।

प्रतिक्रिया