शुक्रबार, चैत १६, २०८०

संक्रमितलाई औषधि वितरण गर्दै कैलारी गाउँपालिका

मेरोन्यूज २०७८ जेठ १० गते १५:२८

कैलाली । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाको संक्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले गाउँ–गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका संक्रमितहरूलाई औषधि वितरण गरिरहेको छ । संक्रमण बढेपछि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाएर संक्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताए ।

“स्वास्थ्यकर्मीसँगै हामीले जनप्रतिनिधिलाई पनि पठाउने गरेका छौ,” चौधरीले भने । संक्रमण देखिएकाहरू बाहेक कोरोनाका लक्षण देखिएका बिरामीहरू पनि स्थानीय मेडिकलमा टाइफाइड भन्दै औषधि लिन जान थालेपछि अझै चिन्ता थपिएको उनको भनाइ छ । चौधरीले भने, “अहिले ‘गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरू स्थानीय मेडिकलमा जाने र जथाभाबी एन्टिबायोटिक औषधि लिएर खाने क्रम धेरै हदसम्म घटेको छ ।”

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जथाभावी औषधि किनेर नखान आग्रह गरिएको बताउँदै पहिले कोरोना परीक्षण गरेर मात्रै अन्य उपचार गर्नु पर्छ भनेर सम्झाउने गरेको बताए । गाउँपालिकाको कार्यालयले एन्टिजेन विधिबाट गाउँपालिकामै परीक्षण गर्नुका साथै पिसिआर परीक्षणका लागि हप्तामा दुई दिन स्वाब संकलन गर्दै आएको सापकोटाले जानकारी दिए । रासस

प्रतिक्रिया